६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसले तालमेल नगर्ने निर्णय गर्नुपर्छ: महामन्त्री थापा

नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाले कांग्रेसले अब कुनै पार्टीसँग तालमेल गर्दैन र सत्ता तथा सरकारका लागि विचारसँग सम्झौता गर्दैन भन्ने निर्णय गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ र २ को प्रदेशसभा ‘ख’ को संयुक्त आयोजनामा सोमबार हेटौंडा १९ मा भएको क्षेत्रीय सम्मेलनमा उनले भदौमा गर्ने नीति अधिवेशनबाट कुनै पनि पार्टीसँग तालमेल गर्दैन भन्ने निर्णय गर्नुपर्नेमा जोड दिएका हुन्।

‘सरकार र सत्ताका लागि कांग्रेस जोसँग पनि गठबन्धन गर्छ भन्ने गलत छवि बनेको छ’, थापाले भने, ‘अब हामी जस्तोसुकै समस्या आएपनि कसैसँग तालमेल र गठबन्धन गर्दैनौँ भन्ने निर्णय गर्नु जरुरी छ।’ 

कांग्रेस बदलिन आवश्यक रहेको औँल्याउँदै उनले बदलेको कांग्रेसले मात्र देश बदल्न सक्ने दाबी गरे।

‘नेपालमा केही भएकै छैन, केही हुनेवाला छैन भन्ने सोचाईले जनताले आत्मविश्वास गुमाइरहेका छन्। नेपाली नागरिक अत्तालिएका छन्, निराश भएका छन्’, उनले थपे, ‘किन निराशा छाएको छ भन्ने प्रश्नको उत्तर खोज्नु आवश्यक छ। कांग्रेस फेरि जनतामाझ जानु आवश्यक छ।’

अब आरोप-प्रत्यारोपलाई छोडेर कांग्रेसलाई कसरी राम्रो बनाउने भन्ने विषयमा सुविचारिक बहस जरुरी रहेको उनको भनाई थियो। पार्टीमा अब अनलाइनबाटै सदस्यता लिने र नवीकरण गर्ने अवस्था निर्माण गरिने उनले जानकारी दिए। आफूले पाएको जिम्मेवारीमा राम्रोसँग काम गर्न सकेन भने जनताले हराइदिने भन्दै उनले कांग्रेसबाट जितेका जनप्रतिनिधिका कारण अर्को पटक कांग्रेसका उम्मेदवारले हार्ने अवस्था आउन नहुने बताए।

नेताकोमा धाएर टिकट पाउने अवस्थाको अन्त्य गर्दै टिकटका लागि जनता र कार्यकर्ताको माझ जाने अवस्था बनाउनुपर्ने महामन्त्री थापाको सुझाव थियो।

भातृ तथा शुभेच्छुक संगठनलाई चुस्त दुरुस्त र चलायमान बनाउनुपर्ने भन्दै उनले सभापतिलाई पटक-पटक भन्दा पनि पार्टीको बैठक नराखेको आरोप लगाए।

‘कांग्रेस मुलुकको समस्याको समाधान बने मात्र नागरिकले भरोसा गर्ने अवस्था आउनेछ’, उनले भने, ‘सुशासन र जवाफदेहितालाई ध्यान दिँदै जनतामाझ पुगेर काम गर्नु जरुरी छ।’

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले पार्टीलाई थप सुदृढ गर्दै अघि बढ्नुपर्ने धारणा राखे। निराशमा रहेका जनताको गुनासोलाई सम्बोधन गर्नुपर्ने उनको भनाई रहेको थियो।

कांग्रेसभित्रको घात र अन्तरघातको राजनीतिलाई हटाउन विधान संशोधन गर्नु जरुरी रहेको बानियाँले बताए।

प्रकाशित: २९ जेष्ठ २०८० १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App