१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अमेरिकाबाट नेपाली फिर्ता प्रकरण : १० वर्षमा ४१३ फर्काइए

काठमाडौं- अमेरिकाले डिपोर्ट (फिर्ता) गरेका ७ नेपाली बुधबार नेपाल आइपुगे। अमेरिकाले विशेष विमान चार्टर्ड गरेर ती नेपालीलाई काठमाडौं ल्याएर अध्यागमनको जिम्मा लगाएको हो। मानव तस्करको प्रलोभनमा परी पाँच महिनाभन्दा बढी समय लगाएर अमेरिका पुगेका उनीहरूलाई ९ देखि १७ महिना अमेरिकी अध्यागमनको हिरासतमा राखेर नेपाल डिपोर्ट गरिएको थियो।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनलाई जिम्मा लगाइएका ७ नेपाली अमेरिकाबाट डिपोर्ट हुने पहिलो समूह भने होइन। बर्सेनि ठूलो संख्यामा नेपालीलाई अमेरिकाले डिपोर्ट गर्छ। तस्करहरूले नेपालीलाई अवैध तरिकाले अमेरिका पुर्‍याउने क्रमसँगै त्यहाँबाट डिपोर्ट हुने नेपालीको संख्या पनि बढेको हो।

युएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको तथ्यांक अनुसार सन् २००६ देखि २०१५ सम्म अमेरिकाले ४ सय १३ नेपालीलाई डिपोर्ट गरेको छ। यो १० वर्षको अवधिमा डिपोर्ट भएकामध्ये ९३ जना आपराधिक क्रियाकलापमा संलग्न भएको पाइएपछि र अन्य ३ सय २० जनालाई साथमा आवश्यक कागजात नभएका कारण डिपोर्ट गरिएको हो।

होमल्यान्ड सेक्युरिटीको तथ्यांक अनुसार सन् २००६ मा ३०, २००७ मा ४३, २००८ मा ४६, २००९ मा ५५ र २०१० मा ५७ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन्। यस्तै, सन् २०११ मा ५०, २०१२ मा ३८, २०१३ मा ४१, २०१४ मा ३३ र २०१५ मा २० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ।

तस्करहरूले प्रतिव्यक्ति ५० लाख रुपैयाँसम्म लिई नेपालीलाई ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका लैजाने क्रम पछिल्ला वर्षमा बढ्दो छ। तस्करहरूले नेपालीलाई काठमाडौंबाट भारत, थाइल्यान्ड, कतार, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाँटेमाला हुँदै मेसिक्कोबाट अवैध तरिकाले अमेरिका छिराउने गर्छन्। यसरी अमेरिका छिर्नेमध्ये केही डिपोर्ट हुने गरेका छन्।

तस्करको प्रलोभनमा परी ल्याटिन अमेरिकी राष्ट्र हुँदै मेक्सिकोबाट अवैध रुपमा अमेरिका छिर्ने क्रममा पछिल्लो १० वर्षमा २ हजार ४ सय ४६  नेपाली मेक्सिको–अमेरिका सीमामा पक्राउ परेका छन्। अवैध तरिकाले अमेरिका प्रवेश गर्दा पक्राउ पर्ने नेपाली आफूहरू शरणार्थी भएको बताउँछन् र सोही अनुसार त्यहाँको अदालत जान्छन्। यसरी अदालत पुग्ने कतिले शरणार्थीको हैसियत प्राप्त गर्छन त कति डिपोर्ट हुने गर्छन्।

होमल्यान्ड सेक्युरिटीको तथ्यांक अनुसार  पछिल्लो १० वर्षमा अदालती प्रक्रियामा गएर अमेरिकामा शरणार्थीको हैसियत प्राप्त गर्ने नेपालीको संख्या २ हजार ४ सय ५५ पुगेको छ। पछिल्लो १० वर्षमा अमेरिकामा अन्य प्रक्रियाबाट शरणार्थीको हैसियत प्राप्त गर्ने नेपालीको संख्या ३ हजार ८ सय २४   छ। कुल ६ हजार २ सय ७९ नेपालीले सन् २००६ देखि २०१५ सम्ममा अमेरिकामा शरणार्थीको हैसियत पाएका छन्।

प्रकाशित: २६ जेष्ठ २०७४ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App