१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

म्याद लिन सीके राउतलाई अदालत लगिँदै, लहानको सुरक्षा बढाइयो

फाइल तस्बिर

लहान- 'मधेसलाई छुट्टै राष्ट्र बनाउने' अभियान चलाउँदै आएका चन्द्रकान्त राउत (सिके)लाई लहान प्रहरीले आज म्याद थपका लागि जिल्ला अदालत सिरहा लाने भएको छ। इलाका प्रहरी कार्यालय लहानमा राउतविरुद्ध ‘राज्यविरुद्धको संगठित अपराध’ मुद्दा दर्ता छ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख(डिएसपी) राजकुमार केसीका अनुसार राउतविरुद्ध राज्य बिप्लव होइन राज्यविरुद्ध संगठित अपराध मुद्दा यस कार्यालयमा दर्ता छ। ‘संगठन/मोर्चा बनाएर कानुनविपरित कार्य गरेकाले उक्त अभियोगमा कारबाही चलाइएको हो,’ उनले भने, 'आज अदालतमा म्याद थपका लागि लग्दैछौं। अदालतबाट म्याद पाएपछि उनीविरुद्ध अन्य प्रमाण पनि जुटाउँछौं।’

लहानमा माघ ५ गते संगठितरुपमा कानुनविपरित देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै लहान प्रहरीले राउतविरुद्ध राज्यविरुद्ध संगठित अपराध मुद्दा दर्ता गरेको हो। ‘जिल्ला अदालतबाट सात दिन म्याद लिएर संगठित अपराध निवारण ऐन २०७० अनुसार कारबाही प्रक्रिया अघि बढाउँछौं,' केसीले नागरिकन्युजसँग भने।

'नेपालबाट मधेसलाई अलग गर्नुपर्छ' भन्ने गतिविधि गरेको आरोपमा ०७१ भदौको दोस्रोसाता पक्राउ परेका राउतलाई राज्यविप्लवको मुद्दामा कारबाही चलाइएको थियो। उक्त मुद्दामा राउत सफाइ पाएका थिए। राउतलाई बिहीबार दिउँसो जनकपुर-४ स्थित डेराबाट धुनषा प्रहरीले पक्राउ गरी लहान प्रहरीको जिम्मा लगाएको थियो।

स्वतन्त्र मधेस अभियानका नाममा संगठिन बनाउने, संगठितरुपमा कार्यक्रम सञ्चालन गर्ने राउतमाथि राज्यविरुद्धको संगठित अपराध मुद्दा दर्ता गरिएको डिएसपी केसीले भने। राउत केही वर्षदेखि मधेसमा छुट्टै राज्यका लागि ‘स्वराज' अभियान चलाइरहेका छन्। यसअघि पनि उनी प्रहरीबाट पक्राउ पर्दै छुट्दै आएको छ।

अदालत लानेक्रममा हुनसक्ने विरोधलाई मध्यनजर गर्दै लहान प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। 'अदालत लैजाने क्रममा हुनसक्ने विरोधलाई मध्यनजर गर्दै यहाँको सुरक्षा सतर्कता बढाएका छौं,' डिएसपी केसीले नागरिकन्युजसँग भने।

प्रकाशित: २१ माघ २०७३ ०४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App