१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

हाम्रो पार्टीको परिकल्पना, सुशासन र भ्रष्टाचाररहित राष्ट्र: अध्यक्ष चौधरी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले आफ्नो पार्टी सुशासन र भ्रष्टाचाररहित राष्ट्र परिकल्पना गरेर अगाडि बढिरहेको बताएकी छिन्।

बुधबार महाराजगन्ज स्थित पार्टी कार्यालयमा आयोजित नागरिक उन्मुक्ति पार्टीको भातृ संगठन ‘नागरिक पत्रकार समाज’ गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नाउपा नेपालको वैकल्पिक शक्तिशाली राजनीतिक शक्ति बन्ने दाबी गरिन्।

चौधरीले भनिन्, ‘आज देशको पहिचानको रक्षा गर्दै, पहिचानका आधारमा संघीयता कार्यान्वयन गर्दै, सुशासन र भ्रष्टाचाररहित विकसित देशको परिकल्पना गरेर नेपालको वैकल्पिक शक्तिशाली राजनीतिक शक्ति बन्ने तरिकाले हाम्रो पार्टी लागिरहेको छ।‘

उनले पत्रकारिता पेसा राष्ट्रको चौथो अंग भएकाले देशको विकास र समृद्धिमा सञ्चारकर्मीहरूको भूमिका अहम् हुने पनि बताइन्। ‘यस अभियानमा पत्रकार साथीहरूको विशेष भूमिका रहन्छ भन्ने कुरामा म विश्वस्त छु,’ उनले भनिन्।

पार्टी अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सञ्चालित कार्यक्रमले अश्विन दानीको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ कमिटी गठन गरेको छ। कमिटीले आगामी बैठकमा प्रथम महाधिवेशन तथा विधान अधिवेशनको मिति तोक्ने र संगठनको विस्तार गर्ने योजना रहेको संयोजक दानीले जानकारी दिए।

‘संचारकर्मीहरुको हकहितका निम्ति काम गर्न थुप्रै संगठनहरु खोलिएका छन्। तैपनि श्रमजीवी पत्रकारहरूको पक्षमा काम भएको देखिँदैन। पत्रकारहरूले अझै पनि समस्या झेल्दै आइरहेका छन्। त्यसका लागि हामीले योजना बनाएर काम गर्नेछौँ’ उनले भने।

प्रकाशित: ५ असार २०८१ १५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App