१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

यादवका कारण मोर्चामा विश्वासको संकट

काठमाडौं– सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि मधेसी मोर्चाले आफ्नो एक घटक संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादलाई संशोधनका पक्षमा उभ्याउन पहल गर्ने भएको छ ।

यादवले सहमति नगरिकन संशोधन प्रस्ताव ल्याए त्यसको पक्षमा उभिन नसक्ने बताएका छन् ।संशोधन प्रस्तावबारे यादवले व्यक्त गरेका धारणाले मधेसी मोर्चाबीचमै  अविश्वासको वातावरण सिर्जना गरेको छ ।

मोर्चाका अन्य घटकले सरकारले संशोधन प्रस्ताव ल्याएपछि यसबारे यादवसँग गम्भीर छलफल गर्ने तयारी गरेका छन् । ‘एक पटक उहाँ (उपेन्द्र यादव) सँग गम्भीर छलफल गर्छौं । त्यसपछि हाम्रो र उहाँको बाटो फरक–फरक पनि हुन सक्छ । एउटै पनि हुन सक्छ’, मोर्चाका एक नेताले भने ।

‘एक पटक उहाँ (उपेन्द्र यादव) सँग गम्भीर छलफल गर्छौं, त्यसपछि हाम्रो र उहाँको बाटो फरक–फरक पनि हुन सक्छ, एउटै पनि हुन सक्छ’

अंगीकृत नागरिकताको सवालमा पनि यादवले मोर्चाका अन्य घटकसँग फरक धारणा राख्दै आएका छन् । अंगीकृत नागरिकताको मुद्दा उठाउन नहुने यादवले बताउँदै आएका छन् । मोर्चाका  अन्य नेताले  वैवाहिक अंगीकृत नागरिकताबारे सरकार लचिलो हुनुपर्ने  माग राखेका छन् ।

त्यस्तै मोर्चामा प्रदेश विषमा पनि मतभेद देखिएको छ । यादव दस प्रदेशको अडानमा कायमै छन् । मोर्चाका अन्य नेताले मधेसमा दुई प्रदेश भए र झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको समस्या सामधान भए अहिलेकै सात प्रदेशमा पनि जान सकिने बताउँदै आएका छन् ।

यादवबाहेक मोर्चाका अन्य नेताले संविधान संशोधन प्रस्ताव संसद्बाट पास गर्न सरकारलाई सहयोग गर्ने बताउँदै आएका छन् ।  यादवले भने निकासबिना ल्याइने संशोधन प्रस्तावको विरोधमा मोर्चा उभिने बताएका छन् । राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरेपछि त्यसबारे मोर्चाको बैठकमा छलफल हुने बताए । ‘संशोधन प्रस्ताबारे मोर्चाकै नेताहरूबाट फरक–फरक धारणा आएका छन् । यसबारे पनि मोर्चाको बैठकमा छलफल हुने छ’, झाले भने ।

प्रकाशित: १० मंसिर २०७३ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App