५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

उदयपुरका दुई सांसद एकैचोटि प्रदेशमन्त्री

बधाई कार्यक्रममा मन्त्री नारायण बुर्जा मगर (बायाँबाट दोस्रो)। तस्बिरः महेश्वर/नागरिक

उदयपुरबाट निर्वाचित दुई प्रदेशसभा सदस्य एकैचोटि मन्त्री भएका छन्। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पछिल्लोपटक मन्त्रीपरिषद् पुनर्गठन गर्दा उदयपुर २ (क) र (ख)बाट निर्वाचित सांसदद्वय नारायण बुर्जा मगर र रामकुमार खत्री मन्त्रीमण्डलमा समेटिएका हुन्।

उदयपुर २ (क)बाट निर्वाचित मगर खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री भएका छन् भने (ख)बाट निर्वाचित रामकुमार खत्री कृषि, उद्योग तथा सहकारी मन्त्री बनेका छन्।

दुवै सांसद मंसिर ४ गते सम्पन्न निर्वाचनमार्फत सत्तारुढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपासहितको गठबन्धनबाट प्रदेशसभामा प्रतिनिधित्व गरेका थिए। मगर माओवादीबाट र खत्री कांगे्रसबाट निर्वाचित भएका हुन्।

नवनियुक्त मन्त्रीहरूले आफूले जिल्लाको विकास निर्माण गरेर जनतालाई सेवा गर्ने प्रण गरेका छन्। मन्त्री पदको सपथ खाएकै भोलिपल्ट गृह जिल्ला आएका मगरले शनिबार साँझ माओवादी केन्द्र, त्रियुगा नगर कमिटीद्वारा आयोजित बधाई तथा भेटघाट कार्यक्रममा लोभलालच केही नगरी जनताको हितमा तल्लीन रहने प्रतिबद्धता जनाए।

कार्यकर्ताबाट बधाई थाप्दै मन्त्री मगरले आपूmलाई सांसद र मन्त्री हुनुको सम्पूर्ण श्रेय माओवादी केन्द्रलाई जाने भन्दै पार्टी नीति, सिद्धान्त र दिशानिर्देशनअनुसार अघि बढ्ने प्रतिबद्धता जनाए।

‘म यहाँसम्म आइपुग्नुमा पार्टी र प्रदेशवासी मतदाताको अमूल्य योगदान छ,’ मन्त्री मगरले भने, ‘त्यसैले पार्टी निर्देशन र जनताको सुझावअनुसार मात्र आफ्नो कार्यकालभरि जनहितमा समर्पित भएर काम गर्नेछु।’

खानेपानी, सिँचाइ र ऊर्जाक्षेत्रमा उदयपुर अझै पछि रहेको भन्दै मन्त्री मगरले एउटा मन्त्रीबाट हुनसक्ने अधिकतम अधिकार प्रयोग गर्दै प्रदेश सरकारको स्रोतसाधनको उपयोगमार्फत जनतालाई विकासको फल चखाउने वचन दिए।

मगरको निर्वाचन क्षेत्रमा जिल्लाका अत्यन्त विकट पहाडी लिमचुङबुङसहित तीन पहाडी गाउँपालिकाहरू समेटिएका छन्। २१ वडा रहेका तीनवटै गाउँपालिका खानेपानी, सिँचाइ र ऊर्जा (विद्युत्)मा निकै पछि छन्।

बाह्रै महिना खानेपानीको हाहाकार हुने लिमचुङबुङलाई अघिल्लो कार्यकालमै गाउँपालिकाले सुक्खा क्षेत्र घोषणा गरेर उदयपुर र खोटाङको सीमा भएर बग्ने सुन नदीबाट लिफ्टिङ प्रविधिको खानेपानी योजना सञ्चालन गर्ने तयारी गरे पनि अहिलेसम्म सुरुवात भएकै छैन।

लिमचुङबुङसँगै रौतामाई, उदयपुरगढी र ताप्ली गाउँपालिकालाई समेत समेटेर सञ्चालन गर्न लागिएको खानेपानी बहुवर्षीय परियोजनाका लागि दुई अर्ब हाराहारी बजेट दुई वर्षअघि नै स्वीकृत भइसकेको छ। यतिका दिनसम्म परियोजनाको काम अघि नबढेको भन्दै स्थानीयले जनप्रतिनिधिलाई सराप्न थालिसकेका छन्।

 वर्षायाममा पलाउने खोल्सा खहरे र पँधेराको पानीले समस्या टार्दै आएका स्थानीयहरू फागुनचैतदेखि पानीको स्रोत सुक्न थालेपछि घण्टौं टाढाबाट लेदोसहितको फोहोर पानी बोकेर खानुपर्ने बाध्यतामा छन्।

वर्षौं अघिदेखि सञ्चालित पुराना खानेपानी योजनाको आवश्यक मर्मतसम्भार नहुनुका साथै मुहान सुक्नाले पाँच वडा रहेको लिमचुङबुङमा जहिल्यै पानीको हाहाकार हुने गरेको छ।

अर्को उदयपुरगढी गाउँपालिका मुकाम रहेको गढीक्षेत्रमै खानेपानीको हाहाकार रहेको छ। जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढी क्षेत्रमा तीन वर्षअघि मात्र स्थानीय खोलाबाट लिफ्टिङ गरेर ल्याइएको सानो मुहानको पानीले जनप्रतिनिधि र कर्मचारीले काम चलाउँदै आएका छन्।

दिगो खानेपानी व्यवस्थापनका लागि आठ वडा रहेको उदयपुरगढी पनि लिमचुङबुङकै लिफ्टिङ खानेपानी परियोजनाको लिङ्क योजनाको पर्खाइमा छ।

आठ वटै वडा रहेको रौतामाई गाउँपालिका पनि मुकाम भुट्टारबाहेक अन्य वडा पानीको हाहाकारको अवस्थामा छन्। दुई नं. वडामा पर्ने भुट्टार आसपास खारी, हिले र रसुवा खोला नजिकै रहेकाले प्रशस्त खानेपानीको बन्दोबस्त छ। तर, बाँकी वडाबासी पानीको अभावमा छन्। खानेपानीसँगै विद्युत् र सिँचाइमा पनि मगरको निर्वाचन क्षेत्र निकै पछि छ।

पछिल्लो समय विद्युत् र खानेपानीका योजनाहरू बाक्लै सञ्चालन हुने क्रम रहे पनि सिँचाइतर्फ भने जनप्रतिनिधिको त्यति धेरै ध्यान गएको पाइँदैन।

सिँचाइ, कुलो अभावकै कारण पहाडी भेगको खेत समयमा वर्षा नहुँदा रोपाइँ गर्न नपाएर किसान धान उत्पादन गर्न नसक्ने अवस्थामा पुग्ने गरेका छन्।

आफ्नो मन्त्रालय मातहतका विकासे योजनाहरू सक्दो ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका मन्त्री मगरलाई माओवादी त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राईले योजनाको खाका पेस गर्दै जनभावनाबमोजिम काम गर्न सुझाए।

अध्यक्ष राईले पार्टी नीतिअनुसार विकास निर्माण र जनताको दैनन्दिन सेवामा दत्तचित्त भएर लाग्न आग्रह गर्दै जनभावनाको कदर गर्न सके मात्र मन्त्री पदको गरिमा र पार्टीको साख रहुने बताए।

कार्यक्रममा पार्टी नगर इन्चार्ज विमल किराती तथा विभिन्न जनवर्गीय संगठनका प्रमुख र प्रतिनिधिहरूले जनताको भलो हुने काम मात्र गर्न सुझाव दिँदै त्यसविपरित नजान सचेत गराएका थिए।

प्रकाशित: २९ माघ २०८० ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App