६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादी गण्डकी इन्चार्ज भन्छन्: हामीलाई १७ हजारको ट्याग लगाइएको छ, अब त्यो सहन्नौ

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको बैठकलाई शनिबार पोखरामा सम्बोधन गर्दै पार्टीका गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेल। तस्बिरः सन्देश/नागरिक

नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले पार्टीलाई बलियो बनाउनका लागि आक्रामक ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको बैठकलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानले पार्टीलाई प्रतिस्पर्धी दलहरुबीच अब्बल पार्टी बनाउने गरी खटिन निर्देशन दिएका हुन्। ‘पार्टी पुर्नगठन गर्न सकिन्छ, तर त्यसका लागि हरेक कार्यकर्ताले संकल्प गरेर लाग्नुपर्छ,’ उनले भने, ‘यस अभियानका क्रममा हरेक कार्यकर्ताले तीन जना पार्टी सदस्य अनिवार्य बनाउनुस्। त्यसो भयो भने पार्टी अवश्य बन्छ।’

पौडेलले पार्टी बन्दैन भन्ने मानसिकता त्याग्न पनि कार्यकर्तालाई आग्रह गरे। ‘हाम्रा नेता कार्यकर्ताहरु पार्टी बन्दैन भनेर निराश हुन्छन्,’ उनले भने, ‘पहिल्यै पार्टी बन्दैन भनेर निराश भएपछि कसरी पार्टी बन्छ? यसरी निराश होइन, आशा र विश्वासका साथ पार्टी बनाउन लाग्नुभयो भने पार्टी अहिलेभन्दा केही न केही सुदृढ हुन्छ।’

उनले घरघरमा माओवादी, जनजनमा माओवादी हुने वातावरण बनाउनका लागि लाग्न आग्रह गरे। त्यसका लागि जनतालाई अहिलेको सरकारले गरेका सुशासन अभियान, समृद्धि र विकासका लागि गरिरहेका कामहरुबारे जानकारी गराउन उनले निर्देशन दिए।

पौडेलले विपक्षीले माओवादीलाई हत्यारा र आतंककारी भनिरहँदा चुप लागेर नबस्न निर्देशन दिए। ‘उनीहरु हामीलाई १७ हजार भनेर हल्लालाई यथार्थमा परिणत गर्ने प्रयास गरिरहेका छन्,’ उनले भने, ‘तर हाम्रा साथीहरु त्यसको प्रतिवाद गर्दैनन् र साँच्चै हत्यारा नै हो कि भनेर सहेर बस्नुहुन्छ। तर अब त्यसरी नसहनुस्, बरु त्यसको प्रतिवाद गर्नुस्। र भन्नूस हामी हत्यारा वा आतंककारी होइन, हामी त परिवर्तन गरेर आएको शक्ति हौ। देश र शासन व्यवस्थाको परिवर्तनकारी हौं।’

पौडेलले समाजवादी मोर्चा संसद्को अंक गणितका लागि मात्र नभएको बताए। विपक्षीले मोर्चालाई संसद्को अंक गणितसँग जोडेर कु प्रचार गरेको भन्दै उनले भने, ‘तर तपाईंहरु भ्रमित नहुनुस्, समाजवादी मोर्चा संसद्को अंकगणित जोगाउन होइन। बिचार मिल्नेसँग मोर्चा बनाउने, मिल्यो भने पार्टी एकीकरण गर्ने भन्दै नीति नै हो। त्यही नीति अनुसार नै अहिले मोर्चा बनेको हो। भोलि मोर्चामा आबद्ध दलहरुबीच एकीकरण भएर पार्टी बन्नपनि सक्छ।’ उनले काँग्रेससँगको गठबन्धन भने बाध्यात्मक परिस्थितिका कारण निर्माण भएको र यो संयोग मात्र भएको उल्लेख गरे।

माओवादी पोखरा महानगर कमिटीले तीन महिने अभियानका लागि कार्य योजना बनाएर जनतामाझ जाने कमिटीका अध्यक्ष हरिनारायण गिरीले बताए। त्यसका लागि कार्य योजना निर्माण अन्तिम चरणमा पुगेको उनको भनाई छ।

प्रकाशित: ९ भाद्र २०८० १०:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App