१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

उम्मेदवार छनोट गर्न सकस

धनगढी – तालमेल गरेर चुनाव लड्ने घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश नम्बर ७ बाट छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका छन् । नेकपा एमालेले प्रदेश नम्बर ७ बाट प्रतिनिधिसभा, प्रदेशसभाका लागि २ सय ७६ जना उम्मेदवार सिफारिस गरेको एमाले प्रदेश कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले बताए । प्रतिनिधिसभाका प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ ४८ जनाको नाम सिफारिस गरिएको छ । 

यसैगरी प्रदेशसभामा प्रत्यक्षतर्फ ९६ र समानुपातिक तर्फ ९६ जना उम्मेदवारको नाम सिफारिस गरिएको उनले बताए । ७ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा सर्वसम्मत उम्मेदवार सिफारिस भएको छ । अछाम क्षेत्र नम्बर १ बाट एमाले उपाध्यक्ष भीम रावल, बाजुराबाट लालबहादुर थापा, दार्चुलाबाट गणेश ठगुन्ना, कंचनपुर १ बाट तारा लामा, कैलाली क्षेत्र नम्बर १ मा गरिमा शाह, क्षेत्र नम्बर ३ मा विमल जोशी र क्षेत्र नम्बर ४ मा दीर्घ सोडारी सर्वसम्मत सिफारिस भएका छन् ।

सबै क्षेत्रका उम्मेदवार केन्द्रमा सिफारिस गरेको र पार्टीको केन्द्रले नै बाँडफाँट गरेर एमालेको भागमा परेका क्षेत्रमा सिफारिस गरेका उम्मेदवारमध्येबाट उम्मेदवार छनोट गर्ने सुवेदीले बताए । ‘केन्द्रले गरेको निर्णयअनुसार उम्मेदवार उठाएर तालमेल गर्ने भनेर स्थानीय तहमा दुई पार्टीका बीचमा छलफल सुरु भएको छ,’ उनले भने ।

यसैगरी माओवादी केन्द्रको पनि प्रदेश नम्बर ७ को ९ वटै जिल्लाबाट सबै क्षेत्रका उम्मेदवारको सफारिस प्रदेश समितिमा पठाइएको छ । प्रदेश समितिमा उम्मेदवारका बारेमा छलफल भइरहेको माओवादी केन्द्रका पोलिटब्युरो सदस्य वीरभान चौधरीले बताए । प्रदेश कमिटीले निर्णय गरेर केन्द्रमा सिफारिस गर्ने उनले बताए । 

कांग्रेसमा उम्मेदवार छनोट गर्न सकस

नेपाली कांग्रेसले केन्द्रले सर्वसम्मत उम्मेदवार सिफारिस गर्न वा सर्वसम्मति नजुटे ३ जनाको नाम सिफारिस गर्न परिपत्र गरे पनि सहमति नजुट्दा ३ जनाभन्दा बढी इच्छुक उम्मेदवारको नाम केन्द्रमा पठाएको छ । एमाले र माओवादी केन्द्रको जस्तो कांग्रेसमा प्रदेशस्तरीय पार्टी संचरना नहँुदा सबै इच्छुक उम्मेदवार केन्द्रमा पठाउनुपरेको कांग्रेस कैलालीका सचिव पूर्ण कुँवरले बताए । कैलालीबाट मात्र कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २ सय ४९ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ । सहमति नभए एक क्षेत्रबाट ३ जना आकांक्षीको नाम सिफारिस गर्न केन्द्रीय समितिले जिल्ला समितिहरूलाई निर्देशन दिएको भए पनि टुंगो नलाग्ने भएपछि सबै नाम पठाइएको उनले बताए।

  क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवाका लागि समेत सहमति जुट्न सकेन । यहाँबाट ६ जनाको नाम सिफारिस भएको छ ।

टिकटका आकांक्षी नेताको दैलोमा

सबै दलका टिकटका आकांक्षी प्रभावशाली नेताको घरदैलोमा धाउन व्यस्त छन् । टिकटका प्रायःजसो आकांक्षी काठमाडौं गएका छन् । ‘नेतालाई रिझाउन र खुसी पार्न सके टिकट पाइन्छ भन्ने मानसिकताले सबै टिकटका आकांक्षी प्रभावशाली नेताको चाकडी गर्न तछाडमछाड गरिरहेका छन्,’ एक कार्यकर्ताले भने, ‘टिकटका आकांक्षीको काठमाडौंमा भीड लागेको छ ।’

प्रकाशित: ३० आश्विन २०७४ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App