७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

सीसँगको छलफलले उत्साहित छु: प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता उत्साहजनक बनेको प्रतिक्रिया दिएका छन्। आइतबार साँझ बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले सीसँगको छलफलले आफू उत्साहित बनेको प्रतिक्रिया दिएका हुन्। भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास आफूले लिएको पनि उनले बताए।

चीनको हांगचौमा शनिबार प्रधानमन्त्री दाहाल र राष्ट्रपति सिबीच भेटवार्ता भएको थियो। दाहाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्युयोर्कबाट चीनको औपचारिक भ्रमणका क्रममा हांगचौ पुगेका हुन्। उनी आइतबार बेइजिङ पुगेका छन्। ‘यसपटक चीन भ्रमणमा फरक र विशिष्ट उपलब्धि भएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘चीनसँगको कुराकानीबाट विश्वासको थप वातावरण सिर्जना भएको महसुस गरेको छु।’

नेपाल-चीनबीचको सदियौं पुरानो सम्बन्धमा यो भ्रमणले नयाँ आयाम थपेको उनको भनाइ थियो।

उनले सीसँगको भेटवार्ताका क्रममा नेपालको विकासका लागि सहयोगका साथै नयाँ क्षेत्रहरूमा लगानीका विषयमा समेत कुराकानी भएको उल्लेख गरे। समारोहमा प्रधानमन्त्री दाहालले नेपालको विकासका लागि सरकारको एकल प्रयास मात्र सम्भव नहुने बताउँदै वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यबाट अघि बढ्ने नीति लिएको पनि जानकारी गराए।

प्रकाशित: ८ आश्विन २०८० ०१:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App