७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

‘मिसन ०८४’ ले जुराएको गठबन्धन

नेकपा माओवादीले दोस्रो पटक सत्ता समीकरण परिवर्तन गरेको छ। नयाँ सत्ता समीकरण बनेसँगै एक वर्षपछि एमालेको संघीय सरकारमा पुनरागमन भएको छ। २०७९ पुस १० गते एमाले, रास्वपासहितको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहालले सत्ताको काँध फेरेपछि एमाले सत्तामा पुनरागमन भएको हो।

‘एमालेको मध्यपहाडी यात्रापछि नै माओवादीका नेताहरूले लगातार एमालेका नेताहरूसँग छलफल गरिरहेका थिए, त्यसकै सेरोफेरोमा कांग्रेसको महासमिति बैठक र माओवादीको केन्द्रीय समिति बैठकको निर्णयपछि वामपन्थी दलहरूबीचको सहकार्यलाई बल पुगेको हो,’ स्रोतले भन्यो, ‘पछिल्लो सहकार्यमा एमालेको जोडबल होइन, माओवादीको लचिलोपनले धेरै काम गरेको हो।’

त्यसका लागि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र माओवादी उपमहासचिव वर्षमान पुनको एक महिना लामो संवादले नै समीकरण सम्भव भएको छ।

गत पुस १० गते उनले जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति र अन्य तीन स्वतन्त्र सांसदको पनि समर्थन जुटाएका थिए। तर त्यतिबेला माओवादी अध्यक्ष राष्ट्रपति निर्वाचनको समयमा कांग्रेससँग टाँसिएका थिए। उनलाई त्यतिबेलै अस्थिर राजनीतिज्ञको ‘ट्याग’ लागिसकेको थियो।

आइतबारदेखि सोमबार दिनभरका गतिविधिले त यसलाई झनै पुष्टि गरिदिएको छ। ‘एमालेसँग लगातार छलफल भएकै हो, त्यही कारण यो गठबन्धन सम्भव भएको हो,’ माओवादीका एक पदाधिकारीले भने।

गत माघको अन्तिम साता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालले गैरआवासीय नेपाली नागरिक उपेन्द्र महतोको घरमा भेटघाट गरी दुई कम्युनिस्ट पार्टीको सहकार्यको विषयमा छलफल गरेका थिए।

‘कांग्रेसले मन्त्री परिवर्तन गर्न नमानेको परिस्थितिमा प्रधानमन्त्रीलाई काम गर्न अप्ठ्यारो परेपछि माओवादीले एमाले अध्यक्षसँग गोप्य भेटघाटको प्रस्ताव गरेको थियो, सोहीअनुसार उहाँहरूबीच भेटघाट भएको हो,’ एमाले उच्च स्रोतले भन्यो।

दुई नेताहरूबीच गोप्य भेटघाट भएको विषयमा नागरिक दैनिकले फागुन १४ गते ‘एमाले देखाउँदै कांग्रेस कज्याउँदै प्रधानमन्त्री’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। त्यतिबेला सो भेटघाटको वातारण एमाले उपाध्यक्ष पौडेल र माओवादी उपमहासचिव वर्षमान पुनले बनाएका थिए।

त्यसबेला यो विषयको जानकार एमाले सचिव रघुवीर महासेठ पनि भएको स्रोतको दाबी छ। भेटघाटमा दुई नेताहरू मात्रै भएकाले त्यहाँ के भयो भन्ने विषयमा केही जानकारी भएन। त्यसपछि पनि ओली–दाहालबीच दुई पटक गोप्य छलफल भएको थियो। ओली–दाहालको भेटघाटपछि एमालेका नेताहरू माधव नेपालसँग पनि केही बुँदा लिएर पार्टी एकीकरणकै विषयमा छलफल गरेका भए पनि नेपालले त्यसलाई अस्वीकार गरिदिए।

खासगरी माओवादीले कांग्रेससँगको सहकार्यलाई कोसी प्रदेशमा राष्ट्रियसभाको निर्वाचनमा पाएको धोकापछि गम्भीर रूपमा लिएको थियो। कोसी प्रदेशमा माओवादीलाई कांग्रेसले धोका दिएपछि सहकार्य टुटाउन माओवादीलाई दबाब दिएका थिए।

केन्द्रीय सदस्यहरूले वामपन्थीबीच सहकार्य गर्न दबाब दिएका थिए। त्यही क्रममा माओवादीका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री दाहाललाई वामपन्थी दलहरूको सहकार्य नै दिगो हुने जानकारी गराउँदै कांग्रेससँगको सहकार्य तोडाउने प्रयासमा लागेका थिए।

खासगरी मंसिरको अन्तिम साता प्रधानमन्त्रीले कांग्रेसका मन्त्रीहरूको कार्यसम्पादनमा प्रश्न उठाएका थिए। त्यसबेला अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्रीसँग विवाद गरेका थिए। त्यही बेलादेखि प्रधानमन्त्रीले कांग्रेस सभापतिलाई अर्थमन्त्रीलगायत केही विवादित मन्त्री फिर्ता गराउन आग्रह गरेका थिए। तर कांग्रेस सभापति शेरबहादुर देउवाले फिर्ता गर्न मानेका थिएनन्। सत्तामा एक प्रकारको अविश्वास पैदा भइरहेको थियो।

त्यही क्रममा राष्ट्रियसभा निर्वाचन आयो, त्यहाँ माओवादीले धोकाको महसुस गरेका बेला कांग्रेस महासमितिको बैठक बस्यो। त्यसमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महमन्त्री गगन थापाको प्रस्तावलाई लिएर माओवादीमा एक प्रकारको भूकम्प नै गयो। जसले गर्दा आगामी २०८४ सालमा हुने निर्वाचमा कांग्रेससँग सहकार्य गर्न माओवादीका लागि अप्ठेरो हुने महसुस भयो।

‘बजेट र नीति तथा कार्यक्रममा अर्थमन्त्री र प्रधानमन्त्रीबीच विवाद थियो, प्रधामन्त्रीले लगेका कार्यक्रम अर्थमन्त्रीले अस्वीकृत गर्नेजस्ता विषय पनि नयाँ समीकरणको वातावरण बन्यो,’ माओवादीका एक पदाधिकारीले भने। कांग्रेस महासमितिमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले पेस गरेका प्रस्ताव, राष्ट्रियसभा निर्वाचनमा कांग्रेस माओवादी अन्तर्घात, मन्त्रीको हेरफेरमा कांग्रेसको अड्कोलगायत मुद्दामा पनि प्रधानमन्त्री निकै दबाबमा रहेका थिए।

नयाँ समीकरण बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालमा नेकपा एमाले सबैभन्दा ठुलो पार्टी हुने र एकल सरकार गठन गर्ने दाबी गरे। उनले अहिलेको समीकरण जेसुकै बनोस् तर ‘मिसन २०८४’ छोड्ने होइन, अभियान जारी रहने बताएका थिए।

‘मिसन २०८४’ मा कसैसँग गठबन्धन नहुने हो कि भन्ने भएमा माओवादीले एमालेसँग सहकार्य गरेको पुष्टि सोमबार बसेको माओवादीको सचिवालय बैठकले पनि गरेको छ। माओवादीका सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गरे।

‘वामपन्थी दलहरू एक होऊन् भन्ने नेपाली जनताको चाहना हो, वामपन्थी कमजोर हुने अवस्था आउन नदिन उक्त ‘स्टेप’ चालिएको हो। विगतका त्रुटि कमजोरी सच्याएर अघि बढ्नुपर्छ भन्नेबारे छलफल भएको उनको भनाइ थियो। ‘कुनै न कुनैबेला ‘ब्रेक थ्रु’ गर्न त्यस्तो समयको आवश्यकता पर्छ,’ माओवादी सचिव पौडेलले भने, ‘राजनीतिक यात्रामा अवरोध आएपछि नयाँ अध्याय सुरु हुन्छ, यो कुनै नयाँ विषय होइन, बीचमा केही टुटेको थियो, यो विगतकै निरन्तरता हो।’

एमालेसहितको नयाँ गठबन्धन कायम भएसँगै समाजवादी मोर्चा नेपाल पनि निरन्तर रहने उनको भनाइ छ। ‘समाजवादी मोर्चामा रहेका अन्य दलका शीर्ष नेता पनि वामपन्थी नै हुनुहुन्छ, सबै पार्टीलाई सँगसँगै लिएर अघि बढ्छौं,’ सचिव पौडेलले भने।

बेखबर नेकपा एस

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाएकोबारे नेकपा एकीकृत समाजवादी बेखबर बनेको छ। २०७९ सालमा माओवादी अध्यक्षले एमालेको साथ लिँदा पनि बेखबर बनेको एसलाई यसपटक पनि सप्राइज दिइएको थियो। नेकपा एसलाई यस विषयमा कुनै पनि जानकारी नभएको पार्टीका प्रचार विभाग जगन्नाथ खतिवडाले बताए।

२०७९ पुस १० गते एमाले माओवादीसहित बनेको समीकरणलाई भत्काएर नेपाली कांग्रेससँग समीकरण गराउन सफल भएका माधव नेपाललाई अहिले पुनः धोका दिएका छन्। कांग्रेस माओवादी र नेकपा एसलगायत दलहरूसहित बनेको समीकरणले एक वर्षपछि माधव नेपाललाई प्रधानमन्त्री बनाउने घोषणा गरेको थियो। तर, त्यो गठबन्धन एक वर्षमा टुटाएर माओवादी अध्यक्ष दाहालले एमालेसँग नयाँ समीकरण गरेका छन्।

‘अहिले नयाँ समीकरण बनेको भनेर हामीले सञ्चारमाध्यममा मात्रै थाहा पायौं,’ एसमा प्रचार विभागप्रमुख खतिवडाले भने। तर, सत्ताको नेतृत्व गरिरहेको दल माओवादीले भने अहिलेको गठबन्धनमा नेकपा एमालेबाट फुटेर बनेको नेकपा एसलाई नयाँ गठबन्धनमा समेट्नुपर्ने पक्षमा छ।

नयाँ बनेको समीकरणलाई एकीकृत समाजवादी पार्टीले गुण र दोषको आधारमा समर्थन गर्ने भएको छ। गठबन्धनको उद्देश्य र नीति सबै बाहिर नआइसकेको र स्पष्ट नभएकाले अहिले नै केही भन्न नसकिने भएकाले उद्देश्य स्पष्ट भएपछि त्यसका आधारमा आफ्ना नीतिहरू स्पष्ट पार्ने जनाएको हो।

 सोमबार दिउँसो नेकपा एसका अध्यक्ष नेपालको घरमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। ‘प्रधानमन्त्रीले नयाँ निर्णय लिएसँगै अर्को राजनीतिक समीकरणमा प्रवेश गरेको छ। नयाँ समीकरणको उद्देश्य, प्रक्रिया, संरचना अझै स्पष्ट भइसकेका छैनन्। तसर्थ प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य प्रक्रिया र संरचनाबारे सबै विषय अगाडि आएपछि तिनको गुण र दोषको आधारमा नेकपा एकीकृत समाजवादीले आफ्ना नीति स्पष्ट पार्नेछ,’ नेकपा एसका प्रचार विभागप्रमुख जगन्नाथ खतिवडाले भने ।

प्रकाशित: २२ फाल्गुन २०८० ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App