५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

सङ्घीयतालाई बलियो बनाउनुपर्छ: एमाले सचिव अर्याल

नेकपा (एमाले)का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सङ्घीयताले नै जनताको अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताएकी छन्।

नेकपा एमाले सङ्घीय संरचनाबारे पुनर्विचार गर्नुपर्ने निष्कर्षमा नपुगेको बताउँदै सचिव अर्यालले सङ्घीयताप्रति एमाले स्पष्ट रहेको बताइन्।

पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका अवसरमा आज बुटवलमा विभिन्न सञ्चार माध्यमका सम्पादकसँगको छलफलमा नेता अर्यालले प्रदेश अधिवेशनमा कुनै नेताको नाममा गुट नभएको दाबी गरे। उनले प्रदेश अधिवेशनबाट सही र सक्षम नेतृत्व चयन हुने बताइन्।

उनले अधिवेशनले सकेसम्म सर्वसम्मत र त्यो नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने पनि धारणा राखिन्। ‘सर्वसम्मत भनेको सहमति र समझदारी हो’, उनले भने, ‘सहमति र समझदारी गरेर आउँदा चुनाव नै गर भन्न मिल्दैन।’

एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भदौ १६ र १७ गते बुटवलमा हुने भएको छ। अधिवेशनका पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने पार्टी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताए।

प्रदेश अधिवेशनका लागि प्रदेशका १२ जिल्लाबाट एक हजार चार  प्रतिनिधिको चयन भइसकेको एमालेले जनाएको छ। अधिवेशनमा महिला ३३ प्रतिशत पुर्‍याउने प्रयासमा रहेको बताउँदै उनले उत्पिडित, महिला, युवाको फरकफरक कलस्टर बनाएर प्रतिनिधि छनोट भएको बताए।

प्रकाशित: ११ भाद्र २०८० ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App