१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोक बाह्रबिसेका उम्मेदवार भन्छन्- 'नगर समृद्ध बनाउँछौं'

आर्थिक समृद्धिसँगै शिक्षा र स्वास्थ्यमा सुधार

बालकृष्ण बस्नेत

मेयर उम्मेदवार, कांग्रेस

पुनर्निर्माण तीव्र बनाइ तत्काल नगरवासीलाई घर भिœयाउने पहिलो काम हुनेछ। नगरवासीलाई आर्थिक रूपले समृद्ध बनाउनेसँगै स्वास्थ्य, शिक्षा क्षेत्रको सुधारमा जोड दिनेछु। रोजगारी अवसर सिर्जना गर्ने कार्यक्रमसमेत सञ्चालन गर्नेछु। भोटेकोसी नदी कटान नियन्त्रण गरी बाह्रविसे बजारको संरक्षण र विकास गरिनेछ।

आर्थिक क्रान्ति गरिने

लीला पौडेल

उपमेयर उम्मेदवार, कांग्रेस

यो नगर प्राकृतिक स्रोत साधनले सम्पन्न भएकाले त्यसैलाई परिचालन गरेको समृद्ध र विकसित बनाउने योजना छ। महिलाका लागि सीपमूलक तालिम सञ्चालन गर्ने योजना छ। सबै वडाका बस्तीमा होमस्टे अभियान चलाएर पर्यटकीय गन्तव्य बनाइनेछ। आर्थिक क्रान्ति मात्रै अबको विकल्प हो। त्यही दिशामा अघि बढ्ने योजना बनाएका छौँ।

पाँच वर्षभित्र नमुना सहर

निमफुन्जो शेर्पा

मेयर उम्मेदवार, एमाले

मैले केही विकसित मुलुक भ्रमण गर्ने मौका पाएँ। भ्रमणपछि त्यहाँको विकास कसरी सम्भव भयो भनी गहिरो अध्ययन पनि गरेँ। विकासका ती मोडेल र सिकेका अनुभव आफ्नै नगरमा कार्यान्वयन गर्न उम्मेदवारी दिएको हुँ। विजयी भएको खण्डमा पाँच वर्षभित्र बाह्रविसे नगरलाई नमुना सहरको रूपमा स्थापित गर्नेछु। भ्रष्टाचार नियन्त्रण गर्ने योजना छ।

'आफ्नो गाउँ, आफैँ बनाऔँ' अभियान सञ्चालन गरी नगरका बाटोघाटो स्त्तरोन्नति गर्ने, व्यवस्थित बस्ती बसाल्ने र आवश्यक पूर्वाधार खडा गर्ने काम हुनेछ।

बेरोजगारी अन्त्य गर्ने

सुशीला पाखि्रन

उपमेयर उम्मेदवार, एमाले

नगरको विकास गर्ने  योजना छ। नगरका गाउँमा धेरै समस्या छन्। त्यस्ता समस्या निमिट्यान्न पार्ने योजना छ। दलित, महिला, असहाय, पिछडिएका समुदायको उत्थान गर्ने अजेन्डा अघि सारेका छौँ। उनीहरू शिक्षाको पहुँचबाट टाढा छन्। उनीहरूका बालबालिकाको शिक्षाको लागि निःशुल्क पठनपाठनको व्यवस्था गर्दै विद्यालयको शिक्षाको गुणस्तर सुधारिनेछ। बेरोजगारी समस्या अन्त्य गर्ने र प्राकृतिक स्रोत साधनबाट लाभ उठाउने कार्यक्रम मेरो कार्यकालमा सञ्चालन हुने छन्।

सबै वडामा सडक कालोपत्रे

बुद्धराज बस्नेत

मेयर उम्मेदवार, माओवादी केन्द्र (गठबन्धन)

नगर समृद्ध बनाउने खाका बनाएका छौँ। अब विकास गर्ने समय आएको छ। हामीले जितेको खण्डमा आगामी पाँच वर्षभित्र कसरी नगर समृद्ध बनाउने भन्ने योजना छ। नगरका ९ वटा वडाका सडक कालोपत्रे गर्ने, प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गर्ने, १२ कक्षासम्मको शिक्षा निःशुल्क बनाउने, कृषिलाई आधुनिकीकरण गर्न कोल्ड स्टोर निर्माण गर्नेलगायत काम गरिनेछ।

पूर्वाधार निर्माणमा जोड

माधव पौडेल

उपमेयर उम्मेदवार, राप्रपा (गठबन्धन)

नगरवासीको जनजिवीकाकालाई सरल बनाउँदै नगर विकास गर्ने योजना बनाएको छु। पूर्वाधार निर्माणमा विशेष जोड दिइनेछ। बाह्रविसेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्त्तरोन्नति गरी विज्ञसहितको स्वास्थ्य सेवा प्रवाह गर्दै त्यहाँ जनताको पहुँच स्थापित गर्न जोड दिइनेछ। जनताको जीवनस्तर माथि उठाउन कृषिलाई आधुनिकीकरण गर्ने योजना छ।

प्रकाशित: २८ वैशाख २०७४ ०७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App