६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारमा बस्नुको औचित्यमाथि प्रश्नै प्रश्न

कांग्रेस केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारले राम्रो काम गर्न नसकेको भन्दै पार्टी सरकारमा बस्नुको औचित्यमाथि प्रश्न उठाएका छन्। कांग्रेसले जनताको विश्वासभन्दा सरकारलाई प्राथमिकता दिएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

केन्द्रीय समितिको आइतबार बसेको बैठकमा ३२ जना सदस्यले बोलेका छन। बैठकमा प्रदीप पौडेल, कर्णबहादुर बुढा, रामजनम चौधरी, रंगमती शाही, हरिशरण नेपाली, राजीव ढुंगानालगायतले पार्टी नेतृत्वले सरकारलाई महत्त्व दिँदा कांग्रेसले जनताको विश्वास गुमाउँदै गएको धारणा राखे। उनीहरूले पार्टी नेतृत्वलाई सरकार ठुलो कि जनताको विश्वास भन्ने प्रश्न पनि गरे।

पौडेलले नेपाली कांग्रेसबाट सरकारमा मन्त्री बनेकाले पनि जनताको विश्वासअनुसार काम गर्न नसकेको गुनासो गरे। ‘सरकारले एउटा पनि राम्रो काम गरेको छैन। हामी जनतामाझ जाँदा सरकारले राम्रो काम गरेको छ भनेर कसरी भन्ने?’ उनले भने। सरकारले जनताको विश्वास जित्न नसकेको उनको भनाइ थियो।

सरकारले जनताको विश्वास जित्न सकेन। हामी जनतामाझ जाँदा सरकारले राम्रो काम गरेको छ भनेर कसरी भन्ने?’ कांग्रेसबाट मन्त्री बनेकाले पनि जनताको विश्वासअनुसार काम गर्न सकेनन्।

प्रदीप पौडेल, केन्द्रीय सदस्य

अर्का केन्द्रीय सदस्य ढुंगानाले सरकारमा सहभागी भएको कांग्रेसले जसभन्दा अपजस भोगिरहेको टिप्पणी गरे। सरकारमा कांग्रेस बस्नुको औचित्यमाथि गम्भीर रूपमा समीक्षा गर्नुपर्ने बेला आएको उनले बताए।

‘हुन त, सरकारको नेतृत्व कांगे्रसले गरेको छैन तर जनताले कांग्रेसबाट धेरै आशा गरेका छन्’, ढुंगानाले भने, ‘यो सरकारले राम्रो काम गर्न सकेन। त्यसैले अब पार्टीले सरकारमा बस्नु औचित्यमाथि गम्भीर रूपमा समीक्षा गर्नुपर्छ।’

सरकारको नेतृत्वले कांग्रेसले नगरे पनि अपजसको भारी भने कांग्रेसको टाउकोमा आएको उनले बताए। उनले मुलुकको अर्थतन्त्र पनि सुधारको बाटोमा लाग्नुको साटो झनै डामाडोलको अवस्थामा पुगेको बताए।

अर्का केन्द्रीय सदस्य बुढाले पनि सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको भन्दै यस विषयमा पार्टीले सचेत गराउनुपर्ने बताए। पार्टीबाट सरकारमा गएकालाई पनि नेतृत्वले राम्रो काम गर्न निर्देशन दिनुपर्ने सुझाए। सरकारको नेतृत्व गरिरहेको माओवादीले गलत काम गरे पनि त्यसको अपजस नेपाली कांग्रेसले लिनुपर्ने अवस्था आएको उनको भनाइ थियो।

केन्द्रीय सदस्य रामजनम चौधरीले कांग्रेस केन्द्र र प्रदेश सरकारमा सहभागी भए पनि कार्यकर्ताहरू उत्साहित नभएको टिप्पणी गरे।

केन्द्रीय सदस्य शाहीले सरकारमा गएर पार्टीलाई फाइदा नभएको, उल्टै नोक्सान पुगेको चर्चा गरिन्। त्यस्तै अर्का केन्द्रीय सदस्य नेपालीले सरकारले जनताको विश्वासअनुसार काम गर्न नसेको बताए।

बैठकमा लक्ष्मी परियार, शिवप्रसाद हुमागााईं, रमा कोइराला, राजेन्द्रकुमार केसी, विनोदकुमार चौधरी, सरस्वती अर्याल तिवारी, जानकी सिंह, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सेजुवाल, अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सुजाता परियार, गोविन्द भट्टराई, चिनकाजी श्रेष्ठलगायतले आआफ्नो धारणा राखेका थिए। बैठक सोमबार पनि बस्ने भएको छ।

प्रकाशित: ८ आश्विन २०८० ००:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App