६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

भरतपुरमा मन्त्रिपरिषद्को बैठक बस्न आग्रह गरिने

सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रूपमा मनाउने क्रममा सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठक यहीँ बस्न आग्रह गरिने भएको छ। भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण २०२४ विशेषरूपमा मनाउँदै छ।

सोही सन्दर्भमा आज आयोजित छलफल कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले भ्रमण २०२४ लाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गरी विशेषरूपमा मनाउने बताइन। यसै क्रममा सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठक भरतपुरमा बस्न अनुरोध गर्न लागिएको उनले जानकारी दिइन।

देशकै मध्यभागमा रहेको पर्यटकीय दृष्टिले महत्पूर्ण भरतपुरलाई ‘घुमौँ भरतपुर’ नाराका साथ भ्रमण वर्ष मनाउन लागिएको छ। भ्रमण वर्षका अवसरमा विश्वभर रहेका भरतपुरवासी र विदेशीलाई आमन्त्रण गरिँदैछ। दाहालले नेपाल ट्रष्टको आँपटारीमा रहेको दियालो बङ्गला अवलोकन गर्नका लागि खुल्ला गर्न पहल भइरहेको बताइन।

भ्रमण वर्षको प्याकेज छिट्टै सार्वजनिक गरिने भन्दै उनले चितवन राष्ट्रिय निकुञ्जभित्र नियन्त्रणमा लिएर राखिएको बाघलाई पर्यटकलाई देखाउने गरी व्यवस्थापनका लागि आग्रह गरिएको बताइन। महानगरभित्र हरियाली बनाउन चार करोड बजेट छुट्याइएको छ भने टोलमा नियमित सरसफाइका लागि अभियान अघि बढाइएको उनले बताइन।

कार्यक्रममा प्रदेशसभा सदस्य कृष्ण सिलवाल, गीता गुरुङ, ज्ञानजङ्ग लामा, ठाकुर ढकालसहित राजनीतिक दलका जिल्ला नेतृत्व एवं प्रतिनिधि, कार्यालयका प्रमुख, उद्योगी, व्यापारी, गैरआवासीय नेपाली महासङ्घका प्रतिनिधिलगायतले आआफ्नो सुझाव राखेका थिए।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, पर्यटनविज्ञ विश्व सुवेदीलगायतले महानगरका तर्फबाट भ्रमण वर्षको तयारीका बारेमा जानकारी दिएका थिए।

प्रकाशित: १२ श्रावण २०८० १६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App