४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दलहरूको चुनावी गतिविधि सुस्त

इलाम – वैशाख ३१ का लागि तोकिएको स्थानीय तह निर्वाचनका लागि तीव्र गतिमा तयारी गरिरहेका जिल्लाका राजनीतिक दलको चुनावी गतिविधि निर्वाचन मिति पछि धकेलिएपछि सुस्त देखिएको छ । उम्मेद्वारको सूची अन्तिम चरणमा पुर्याउने बेला निर्वाचन नै १ महिनापछिलाई सरेपछि दलहरूको गतिमा ‘ब्रेक’ लागेको हो ।

चुनावका लागि सबैभन्दा छिटो उम्मेद्वारको नाम अन्तिम चरणमा पुर्याएको जिल्लास्थित नेकपा एमाले चुनावको मिति सरेपछि ‘आन्तरिक तयारी’मा व्यस्त छ । एमालेले वैशाख ३१ मै जसरी भएपनि चुनाव हुनुपर्ने अडान राखेको थियो र इलाम नगरपालिकाको प्रमुख, देउमाई नगरपालिकाका प्रमुख–उपप्रमुख, सन्दकपुर र माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षका उम्मेद्वारको नाम टुंगो लगाइसकेको थियो । एमालेले जिल्लाका ८१ वडामध्ये ५७ वडाध्यक्ष र केही वडाका सदस्यको नामसमेत टुंग्याएको थियो । 

‘चुनावको तयारी जति तीव्र थियो, मिति सरेपछि केही स्लो मोसनमा आएकै हो,’ एमाले जिल्ला सचिवालय सदस्य तथा प्रचार सचिव नवराज शंकरले भने, ‘पार्टीको गतिविधि सुस्ताएको छैन्, आन्तरिक काम भइरहेकै छ ।’ उनले सोमबारसम्ममा एमालेले जिल्लाका सबै वडाध्यक्षसहित सदस्यको समेत नाम टुंग्याउने बताए । ‘सोमबार साँझसम्ममा जिल्ला कमिटीले टुंग्याउनुपर्ने वडा तहका उम्मेदवारको नाम बाहिर ल्याउने तयारीमा छौं,’ उनले भने । एमालेले अहिले गाउँ–गाउँमा भेला, प्रशिक्षणलगायत गतिविधि गरिरहेको पनि उनले बताए । 

चुनावमा उठाउनुपर्ने उम्मेदवारको नाममा टुंगो लगाउन ‘घनीभूत’ छलफलमा जुटेको नेपाली कांग्रेसले पनि चुनावको मिति सरेपछि गतिविधि घटाएको छ । चुनावअघि उसले पटक–पटक कार्यकर्ता भेटघाट, छलफल, जिल्ला समिति बैठक आयोजना गरिरहेपनि अहिले उसको गतिविधि त्यति तीव्र देखिँदैन । कांग्रेस जिल्ला सचिव निरोज खड्गीले पार्टीले चुनावका लागि आन्तरिक रूपमा सक्रिय ढंगले काम गरिरहेको बताए । 

‘उम्मेदवारको नाममा पनि छलफल भइरहेकै छ । तर, पहिलो चरणको चुनावपछि मात्रै उम्मेदवारको नाम सार्वजनिक गर्न माथिबाटै सर्कुलर छ,’ उनले भने, ‘दलभित्र चुनावी तयारी भइरहेपनि बाहिर नदेखिएको मात्रै हो, कांग्रेसको गतिविधि सुस्त भएको होइन ।’ उनले २–३ दिनपछि जिल्लाको बैठक बसेर वडाका उम्मेद्वारको नामलाई अन्तिम रूप दिने तर वैशाख ३१ पछि मात्रै सार्वजनिक गर्ने बताए । 

निर्वाचन मिति सरेपछि विभिन्न दलसँग तालमेलको मेलो मिलाउने मौका पाएको नेकपा माओवादी केन्द्रले भने जिल्लामा आफूसँग तालमेल गर्ने सम्भावित दलसँग छलफल गरिरहेको छ । केन्द्रस्तरदेखि जसरी अन्य दलसँग तालमेल भइरहेको छ, यहाँ पनि त्यहीअनुसारको तयारी भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका जिल्ला इन्चार्ज धिरेन शर्मा रमणले केही स्थानमा केन्द्र आफैंले जित्ने र केहीमा अन्य दलसँग तालमेल गर्ने तयारी भइरहेको बताए । ‘हामी आफूले मात्रै नजित्ने ठाउँहरूमा अन्य दलहरूसँग तालमेल गर्नेबारे छलफलसमेत भइरहेको छ,’ उनले भने, ‘जोसँग उचित सहकार्य हुन्छ, उसैसँग तालमेल गर्छाैं ।’ 

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनावी तयारी गरिरहेको जनाएको छ । आउँदो चुनावका लागि उम्मेदवार चयन र अन्य दलसँग तालमेलका लागि छलफल गरिरहेको राप्रपाले जनाएको छ । ‘केही नगर र गाउँपालिकाका उम्मेदवारको नाम टुंग्याएका छौं, केहीमा छलफल चलिरहेको छ,’ राप्रपा जिल्ला अध्यक्ष हरि श्रेष्ठले भने, ‘विभिन्न स्थानमा तालमेलका लागि दलहरूसँग छलफल पनि हुँदैछ ।’

प्रदेश १, २, ५ र ७ मा आउँदो जेठ ३१ लाई निर्वाचनको मिति तोकिएको छ । जिल्लाका सबै दल र तिनका भ्रातृ–भगिनी संघ–संगठनले वैशाख ३१ मै चुनाव गराउनुपर्ने अडान राखेका थिए । चुनावको मिति सरेपनि स्थानीय राजनीतिक दलहरूले भित्रभित्रै चुनावी तयारी भने गरिरहेका छन् । 

जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, खम्बुवान राष्ट्रिय मोर्चा र नेकपा मालेलगायतका दलले निर्वाचन कार्यालयमा आफ्नो विवरण अध्यावधिक गराएका छन् । स्थानीय तह निर्वाचनमा जिल्लाका ४ सय २५ उम्मेदवार निर्वाचित हुनेछन् । ४ नपामा अल्पसंख्यक तथा सीमान्तकृत समुदायबाट ३–३ तथा ६ गाउँपालिकाबाट २–२ जना मनोनित हुँदा जिल्लामा जम्मा जनप्रतिनिधिको संख्या ४ सय ४९ हुने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित: २४ वैशाख २०७४ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App