१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

२४ घण्टा देखि पोखरा–लेखनाथ महानगरको मतगणना हुन सकेन

पोखरा–लेखनाथ महानगरापालिको मतगणना सुरु गर्न दवाव दिँदै एमाले कार्यकर्ता। तस्बिरः सन्तोष सुवेदी/नागरिक

पोखरा- गणनाका क्रममा फरक स्वस्तीक छाप सहितका मतपत्र भेटिएपछि पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना चौबिस घण्टा भन्दा बढी समयदेखि रोकिएको छ। महानगरको १७ नम्बर वडामा खसेका केही मत फर्जी रहेको भन्दै कांग्रेस र माओवादी केन्द्र लगायतका दलहरुले विरोध गरेपछि शनिबार दिउँसो चारबजेदेखि गणना रोकिएको हो।

गणना सुचारु गराउन आइतबार दिनभर पहल भएपनि सफल हुन सकेन । सर्वदलीय बैठक बसेर पनि टुंगो लगाउन नसक्दा गणनाको निश्चत हुन नसकेको हो । शनिबार बेलुकी र आइतबार बिहान सर्वदलीय बैठक बसेपनि सहमति भएर गणना सुरु हुन नसकेपछि आवश्यक निर्देशनका लागि निर्वाचन आयोगमा पठाईएको छ।

निर्वाचन अधिकारी गंगालाल सुवेदीले स्थानीयस्तरमा दलहरुबीच सहमति हुन नसकेपछि आवश्यक निर्देशनका लागि आयोगको केन्द्रमा पठाएको बताए । ‘दुईपटकसम्म सर्वदलीय बैठक भयो । तर, पनि दलहरुबीच सहमति जुट्न सकेन । त्यसपछि केन्द्रमा आवश्यक निर्देशनका लागि पठाएका छौं,’ उनले भने, ‘आयोगको निर्देशन कुरेका छौं । जुनरुपमा निर्देशन आउँछ, त्यही अनुसार अघि बढ्छ ।’ स्थानीयस्तरमा विवाद भएपनि गणना सुचारु गराउने गरि दलहरु सहमतिमा आउन नसकेको उनले बताए । उनका अनुसार गणनाको क्रममा ४ वटा मतमा फरक स्वस्तीक छाप भेटिएको छ ।

सुर्य चिन्हमा फरक रंग र स्वस्तीक छाप सहितका मतमत्र भेटिएपछि कांग्रेस लगायतका दलले आपत्ति जनाएका थिए । विवाद नसुल्झाएसम्म अरु मतपत्र पनि गणना गर्न नदिने कांग्रेसको अडान रहेको रहेको छ । विवादित वडाका १४ सय भन्दा बढी मत गणना भइसकेको अवस्थामा सुर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटिएको कांग्रेसको आरोप छ । फरक रंग र साविकको भन्दा ठूलो आकारको छाप लगाएको मतपत्र भेटिएपछि मतगणना स्थगित भएको थियो ।

कांग्रेस कास्की सभापति कृष्ण केसीले नियम कानुन भन्दा बाहिर जान नसक्ने अवस्था आएपछि सर्वदलीय सहमति जुट्न नसकेको बताए । ‘दुई किसिमको स्वस्तीक छाप प्रयोग गर्न पाउने वा नपाउने भन्ने निर्णय हामीले कानुन भन्दा बाहिर गएर गर्न सकेनौं,’ उनले भने, ‘किनकी हामीले निर्णय गर्दा त्यसको असर उम्मेदवारको हारजितमा पर्छ  । त्यही भएर आवश्यक निर्णय लिन आयोग गुहारेका हौ।’ मुख्य निर्वाचन अधिकृतले समेत पोखराको समस्या सुल्झाउन नसकेपछि निर्णयका लागि आयोगमा पठाएको उनले बताए ।

‘हामीले पनि कानुन बाहिर गएर गणना गर्ने निर्णय गर्न सकेनौं । किनकी निर्वाचन कानुनले गर्न भनेका बाहेकका अवस्थामा हामीले भिन्दै निर्णय गर्न सक्दैनौं,’ उनले भने, ‘बरु पुन मतदान गर्न हामी तयार छौ। तर, फर्जी मतको आधिकारीकता नटुंगेसम्म अघि बढाउन सकिन्न ।’ विवाद भएको ठाउँको मतगणना रोकेर अरुको गणना गर्न पनि नमिल्ने उनले बताए।

एमाले कास्कीका प्रचार विभाग प्रमुख तेजनारायण अधिकारी गणना सुरु गर्न तयार रहेपनि अरु दलले नमानेको बताउँछन् । ‘हामी कुनैपनि बेला गणनामा बस्न तयार छौं । तर, अरु दलहरुले मानेका छैनन,’ अधिकारीले भने, ‘सर्वदलीय सहमतिले पनि विवाद टुंगाउन नसकेपछि केन्द्रको निर्देशन कुरेका छौ । निर्देशन अनुसार नै अघि बढ्ने हो ।’

मुलुकको सबैभन्दा ठुलो महानगरमा अहिले एमाले र कांग्रेसका उम्मेदवारबीच प्रमुख तथा उपप्रमुखमा बढी प्रतिश्पर्धा छ । महानगरमा खसेका एकलाख २५ हजार मतमध्ये अहिलेसम्म करिब ५० हजार मत मात्र गणना भईसकेका छन् । ३३ वटा वडा रहेको महानगरमा १७ नम्बर वडाको गणना चलिरहँदा विवाद निस्केको थियो ।

शनिबार बेलुकीदेखि रोकिएको मतगणना सुरु गर्न माग गर्दै आइतबार दिउँसो मतगणनास्थल बाहिर एमाले समर्थकले नाराबाजी लगाएका छन् । ‘मतगणना जारी गर, मतगणना रोक्न पाइदैन, जनमतको सम्मान गर, हाम्रो मागलाई सम्मान गर’ भन्दै नगरविकास प्रशिक्षण केन्द्को गेटमा नारा लगाएका थिए ।

 

 

प्रकाशित: ७ जेष्ठ २०७४ ११:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App