१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गैरआवासीय नेपाली नेपालको पुँजी : परराष्ट्रमन्त्री महत

काठमाडौं – परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गैरआवासीय नेपाली नेपालको विकास र समृद्धिका लागि ठूलो पुँजी हुन् भनेका छन् । 

मलेसियाको राजधानी क्लालालम्पुरमा आयोजित गैरआवासीय सङ्घ नेपालको एसिया प्रशान्त क्षेत्रको पाँचौँ बैठकलाई आइतबार सम्बोधन गर्दै मन्त्री डा महतले भने, “गैरआवासीय नेपालीले विश्वका विभिन्न देशमा रहेर आर्जन गरेको सीप, प्रविधि र पुँजी नेपालको विकास र समृद्धिका लागि ठूलो सम्पत्ति हो ।” 

मन्त्री डा महतले विगतमा राजनीतिक अस्थिरता, द्वन्द्व एवम् अन्य कारणले लाखौँ नेपाली बिदेसिन बाध्य हुनु परेको स्मरण गर्दै उनीहरुले अन्य देशमा गएर आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई अब नेपालको उन्नति र समृद्धिमा लगाउने बेला आएको बताए । उनले विश्वमा रहेका सबै गैरआवासीय नेपालीलाई सम्बोधन गर्दै भने, “तपाईंहरुले अहिले संसारका कुनै पनि देशमा पुगेर आर्जन गर्नुभएको विशिष्ट पहिचानका लागि आफ्नो मातृभूमिको योगदान कति छ भनेर मनन गर्नुहोस् र अब जन्मभूमिको उन्नतिका लागि केही गर्नुपर्छ भनेर लाग्नोस् ।” 

नेपालमा अर्को महिना स्थानीय निर्वाचन हुन लागेको र यसमार्फत संविधानको कार्यान्वयनका साथै नागरिकको स्थानीय सरकारका रुपमा रहेका स्थानीय संरचनामा जनप्रतिनिधिको चयनसँगै देशको विकासको जग गाउँबाट सुरु हुन लागेको उनले बताए । नयाँ संविधानको कार्यान्वयनसँगै नेपाल पुनःसंरचित रुपमा स्थिरता र विकासको मार्गमा अघि बढ्न लागेको र विभिन्न क्षेत्रमा लगानीको राम्रो अवसर रहेकाले संसारका सबै गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न पनि उनले आग्रह गरे । 

मन्त्री डा महतले भने – “नेपालले यतिखेर विकास र समृद्धिको मार्ग तय गर्दैछ । विगतको जस्तो लगानीको वातावरण नरहेको भन्ने अवस्था अब देशमा छैन । त्यसैले म सबै गैरआवासीय नेपालीलाई नेपालको जलविद्युत्, सेवा क्षेत्र लगायतका क्षेत्रमा लगानीका लागि आग्रह गर्दछु ।” उनले देशको आर्थिक तथा विश्वमा नै पुँजी तथा प्रविधिको विकास र आदानप्रदान गर्न सकिने एक प्रभावकारी मञ्चका रुपमा गैरआवासीय सङ्घलाई लिएकाले यस अभियानको सहयोग र प्रवद्र्धनमा सघाउँदै आएको धारणा पनि राखे । 

खाडी देशमा ठूलो सङ्ख्यामा रहेको नेपाली जनशक्तिको श्रमको सम्मान होस् र उनीहरुको हकअधिकार र सुविधाको संरक्षण र प्रवद्र्धन होस् भनी नेपाल सरकारले सक्दो प्रयास गरिरहेको जानकारी पनि उनले दिए । 

उक्त बैठकमा गैरआवासीय नेपाली सङ्घको एसिया प्रशान्त क्षेत्रीय देश, युरोप र अन्य देशका अगुवाका साथै नेपालका उद्योगी–व्यवसायीको पनि सहभागिता रहेको छ । सो बैठकमा मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमान सिंह बस्नेत, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घले, पूर्वअध्यक्षहरु जिवा लामिछाने र उपेन्द्र महतोलगायतले सम्बोधन गरे । 

सो बैठकका लागि मन्त्री डा महत शनिबार मलेसिया गएका हुन्। उनी आइतबार साँझ स्वदेश फर्किंदैछन् । रासस 

प्रकाशित: ६ चैत्र २०७३ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App