१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महिला आकांक्षी भन्छन्- 'कम खर्चमा चुनाव लड्छौं'

काठमाडौं- स्थानीय तहको निर्वाचनमा मेयर–उपमेयरका महिला आकांक्षीले कम खर्चमा चुनाव लड्ने बताएका छन्। उपमहानगरपालिका र नगरपालिकाका मेयर र उपमेयरमा आकांक्षी महिला उम्मेदवारले पुरुषले भन्दा कम खर्च गरेर चुनाव जित्ने दाबी गरेका हुन्।

माओवादी केन्द्रका तर्फबाट वीरेन्द्रनगर नगरपालिकामा उपमेयरकी दाबेदार हरिमाया शर्मा चुनावमा धेरै खर्च गर्ने प्रवृत्तिको विरोध गर्छिन्। 'चुनावलाई धेरै खर्च गर्ने माध्यमका रूपमा लिनु हुँदैन। आफ्ना योजना, राजनीतिक लक्ष्यलाई जनतामाझ पुर्‍याउने हो', शर्मा भन्छिन्, 'धेरै खर्च गरेर चुनाव जित्ने निश्चित हुँदैन। चुनाव आर्थिक लगानी गर्ने ठाउँ होइन, जनतालाई एजेन्डा बुझाउने हो। न्यूनतम खर्चबाट चुनाव लड्ने हो।'

निर्वाचनमा सामान्यतया खर्च गरेर अघि बढ्ने उनको योजना छ। उनी भन्छिन्, 'खर्चकै कारणले चुनावमा पछि हट्नु हुँदैन।' महिलालाई राजनीतिक, आर्थिक, पारिवारिक, सामाजिक पक्षबाट पछाडि पारिएकाले आर्थिक रूपमा कमजोर भएको उनको तर्क छ। उनी भन्छिन्, 'सहायक कारणको रूपमा आर्थिक पक्षलाई लिनुपर्छ। न्यूनतम प्रचारप्रसार गरेर चुनाव लड्छु।'

एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले आफूलाई हेटौंडा नगरको मेयरको दाबेदारका रूपमा प्रस्तुत गरेकी छन्। 'नदेखिने खर्चमा महिला कम सहभागी हुन्छन्', २५ वर्षदेखि राजनीतिमा सक्रिय सिग्देल भन्छिन्, 'जस्तै बिहान बेलुकाको बसाइ, खानपिनमा पुरुषले बढी खर्च गर्छन्। त्यसमा महिला कम सहभागी हुन्छन्, खर्च कम गर्न सक्छौं।'

चुनाव लड्न सक्षम महिलालाई पनि पैसा खर्च हुन्छ भन्दै घर परिवारले रोकेको सिग्देलले बताइन्। 'परिवारबाट कम सहयोग भएपनि महिला उठ्नुपर्ने आर्थिक कारणले रोकिएको पनि छ', उनले भनिन्, 'उत्साह पनि छ, व्यवस्थापन गर्ने जिम्मेवारी पार्टीमा हुन्छ।'

भगवती शाही कांग्रेसतर्फबाट ललितपुर महानगरपालिकाकी उपमेयरमा आकांक्षी हुन्। 'आर्थिक कुरामा महिला पछाडि छन्। चुनाव भन्नासाथ पैसाको कुरा आउँछ। खर्च गर्नुपर्छ', शाही भन्छिन्, 'पुरुषले भन्दा महिलाले खर्चमा नियन्त्रण गर्छन्।' आय स्रोतमा महिलाको पहुँच कम भएकाले जथाभाबी खर्च नगर्ने उनको विश्वास छ। उनले भनिन्, 'चुनावमा पैसाको चलखेल गर्नु हुँदैन। अनावश्यक खर्च नगरी चुनाव लड्नेछु।' २०४६ सालदेखि राजनीतिमा सक्रिय उनी नेपाल महिला संघ ललितपुरकी जिल्ला उपाध्यक्ष हुन्।

मकवानपुरकी एमाले जिल्ला उपसचिव मीना लामाले आफूलाई उपमेयरमा दाबेदार भएको बताएकी छन्। 'हेटौंडा उपमहानगरपालिका उपमेयरमा निश्चित दाबेदार भनेर लागिपरेकी छु। थोरैभन्दा थोरै खर्च गरेर चुनाव लड्ने हो।' चुनावमा लाग्ने खर्च संगठनले उपलब्ध गराउने उनको दाबी छ। उनले भनिन्, 'संगठन बलियो छ, चुनावका लागि संगठनले खर्च गर्ने विश्वास छ।' 

चुनावमा कसरी आर्थिक उपयोग गर्ने भन्ने उनी बताउँछिन्। उनका अनुसार भड्किलो प्रचारप्रसार गरेर महिलालाई पैसा नभएर हार्छु भन्ने मानसिकता बनाइदिएका छन्।

मतदाता संरक्षण र स्वयंसेवक परिचालन भने उम्मेदवार आफैंले गर्नुपर्ने उनले बताइन्। 'जसरी पुरुष उम्मेदवारले योजना बनाउँछन्, हामी पनि त्यसैगरी बनाउँछौं।'

चुनावमा धेरै खर्च गरेर युवाको बानी बिगारिसकेको उनको स्वीकारोक्ति छ। तर पनि कम खर्चमै चुनाव लड्ने उनको दाबी छ। उनले भनिन्, 'धेरै खर्च गर्दैमा भोट आउँछ भन्ने छैन।'

माओवादी केन्द्रकी सचिवालय सदस्य अमृता थापाले महिलालाई आर्थिक कुरा पनि चुनावका लागि केही बाधक रहेको बताउँछिन्। उनी भन्छिन्, 'पुरुषलाई मानिसले पैसा पत्याउँछन्। एकाध महिलाबाहेक अरूलाई साहुले पत्याउने अवस्था छैन। पुरुषले जग्गा बेचेर पनि तिर्छु भन्दा साहुले पत्याउँछन्। महिलाका लागि त्यो समस्या छ।' चुनावमा महिला मितव्ययी हुनेमा उनी पनि विश्वस्त छिन्।

निर्वाचन आयोगले महानगरपालिकाका प्रमुख–उपप्रमुखका उम्मेदवारले सात लाख ५० हजारसम्म खर्च गर्न पाउने हद तोकिदिएको छ। त्यसैगरी उपमहानगरपालिकाका प्रमुख, उपप्रमुखले पाँच लाख ५० हजार खर्च गर्न पाउनेछन्। नगरपालिकाका प्रमुख–उपप्रमुखले चार लाख ५० हजार, गाउँपालिकाका प्रमुख, उपप्रमुखले तीन लाख ५० हजार रुपियाँ खर्च गर्नसक्ने आयोगले तोकिदिएको छ।

प्रकाशित: २७ चैत्र २०७३ ०२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App