१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कैलाली–१ बाट पाँच महिला सांसद

बायाँबाट क्रमशः रुपा सोसी चौधरी, इश्वोरी न्यौपाने, गरिमा साह, रंजित श्रेष्ठ र लालिता सुनार।

कैलालीको निर्वाचन क्षेत्र नं. १ ले पाँच जना महिला सांसद पाउने पक्का भएको छ। ती मध्ये २ जनाको सांसद पद सुनिश्चित भैसकेको छ भने ३ जनाको नाम निर्वाचन आयोगको समानुपातिक तर्फको अन्तिम सूचीमा समेटिएको छ।

यसअघि नै नेकपा एकीकृत समाजवादीका तर्फबाट मदनकुमारी शाह ‘गरिमा’ राष्ट्रिय सभाको सांसद रहेकी छिन्। उनी सो पार्टीकी सचिव रहनुका साथै सुदूरपश्चिम प्रदेश इञ्चार्ज समेत हुन्। शाह २०७८ माघ १२ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनबाट सांसद पदमा निर्वाचित भएकी हुन्। उनी यसअघि २०७४ को आमनिर्वाचनमा नेकपा एमालेका तर्फबाट पराजित भएकी थिइन।

त्यस्तै मंसिर ४ गतेको आमनिर्वाचनमा अत्यधिक मतका साथ विजयी भएकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्रतिनिधि सभातर्फको सांसद हुन्। उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रामजनम चौधरी र नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका टीकापुर नगरपालिकाका यसअघिका मेयर तपेन्द्रबहादुर रावल लगायतलाई पराजित गरेर सांसद बनेकी हुन्।

उनी निलम्बित सांसद रेशमलाल चौधरीकी पत्नी समेत हुन्। यसअघि २०७४ को आमनिर्वाचनमा चौधरी अत्यधिक मतका साथ विजयी भएका थिए। उनी टीकापुर घटनाको आरोपमा जेल परेपछि उनकी पत्नी श्रेष्ठ नयाँ पार्टी दर्ता गरेर चुनावी मैदानमा होमिएकी थिइन। उनको पार्टीले कैलालीका ३ निर्वाचन क्षेत्रमा जितेको छ।

यसअघि संविधान सभा सदस्य रहेका दुई जना समेत प्रतिनिधि सभातर्फको समानुपातिक सूचीमा छन्। नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य रुपा सोसी चौधरी र नेपाली काँग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपाने समानुपातिकको सूचीमा छन्। उनीहरु दुवैजना लगभग सांसद बन्ने निश्चित छ।

चौधरी २०६३ को अन्तरिम विधायक र २०६४ को प्रत्यक्ष निर्वाचित संविधान सभा सदस्य हुन्। त्यस्तै न्यौपाने २०७० मा समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनेकी थिइन भने २०७४ मा काँग्रेसका तर्फबाट उम्मेदवार रहेर पराजित भएकी थिइन।

सुदूरपश्चिम प्रदेश सभामा ललिता सुनारको नाम नेपाली काँग्रेसका तर्फबाट समानुपातिकको सूचीमा छ। उनी समेत प्रदेश सभाको सांसद हुने लगभग निश्चित जस्तै छ। उनी दलित कोटाबाट समानुपातिक सूचीमा रहेकी छन्। उनी पार्टीको महाधिवेशन प्रतिनिधि हुन्।

सम्भवतः यति धेरै महिला सांसद भएको यो देशकै एकमात्र निर्वाचन क्षेत्र हो। सांसदको संख्या बढेसँगै यहाँको विकासमा समेत बढोत्तरी हुने जनताको अपेक्षा रहेको छ।

प्रकाशित: २७ मंसिर २०७९ १३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App