१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा एसले तत्काल कसैसँग एकता नगर्ने

नेकपा एकीकृत समाजवादी पार्टी तत्काल कुनै पार्टीसँग एकता नगर्ने भएको छ। समाजवादी मोर्चा गठन हुनु र मोर्चामा सहभागी हुनुलाई तात्कालिक राजनीतिक कार्यगत एकता मात्र भएको बताउँदै उसले तत्काल पार्टी एकताको सम्भावना भने नभएको जनाएको हो। अध्यक्ष माधवकुमार नेपालले सोमबार केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक दस्तावेजअनुसार नेकपा एसले स्वतन्त्र गतिविधि र पार्टी संगठन विस्तारलाई अघि बढाउने भएको छ।  

बैठकमा अध्यक्ष नेपालले अहिलेको अवस्था पार्टी निर्माणको काम भएकाले सबै नेतालाई स्वतन्त्रपूर्वक संगठन बनाउनेतर्फ लाग्न आग्रह गरेका छन्। ‘अहिले वर्तमान राजनीतिक परिस्थिति र गठबन्धन बदलिन र हामी गठबन्धनबाट बाहिर निस्कने अवस्था छैन,’ उनले भने। आफ्नो पार्टी कम्युनिस्ट पार्टीबीच एकताको पक्षमा रहे पनि तत्काल वाम एकता वा पार्टी एकताको सम्भावना नरहेको उनले दोहो¥याए। उनले कम्युनिस्ट घटकहरूबीच एकतामा जोड दिँदै भने, ‘यस दौरान व्यवहारबाट के स्पष्ट भयो भने अहिले तत्काल कम्युनिस्ट पार्टीहरूबीचको एकता वा वाम एकता सम्भव छैन।’ अध्यक्ष नेपालले पार्टी एकता हुनका लागि पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, संगठनात्मक सैद्धान्तिक कार्यक्रम र कार्यदिशाजस्ता मूलभूत विषयमा एकरूपता हुनुपर्नेमा जोड दिएका छन्।

मुलुकको राजनीतिक अवस्थालाई ध्यान दिएर अहिले नै जनताको बहुदलीय जनवाद (जबज)लाई छाड्न नसकिने जनाएका छन्। बैठकमा प्रस्तुत ३९ पेज लामो राजनीतिक प्रतिवेदनमा पेस गर्दै जबजलाई तत्काल छाड्न नसकिने बताएका हुन्। अध्यक्ष नेपालले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाजस्ता शक्तिको आलोचना गर्दै तत्काल गठबन्धनको विकल्प नभएको पनि उल्लेख गरेका छन्। राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भएको भन्दै एमाले र नेकपा एसबीच धेरै विषयमा फरक रहेको उल्लेख गरेका छन्। अध्यक्ष नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै पश्चिमा शक्तिले नेपाललाई चीनविरुद्ध खडा गर्न खोजेको प्रतिवेदनमा उल्लेख गरेका छन्। त्यस्तै राजनीतिक प्रतिवेदनमा उनले जनताको बहुदलीय जनवादको औचित्य अझै रहेको भन्दै पार्टीले सो विचार छाड्न नसक्ने जनाएका छन्। उनले गठबन्धनको सवालमा ओलीले संसद् विघटन गरेपछि संविधान जोगाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्।  

‘प्रतिगमनविरुद्धको सफल आन्दोलनबाट प्रतिनिधिसभा पुनः स्थापित भई पूर्ण कार्यकाल क्रियाशील भएपछि आयोजित आम निर्वाचनको बेला हामीसमेत सहभागी भएर बनेको गठबन्धन निर्वाचनपछि पुस १० गते भत्किएको थियो र नेकपा माओवादी केन्द्रले नेकपा (एमाले), रास्वपा र राप्रपासँग नयाँ गठबन्धन बनाएर पुष्पकमल दाहालको नेतृत्वमा सरकार निर्माण गरेको थियो। त्यो सरकार वस्तुतः नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले रास्वपा र राप्रपालाई साथ लिएर निर्वाचनको बेला बनेको वाम–लोकतान्त्रिक गठबन्धन भत्काउने, संविधानविरुद्ध आफ्नो आक्रमणलाई सही ठह¥याउने र नयाँ सरकारलाई आफ्नो योजनाअनुसार सञ्चालन गर्ने चालबाजीस्वरूप बनेको थियो,’ नेपालले भनेका छन्, ‘उक्त चालबाजीको पोल चाँडै खुल्यो र न्यूनतम साझा सहमतिका आधारमा फेरि हामीसमेत सहभागी भएको नयाँ गठबन्धन बनेको छ र त्यस गठबन्धनले सरकार बनाएको छ। निर्वाचनपछि राजनीतिमा देखिन थालेको विकृतिलाई रोक्न त्यो एक महत्वपूर्ण कदम हो। पाँचै वर्ष सरकार टिकाउने ध्येय र त्यसका लागि आवश्यक सहमतिका साथ बनेको यस गठबन्धनले प्रतिनिधिसभाको यस कार्यकालभरि स्थिरताको विश्वास जगाएको छ।’

उनले मदन भण्डारीको अगुवाइमा नेपाली क्रान्तिको कार्यक्रमका रूपमा प्रतिपादित जनताको बहुदलीय जनवादले नेपाली कम्युनिस्ट आन्दोलनको व्यापक विस्तार एवं विकास र लोकतान्त्रीकरणमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै जनवादी क्रान्तिको चरणमा त्यसले मार्गदर्शन गरेको जनाएका छन्। ‘अहिले नेपाली क्रान्ति जनवादी क्रान्तिको चरण पार गरी समाजवादी चरणमा प्रवेश गरेको छ। जनताको बहुदलीय जनवादमा सामन्तवादविरुद्ध अगाडि सारिएका राजनीतिक माग, नारा र मूल्यमान्यता संविधानमा संस्थागत भएका छन्। यो उपलब्धिको पक्ष हो। तर, जनताको बहुदलीय जनवाद सामन्तवादविरोधी कार्यक्रम मात्र होइन, दलाल नोकरशाही पुँजीवादविरोधी कार्यक्रम पनि हो। यो राजनीतिक कार्यक्रम मात्र पनि होइन, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको कार्यक्रमसमेत हो। यसले अगाडि सारेका आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका कार्यक्रम व्यवहारमा लागु भइसकेका छैनन्। जबजले जनवादबाट समाजवादमा पुग्न तीन चरण भएर अगाडि बढ्ने जुन मार्गचित्र प्रस्तुत गरेको छ, ती तीन चरणमा हामी लोकतान्त्रिक मार्गबाटै हिँड्ने छौं। हामीले कम्युनिस्ट पार्टी लोकतान्त्रिक प्रतिस्पर्धाबाट समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न चाहन्छ भन्ने मान्यता राखेका छौं,’ प्रस्तुत गरिएको दस्तावेजमा भनिएको छ।

प्रकाशित: ६ भाद्र २०८० ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App