६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

संघीयता विरोधीलाई शब्दले होईन कामले जवाफ दिऔंः भीम कार्की

गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले संघीयता विरोधीलाई कामले जवाफ दिनुपर्ने बताएका छन्। गण्डकी प्रदेश सभाको सोमबारको बैठकमा बोल्दै एमाले नेतासमेत रहेका कार्कीले प्रदेश सरकारको कार्यशैलीका कारण संघीयतामाथि प्रश्न चिह्न उठेको बताए।  

‘धेरै भ्रम, अफवाह, र असफलताको दोषारोपण संघीयतामाथि आएको छ,’ उनले भने,‘त्यसैले संघीयता विरोधीहरुलाई शब्दले होईन, कामले जवाफ दिऔं।’प्रदेश सांसद कार्कीले संघीयतालाई बलियो बनाउन दल र नेताहरुको सोंच, चिन्तन र शैली बदल्नुपर्ने बताए। लामो समयदेखि एकात्मक सोंच, चिन्तन र शैलीको अभ्यास गर्दै आएका कारण अहिलेपनि दल र नेताहरुमा त्यो सवार हुने गरेको उनको टिप्पणी छ।

‘दल र नेताहरु संघीयता कार्यान्वयनमा ईमान्दार भइदिने हो भने सहज हुनसक्छ,’ उनले भने, ‘तर दल र तिनका नेतामा संघीयता कार्यान्वयनमा ईमान्दारिता छैन। दलका संरचना एकात्मक खालका छन्। सोंचमा संघीयता आएको छैन।’ संघीयता कार्यान्वयन दल र त्यसका नेताहरुले गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको उनको भनाई छ। ‘हामीमा संघीयतामैत्री सोंच, शैली र चिन्तन आएन। ठाउँ पाउनासाथ एकाएक सामन्तवाद सवार हुन्छ,’ उनले भने। 

कार्कीले संघीयतामाथि प्रश्न चिह्न उठ्नुको कारण प्रदेश सरकारको कार्यशैली पनि जिम्मेवार भएको बताए। ‘सरकारको काम उल्टो दिशातर्फ दौडिरहेको उनको टिप्पणी छ,’ उनले भने, ‘सुशासन कमजोर छ। विकास निर्माण ठप्पजस्तै छ। अनियमितता र भ्रष्टाचार मौलाएको छ। समाज अराजकतातर्फ झाँगिएको छ। यसको शिकार संघीयता बनेको छ।’ 

उनले प्रदेश संरचनाका गतिविधि जनमैत्री नभएको आरोप लगाए । ‘प्रदेश सरकार जनमैत्री हुने, काममा पारदर्शिता अपनाउने, सहकार्य र सहअस्तित्वको सम्मान गर्दै अगाडि बढ्ने, कार्यशैलीमा अनुशासन कायम गर्न सक्यौं भने, सुशासन कायम गर्दै बजेट कार्यान्वयन गर्न सक्यौं भने संघीयता बलियो हुँदै जान्छ,’ उनले भने।

कार्कीले संरचना र जनशक्ति नबदलिदापनि संघीयता कार्यान्वयन फितलो भएको बताए । ‘हामीले व्यवस्था बदलेऔं तर संरचना र जनशक्ति बदलेनौं । पुरानो प्रशासनिक संरचनाले नया व्यवस्था सञ्चालन गर्न सम्भव थिएन । तर यसको विकल्प पनि छैन र सम्भवपनि देखिदैन ।’ उनले न्याय, सुरक्षा र संवैधानिक निकायमा अहिलेसम्मपनि संघीयता नआएको बताए । संघीयता बलियो बनाउन वित्तीय संघीयता कार्यान्वन प्रभावकारी बनाउनुपर्ने उनले बताए ।

प्रकाशित: २१ फाल्गुन २०८० १५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App