१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपाल भ्रमण दुई पक्षीय हितमा: विदेश मन्त्रालय

भारतको विदेश मन्त्रालयले विदेश सचिव विक्रम मिस्रीको दुई दिने भ्रमण दुई पक्षीय हितका लागि महत्त्वपूर्ण रहेको जनाएको छ। 

आइतबार बिहान काठमाडौं उत्रिएका विदेश सचिव मिस्री स्वदेश फर्केलगत्तै सोमबार साँझ जारी गरेको नौ बुँदे प्रेस विज्ञप्तिमा विदेश मन्त्रालयले छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार भएको जनाएको हो।

सोहीअन्तर्गत विदेश सचिवले भ्रमण गरेको जनाउँदै त्यसले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत पुगेको उल्लेख गरिएको छ।

विदेश सचिव मिस्रीको भ्रमणका क्रममा दुवै पक्ष ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत तथा जनता–जनताबीचको सम्बन्धमा गाँसिएको भारत र नेपालबीचको गहिरो र मैत्रीपूर्ण सम्बन्धमाथि जोड दिएको उल्लेख गरिएको छ। दुवै पक्षले हालैको वर्ष द्विपक्षीय सहकार्य विशेष गरी कनेक्टिभिटीका विभिन्न क्षेत्र जस्तै भौतिक, डिजिटल, ऊर्जा र जनता–जनताबीचको सम्बन्धमा हासिल प्रगतिमा सन्तोष व्यक्त गरे, जुन सडक, पुल, एकीकृत जाँच चौकी, अन्तरदेशीय रेलवे साथसाथै पेट्रोलियम पाइपलाइनसम्बन्धी पूर्वाधार परियोजनाको निरन्तर कार्यान्वयनमा जोड दिएका छन्।

ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिको प्रशंसा गर्दै पछिल्ला वर्षहरूमा ऊर्जा सहकार्यको क्षेत्रमा उल्लेख्य प्रगति भएको उल्लेख छ। ‘यस सन्दर्भमा पछिल्ला २–३ वर्षमा नेपालबाट भारततर्फ हुने विद्युत् निर्यातमा भएको बढोत्तरीले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरूको सिर्जना गरेकोमा दुवै पक्षले खुसी व्यक्त गरे,’ विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२६ मा नेपाललाई अति कम विकसित राष्ट्र (एलडिसी) को हैसियतबाट स्तरोन्नति गर्नमा ऊर्जा क्षेत्र सहकार्यले खेलेको भूमिकामाथि पनि छलफल भयो।’

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा काठमाडौं उत्रिएका उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेको उल्लेख गरिएको छ।

प्रकाशित: २९ श्रावण २०८१ ०८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App