६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारमा थपिए कांग्रेसका तीन नेता

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दाहाल नेतृत्वको सरकारमा सहभागी गराउने विषयमा गठबन्धनका दलहरूबीच छलफल जारी रहेका बेला बुधबार कांग्रेसका तीन नेतालाई मन्त्रिपरिषद्मा सहभागी गराइएको हो।  

सरकारमा थपिनेमा कांग्रेस उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य मोहन बस्नेत र नेता डिगबहादुर लिम्बू छन्। स्याङ्जा र मोरङबाट निर्वाचित गुरुङ र लिम्बू संस्थापन इतरका नेता हुने भने सिन्धुपाल्चोकबाट निर्वाचित बस्नेत संस्थापननिकट हुन्। गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बूलाई खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ। थपिएका तीन मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएर जिम्मेवारी सम्हाल्नेछन्।  

कांग्रेसबाट तीन नेता थपिएसँगै दाहाल नेतृत्वको सरकार २२ सदस्यीय बन्न पुगेको छ। नवौंपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि सरकारलाई पूर्णता दिन प्रधानमन्त्री दाहाल असफल भएका छन्।

यसअघि कांग्रेसको संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्काले उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, एनपी साउदले परराष्ट्र, रमेश रिजालले उद्योग र सीता गुरुङले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। कांग्रेसका संस्थापन इतरले आफ्नो समूहलाई दुई मन्त्री मात्र बाँकी राखेको भन्दै सरकारमा सहभागिताका लागि अस्वीकार गर्दै आएको थियो। वैशाख पहिलो साता प्रधानमन्त्री दाहालले कांग्रेसभित्रको सन्तुलन मिलाउन भन्दै संस्थापन इतरलाई एक मन्त्री र एक राज्यमन्त्री थप गर्ने समझदारी गरेका थिए। तीमध्येबाट राष्ट्रपति रामचन्द्र पौडेलनिकट नेतालाई पनि समेट्नुपर्ने प्रस्ताव गरेका थिए। त्यसलाई इतर पक्षले सहमति जनाउँदै उपनिर्वाचनपछि सरकारमा सहभागी हुने नेताको नाम दिने प्रधानमन्त्रीलाई आश्वासन दिएका थिए।

इतर पक्षहरूको भेलामा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले सोही कुराको जानकारी गराएका थिए। तर बुधबार मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट तीन मन्त्री मात्र थपिएका छन्। बाँकी एक मन्त्री र एक राज्यमन्त्री कांग्रेसले पाउने वा नपाउने निश्चित छैन। दाहालको आश्वासनअनुसार कांग्रेसले एक मन्त्री र एक राज्यमन्त्री पाए दुवैमा इतर पक्षका नेता सहभागी हुनेछन्। तीमध्ये राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट एकजना मन्त्री हुनेछन् भने इतर पक्षबाट राज्यमन्त्री थपिनेछन्।  

रास्वपा सरकारमा सहभागी हुने अवस्थामा मन्त्रालयको जिम्मेवारी हेरफेर गर्न सकिने प्रधानमन्त्री दाहालको तयारी छ। जनता समाजवादी पार्टी (जसपा) लाई दिने भनिएको एकसहित अझै दुई मन्त्रालय प्रधानमन्त्री दाहालको जिम्मेवारीमा छ। कांग्रेसबाट तीन नेता थपिएसँगै दाहाल नेतृत्वको सरकार २२ सदस्यीय बन्न पुगेको छ। नवौंपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि सरकारलाई पूर्णता दिन असफल प्रधानमन्त्री दाहालले संवैधानिक व्यवस्थाअनुसार वन र खानेपानी दुई मन्त्रालयसहित अब तीन नेतालाई सरकारमा सहभागी गराउन सक्नेछन्।

प्रधानमन्त्री दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गर्नुअघि बालुवाटारमा सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसेको थियो। बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने, रास्वपालाई सरकारमा सहभागी गराउने, आगामी आर्थिक वर्षको बजेटका लागि सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका लागि विभिन्न सुझाव दिनेलगायत विषयमा छलफल भएको थियो।

प्रकाशित: २१ वैशाख २०८० ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App