१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

म्यादी प्रहरीले गाउँलेलाई कुटे

प्यूठान- मदिरा सेवन गरी लठ्ठिएका म्यादी प्रहरीले गाउँलेहरुलाई कुटपिट गरेका छन्। गौमुखी गाउँपालिकास्थित खुङमा रातीको समयमा सुतीरहेका स्थानीयलाई उनीहरुले कुटपिट गरेका हुन्। शनिबार राति भएको घटना भने प्रहरीले बाहिर ल्याएको छैन।

मदिरा सेवन गरी स्थानीयलाई कुटपिट गर्नेहरु शिशिर मल्ल, किशोर मल्ल, राजेन्द्र केसी, रमेश मल्ल र शरद मल्ल हुन्। यी मध्ये किशोर र शरद स्थानीय तह निर्वाचनका लागि भर्ना भई तालिमका लागि गाउँ गएका म्यादी प्रहरी हुन्।

उनीहरुले गौमुखी गा.पा. ५ नं वडा निवासी पुना केसी, लोक बहादुर थापा र अस्मिता थापालाई कुटपिट गरेका हुन्। पुनाको घरमा झगडा गरीरहेका बेला छुट्टाउन भनी गएका थापाका श्रीमान श्रीमतीलाई पनि २ जना म्यादीसहित अन्य ३ जनाले घरमै कुटपिट गरेका हुन्।

उनीहरुलाई निर्घात कुटपिटमा संलग्न युवाहरुले नजिकै पार्किङ गरी राखेको लु१ज २०२४ नं. को सवारी जीपमा समेत तोडफोड गरेका छन्। बाटोमा फालेका बियरका बोतल र ढुङ्गा प्रहार गरी उनीहरुले गाडीको सिसा, लुकिङ ग्लास लगायतमा तोडफोड गरी क्षति पुर्‍याएको गाडी धनी लक्ष्मण गिरीले बताए।

घटनामा म्यादी प्रहरी संलग्न रहेको थाहा भएपछि प्रहरीले सो घटना बाहिर ल्याउन चाहेको छैन। अनुसन्धानका लागि जिल्ला प्रहरीमा ल्याएका उनीहरुको नाम र वास्तविकताबारे सोधपुछ गर्न खोज्दा इन्पेक्टर नृपबहादुर बोहोराले सञ्चारमाध्यमलाई खबर र सूचना दिन मानेनन्। प्रहरीको कन्ट्रोल नं. १०० मा समेत सोधपुछ गर्न खोज्दा सूचना दिन आनाकानी गरेका छन्।

सोमबार दिउँसो जिल्ला प्रहरीमा पीडित पक्षहरु उजुरी दिन आएपश्चात मात्र यो घटना बाहिर आएको हो। अहिले प्रहरीले पीडित र पीडक पक्ष दुबैलाई राखेर छलफल गराएपनि खास वास्तविकताबारे जानकारी दिएका छैनन्। इलाका प्रहरी कार्यालय लिवासेमा पीडितहरुले उजुरी दिए पनि उचित क्षतिपूर्ति नपाएपछि पीडितहरु जिल्ला प्रहरीमा आएका छन्।

प्रहरीले राजनीतिक दलको सपोर्टमा पीडितहरुको भन्दा पीडकहरुको समर्थन गरेको भन्दै आफूहरुले प्रहरीबाट सहयोग नपाएको गुनासो गरेका छन्। स्थानीयलाई कुटपिट र गाडीमा तोडफोड गर्ने म्यादीसहितका युवाहरुलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ।

प्रकाशित: २५ वैशाख २०७४ ११:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App