१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

एमसीसी र बीआरआईबाट नेपालले देशको हीत हुनेगरी लाभ लिनुपर्छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हीत हुनेगरी लाभ लिन सक्नुपर्ने बताएका छन्।

आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) बाट नेपालले देशको हीत हुनेगरी लाभ लिन सक्नुपर्ने बताए।  

उनले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने ? भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने उल्लेख गरे।  

सभामुख घिमिरेले एमसीसीको बारेमा धेरै चर्चाहरू चलिरहेको र बीआरआईको बारेमा पनि जनतालाई बुझाएर राष्ट्र र जनतको हीतमा प्रयोग गर्न आग्रह गरे। उनले भौगोलिक विकटताका बावजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने बताए।  

उनले नेपाललाई बाह्य ऋणबाट मुक्त गर्नुपर्ने भन्दै राजनीति बाटोबाट देशलाई सम्पन्न बनाउन सकिने भन्दै यसका लागि सबै राजनीतिक दलहरू मिल्नुपर्ने धारणा राखे।

उनले भने, ‘आज विश्वका शक्ति राष्ट्रहरू युएसएले एमसीसी लगायतका कार्यक्रमहरू विस्तार गरेर नेपाल जस्ता पछि परेका मुलुकहरूलाई सहयोग गर्ने कोशिस गरिरहेको छ। त्यसरी नै बिआरआई प्रोग्राम अन्तर्गत जनताको जीवनलाई सरल बनाउने र त्यस्ता मुलुकलाई सहयोग गर्ने ढंगबाट चीनले प्रोग्रामहरू लिएर आइरहेको छ। नेपालले यी दुई वटै प्रोग्रामहरुबाट नेपाली जनताको हीतमा कसरी जाने ? भन्ने विषयमा गम्भीर भएर सोच्नुपर्छ।’

सभामुख घिमिरेले दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको बताए। उनले पञ्चायती व्यवस्थालाई अन्त्य गरी अहिलेको लोकतान्त्रिक, सङ्घीय सभावेशी संविधान ल्याएको र संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माण गर्ने उदेश्यका साथ काम गरिरहेको बताए।  

प्रकाशित: १६ भाद्र २०८० ०६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App