१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘लोकमानको भाग्यलाई लिएर भारत डराउनु पर्दैन’

निलम्बित अख्तियार प्रमुख कार्की

काठमाडौं– निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको ब्याकफोर्स एक्लो भारत रहेको चर्चा चुलिएका बेला भारतीय संस्थापनसँग निकट मानिएका प्राध्यापक सुकदेव (एसडी)  मुनीले नेपालमा कार्कीको भविष्यप्रति भारत चिन्तित हुनु नपर्ने उल्लेख गरेका छन्।

नेपालमा कार्कीको भविष्यलाई लिएर भारत किन चिन्तित हुनुपर्‍यो। कार्की नेपाली राजनीतिको उत्पादन हुन् र उनलाई नेपाली राजनीतिले नै ह्यान्डल गर्नेछ।

कार्कीको नियुक्ति भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एन्यालाइसिस विङ (रअ) को चलखेलमा भएको सार्वजनिक तथ्य देखिइरहँदा मुनीको यस्तो भनाइ सार्वजनिक भएको हो। मुनीले कार्की विवादको समाधान नेपाली राजनीतिले खोज्ने उल्लेख गरेका छन्।

‘नेपालमा कार्कीको भविष्यलाई लिएर भारत किन चिन्तित हुनुपर्‍यो’, उनले ट्विट गर्दै भनेका छन्, ‘कार्की नेपाली राजनीतिको उत्पादन हुन् र उनलाई नेपाली राजनीतिले नै ह्यान्डल गर्नेछ।’
पद र शक्तिको दुरुपयोग गरी संवैधानिक निकायको मानमर्दन गर्ने कार्यमा संलग्न कार्की जनघृणाको पात्र बनेपछि उनीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो।

मंगलबार संसदमा बोल्ने सांसदहरुले अख्तियारमा कार्कीको नियुक्तिले भ्रष्ट्राचारीमाथिको कारवाही भारतको हातमा पुगेको बताएका थिए। कांग्रेस सांसद गगन थापाले कार्कीविरुद्धको कारवाही स्वाभिमानको विषय भएको उल्लेख गरेका थिए।

राज्यविरुद्ध जासुसी गर्नेदेखि कानुन हातमा लिएर राज्यआतंक मच्चाउनेसम्मका हर्कत गर्ने कार्कीविरुद्ध सबै तहको नेपाली समाज र दलका नेताहरु एकजुट देखिँदा पनि भारतको आडमा कार्कीले कर्तुत सञ्चालन गर्दै आएका थिए। कार्कीको कर्तुत चुलिए पनि भारतकै दवाबका कारण कतिपय राजनीतिक नेता तथा कुटनीतिज्ञहरु कार्कीविरुद्ध उभिन खुट्टा कमाइरहेका छन्।

एक हप्ताअघि एमाले र माओवादीका १५७ सांसदले कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। त्यसलाई रोक्न काठमाडौंस्थित भारतीय दूतावास तथा ‘रअ’को नेपाल स्टेशन सक्रिय भएको थियो। जनघृणाको पात्र बनेका कार्कीलाई ‘रअ’कै चलखेलमा खिलाराज रेग्मी सरकारका बखत नियुक्त गरिएको थियो।

कार्की भारतको हतियार रहेको जवाफ नेपालीहरुले मुनीलाई ट्विटरबाट दिएका छन्। नेपालको राजनीतिमाथि पकड राख्न भारतले कार्कीलाई प्रयोग गरिरहेको जवाफ पनि दिएका छन्।

प्रकाशित: १० कार्तिक २०७३ ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App