६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओलीलाई समाजवादी मोर्चादेखि नतर्सिन उपेन्द्र यादवको आग्रह

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीलाई समाजवादी मोर्चादेखि नतर्सिन आग्रह गरेका छन्।

ओलीप्रति संकेत गर्दै उनले केही दिनदेखि मिडियामा बरबराउन थालेको भन्दै मोर्चासँग तर्सिन नपर्ने बताएका हुन्।  

सोमबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मोर्चा कसैका विरुद्ध लक्षित नरहेको पटकपटक दोहो¥याए। परिवर्तनका मुद्दालाई अगाडि बढाउने, राष्ट्र निर्माणलाई अगाडि बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्दै अगाडि बढनका लागि मोर्चा गठन गरिएको उनको तर्क थियो।

अध्यक्ष यादवले प्रतिगमनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उभिनेहरुका विरुद्धमा भने मोर्चाले संघर्ष गर्ने चेतावनी समेत दिए। उनले समानता, सामाजिक न्याय र समतामा आधारित एउटा समाजवादी समाजको निर्माण गर्ने दिशातर्फ अगाडि बढनका लागि नै मोर्चा गठन गरिएको र त्यसमा सफलता हात पार्ने दावी समेत गरे।  

अध्यक्ष यादवले भने, ‘राजनीतिक अस्थिरता र अन्यौलतालाई अन्त्य गरी मुलुकलाई सुशासन, विकास र समृद्धिको बाटो हुँदै जातीय, वर्गीय, लैगिक, क्षेत्रीय आदिको आधारमा भईरहेका विभेद र असमानतालाई अन्त्य गर्दै एउटा समानता, सामाजिक न्याय र समतामा आधारित एउटा समाजवादी समाजको निर्माण गर्ने दिशातर्फ अगाडि बढनका लागि नै यो मोर्चा गठन भएको हो। हामीले मुलुकमा राजनीतिक लोकतन्त्रको साथसाथै यो लोकतन्त्रलाई समावेशी लोकतन्त्रमा रुपान्तरण गर्दै लोकतन्त्र वास्तवमा सामाजिक पनि हुुनुपर्छ। आर्थिक पनि हुनु पर्दछ। र, सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक प्रणालीलाई विकसित गर्दै समाजको ध्येय प्राप्त गर्ने उद्देश्यको लागि अगाढि बढनका लागि यो मोर्चाको गठन गरिएको हो। र, यसै दिशामा अव हामी चार दल मिलेर यी साझा कुराहरुमा हामी अगाडि बढने। सबै दलका आ–आफ्ना विचार, दृष्टिकोणहरु छन। ती दृष्टिकोणहर आ–आफ्ना रहिरहन्छन। तर, साझा मुद्दालाई लिएर अगाडि बढने यो प्रतिवद्धताका साथ निर्माण भएको मोर्चाले भविष्यमा सफलता पाउने कुरामा ढुक्क पार्न, निश्चित हुन हामीले भूमिका खेल्नु पर्दछ। हुन त यहाँ मोर्चा, गठबन्धन बन्दै, भत्किदै गएकाले मान्छेलाई अलिकति क्या हो, कसो हो? भन्ने लागेको पनि हुन सक्दछ। त्यो आशंका हुन पनि सक्छ। त्यसलाई हामीले व्यवहारबाट गलत सावित गर्दै यो मोर्चा निश्चित उद्देश्यका लागि  निर्माण गरिएको मोर्चा हो। र, यसलाई सबैले सहयोग गर्नु हुनेछ। र, यसले आफ्नो लक्ष्यतर्फ अगाडि बढने कुरामा मत ढुक्क छु। हाम्रो प्रयास रहनेछ। र, यो गठबन्धनले, मोर्चाले गर्दा कसैलाई तर्सिनुपर्ने जरुरी छैन। हामी परिवर्तनका मुद्दालाई अगाडि बढाउने, राष्ट्र निर्माणलाई अगाडि बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्दै अगाढि बढन चाहन्छौं। यो कसैको विरुद्धमा लक्षित छैन। त्यसकारणले कोही नतर्सिए हुन्छ। धेरै मान्छेहरु अहिलेनै केही साथीहरु यसो घोषणा हुनु भन्दा अगाडि नै बरबराउन थाल्नु भएको थियो। मिडियाहरु बरबराएको पढन, सुन्न पाईयो। त्यस्तो नबर्बराउँदा हुन्छ। हामी देशको जनताको हितका लागि, मुलुकको अग्रगामी परिवर्तनका लागि सहकार्य, परस्पर सहयोगको आधारमा अगाडि बढछौं। तर, प्रतिगमनकारी शक्तिहरु, जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई, विगतका आन्दोलनका संघर्ष र बलिदानलाई समाप्त पार्ने खेल खेलेका छन। निश्चित रुपमा तिनको विरुद्धमा यो मोर्चा उभिनेछ। आवश्यक परे संघर्ष पनि गर्नेछ।’

प्रकाशित: ४ असार २०८० १२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App