५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसका थापाले भोलि मुख्यमन्त्रीमा दाबी गर्ने

सत्तारुढ गठबन्धनले बहुमत पुर्‍याएर साउन १६ गते मुख्यमन्त्रीका लागि दाबी गर्ने तयारी गरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको पक्षमा ४७ मत जुटाएर मुख्यमन्त्रीका लागि दाबी गर्ने तयारी भइरहेको नेपाली कांग्रेसका उप नेता हिमाल कार्कीले बताए । 

‘ प्रदेश प्रमुखले आह्वान गरेको समयसीमा भित्रै बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गर्छौं’ कार्कीले भने । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरेको समय सीमा साउन १६ गते बेलुका ५ बजे सकिंदैछ।

सत्तारुढ गठबन्धनले माओवादी केन्द्रबाट कोशी प्रदेशको सभामुख बनेका बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत जुटाउने तयारी गरेको स्रोतले जनाएको छ। तर, कार्कीले सभामुखलाई राजीनामा गराएर बहुमत पु¥याउने हो ? भन्ने नागरिकको प्रश्नमा ‘मिलाएर कुरा बुझ्नुस् न’ भन्ने जवाफ  दिएका छन्  । कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले गत असार २१ गते सभामुख बाबुराम गौतमसहितको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गरेका थिए । थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तर, पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार २२ गते नै सभामुखको समर्थनमा सरकार गठन गर्नु संविधान विपरीत भएको भन्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । सर्वोच्चको पूर्ण इजलासले  निवेदनमाथि सुनुवाइ गर्दै साउन ११ गते सभामुखसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु संविधान विपरीत रहेको भन्दै नियुक्ती खारेज गरेको थियो। 

सर्वोच्चले साउन ११ गते नियुक्ती खारेज गरेपछि कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले साउन ११ गते नै सरकार साउन १६ गते भित्र संविधानको धरा १६८ को उपधारा २ अनुसारको सरकार गठनका लागि दाबी गर्न आह्वान गरेका थिए। सोही अनुसार कोशी प्रदेशका सभामुखलाई राजीनामा गराएर बहुमत पुर्‍याउने सत्तारुढ गठबन्धनका नेताहरूको तयारी गरेका हुन्।कोशी प्रदेशमा सत्ता रूढ गठबन्धनमा  नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकिकृत समाजवादीका  ४ र जसपाका १ गरी ४७ मत रहेको छ।९३ जना सदस्य रहेको कोशी प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्दछ। 

यता एमाले नेतृत्वको गठबन्धनसँग एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद छन् । सत्तारुढ गठबन्धनले सभामुखलाई राजीनामा दिन लगाएको खण्डमा नेकपा एमालेले पनि उपसभामुखलाई राजीनामा दिन लगाउने चर्चा चलिरहे पनि एमालेले भने उपसभामुखलाई राजीनामा दिन लगाउने चर्चा अस्वीकार गरेको छ । नेकपा एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले गठबन्धनले सभामुखलाई राजीनामा दिन लगाए पनि उपसभामुखले राजीनामा नदिने स्पष्ट पारेका छन् । भण्डारीले भने‘सभामुखले राजीनामा दिए पनि उपसभामुखले राजीनामा दिनुहुन्न ।’ भण्डारीले  नेपालको सरकार कानुन विपरीत हिँडिरहेको आरोप लगाए। 

उनले कोशी प्रदेशमा त झन् कानुन, संविधान, लोकतान्त्रिक मर्यादा, नीति विपरीत निर्लाज्जताको पराकाष्टा प्रदर्शन भइरहेको आरोप लगाए । भण्डारीले भने‘ संविधान, कानुन ,लोकतान्त्रिक, मूल्य मान्यता विपरीत ,विधि विधान विपरीत कोशी प्रदेशमा निर्लज्जताको पराकाष्टा प्रदर्शन भइरहेको छ।’ सर्वोच्चको आदेशसमेत सरकारले पालना नगरेको भण्डारीले आरोप लगाए।सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापाको नियुक्ती संविधान विपरीत रहेको ठहर गर्दै खारेज गरिसकेपछि पनि मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई स्थापित नगरेको बताए।उनले भने‘ कहिल्यै पनि सरकार विहीन अवस्था हुनु  हुँदैन । तर, कोशी प्रदेशमा संघिय सरकारले सरकार विहीनताको अवस्था सृजना गर्‍यो ।’ संघिय सरकारले पदका लागि लोकतान्त्रिक मूल्य मान्यता र सिद्धान्तलाई तिलाञ्जली दिनु खेदजनक हर्कत भएको भण्डारीको टिप्पणी छ। 

प्रकाशित: १५ श्रावण २०८० १४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App