१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

चुनावमा भएको धाँधलीको छानवीन गर्न निर्वाचन आयोगको टोली बाजुरामा

बाजुरामा भएको चुनावी धाँधली र मानीवय क्षतिको घटनाबारे अध्ययन गर्न निर्वाचन आयोगको टोली बाजुरा आईपुगेको छ। निर्वाचन आयोगले सहसचिव तुलसी श्रेष्ठ नेतृत्वको छानवीन टोली शुक्रबार बाजुरा आइपुगेको हो।  

मंसिर ४ गतेको संघ र प्रदेश सभाको निर्वाचनमा बाजुराका दर्जन बढी मतदान केन्द्रमा बुथ कब्जा गरिएको, दर्जन बढी केन्द्रमा दोहोरो झडप भई दर्जनौ व्यक्तिहरु घाइते भएको र त्रिवेणी नगरपालिका ७ मा २ जनाको ज्यान नै गएपछि निर्वाचन आयोगले छानवीनका लागि उच्च स्तरीय टोली बाजुरा पठाएको हो।

नेपाली काँग्रेस र नेकपा एमालेका तर्फबाट कब्जा गरिएको भनिएका मतदान केन्द्रको अवस्था र घटनाक्रम बारे जानकारी लिन टोली बाजुरा आएको निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन्। नेपाली सेनाको हेलिकप्टर मार्फत बाजुरा पुगेको टोलीमा श्रेष्ठ सहीत तीन जना सदस्य रहेका छन्।  बाजुराका ७० वटा मतदान स्थल मध्ये १६ स्थानमा काँग्रेसले बुथ कब्जा गरेको नेकपा एमालेले उजुरी दिएको छ। भने नेपाली काँग्रेसले ८ वटा स्थानमा बुथ कब्जा गरिएको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगलाई उजुरी दिएको छ।  

बुढीनन्दा नगरपालिका ५ मा कुनै विवाद नभएकोले मंसिर १० गते निर्वाचन हुने र बाँकी विवादीत ठाउँको आयोगकै टोली मार्फत अध्ययन गरेर निर्णय गरिने अधिकारी अवस्थीले बताएका छन्। बाजुरा पुगेको टोलीले सुरुमै नेकपा एमालेका नेताहरुसँग अवस्था बारे जानकारी लिएको छ। भने त्यसपछि नेपाली काँग्रेस र अन्य दलसँग पनि छलफल गर्ने छ। दुबै दलबाट पुन मतदानको माग सहीत उजुरी आएपछि आयोगलाई जानकारी गराएको र स्थलगत अध्यनन तथा छानवीनका लागि निर्वाचन आयोगबाटै उच्च स्तरीय टोली बाजुरा पुगेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताएका छन्।

टोलीले प्रमुख दलहरु, त्यसैगरीमतदान स्थलमा खटिएका मतदान अधिकृत तथा कर्मचारी, सुरक्षा कर्मी र आवश्यकता अनुसार मतदातासँग समेत परामर्श तथा छलफल गर्ने रणनीति बनाएको छ। स्थानीय तहको निर्वाचनमा पनि निर्वाचन आयुक्तकै टोली आएर बुढीगंगा नगरपालिकाको निर्वाचन पुनः गराउने निर्णय गरेको थियो। कमजोर पक्षलाई बुथ केन्द्रमा छिर्न नै नदिई निर्वाचन प्रतिनिधीलाई समेत सुरक्षा कर्मी नै लगाएर बाहिर पठाएर एकलौटी गरिएको प्रमाण सहीत नेकपा एमालेले उजुरी दिएको थियो। एमालेका तर्फबाट स्थायी कमिटी सदस्य तथा प्रतिनिधी सभाका उम्मेदवार कर्णबहादुर थापाले मंसिर ४ गतेकै मध्ये दिनमा १६ स्थानको मतदान स्थगीत गरि पुन मतदानका लागि माग गरिएको उजुरी दिएका थिए।  

लगत्तै मंसिर ६ को नेकपा एमालेका प्रतिनिधी सभाका कर्णबहादुर थापा, प्रदेश सभाका बल्देव रेग्मी र लालबहादुर थापा, समानुपातिक तर्फका दयाल बहादुर शाही र काशी विकले सयुक्त उजुरी समेत दिएका थिए। नेपाली काँग्रेसले पनि उम्मेदवार बद्री पाण्डेकै तर्फबाट उजुरी दिएको छ।

एमालेले १६ र काँग्रेसले ८ स्थानमा

मतदान केन्द्रमै हात हतियार देखाएर लखेटिएको, केही केन्द्रमा प्रतिवाद गर्दा कुटपीट सहीत हत्या समेत गरिएको, सूर्य चिन्हमा मतदान गरिएका मतपत्र मतदान स्थलमा बेवारिसे अवस्थामा भेटिएको, प्रहरी प्रशासनबाटै मतदानका लागि वातावरण मिलाएको, मतपेटीका समेत शिल नगरि मतगणनाका लागि मार्तडी पुर्याइएको जस्ता प्रमाण राखेर एमाले उम्मेदवारले उजुरी दिएका हुन्।

धाँधली भएर बुथ कब्जा गरिएका १६ मध्ये अधिकांशमा मतदान प्रक्रिया स्थगीत गर्न निवेदन दिँदा पनि मतदान अधिकृतले वेवास्ता गरेको, केही कर्मचारी आफै मतदानमा भाग लिएको, मत पत्र समेत एक जनालाई दुई दिएर मतदान गराएको, आफ्नो बुथ छोडेर अर्को बुथ कब्जा गरेको जस्ता प्रमाण पनि नेकपा एमालेका उम्मेदवारले पेश गरेका छन्। पुन मतदानको माग गरिएका १७ मध्ये बुढीनन्दा ५ मा चुनावी प्रक्रिया नै स्थगीत गरिएको छ। अन्य केहीमा एकलौटी मतदान गरि जबरजस्त निर्वाचन गराइएको, कब्जा गरिएकामा आफै कर्मचारीले मनोमानी शिल गरेर मार्तडी ल्याएको तथ्य पनि एमालेले उजुरी पत्रमा पेश गरेको छ।  

नेकपा एमालेले बुढीगंगा नगरपालिका ८ को गिरीखेल्ने आधारभूत विद्यालयको मतदान केन्द्रमा नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा नगर प्रमुख राम बहादुर बाँनियालाई ज्यानमार्ने उद्धेश्यले नेविसंघको कार्यकर्ता योगेन्द्र रावलले टाउकोमा छुरिले प्रहार दिनभर मतदान कार्य स्थगित गरिएको र बेलुकी एकतर्फी रुपमा नेपाली काँग्रेसका मतदाताहरुले मात्रै मतदान गरेको बताएको छ।

त्रिवेणी नगरपालिका २ र ३ मा नेपाली काँग्रेसका कार्यकर्ताले एमाले र राप्रपाका मतदातालाई मतदान केन्द्रमा जान नदिएरै बुथ कब्जा गरि मतदान गराएको र स्थगितका लागि निवेदन दिँदा पनि कुनै सुनुवाई नगरि एकतर्फी मतादान गराएको छ। त्रिवेणी नगरपालिका ८ को मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ता नरेश थापा, चक्र थापा, तिलक रावल, सुरेश थापा र आकास थापाले एमालेका मतदाता प्रभु गिरीमाथि खुकुरी प्रहार गरिमतदान केन्द्रलाई कव्जा लिएर एकतर्फि नेपाली काँग्रेसका कार्यकर्ताले मतदान गरेको तथ्य पेश गरेको छ।

खप्तड छेडेदह गाउँपालिकाको २ र ४ मा सुरक्षा कर्मी र कर्मचारीको सहयोगमा नेकपा एमालेका मतदान प्रतिनिधीलाई कुटपीट गरी मतदानकेन्द्रबाट वाहिर निकाली एकतर्फी मतदान गरेको त्रिवेणी नगरपालिका७ को नाटेश्वरी आधारभूत विद्यालय र ८ को नवदुर्गा आधारभूत विद्यालयमा रहेका मतदान केन्द्रमा नेकपा एमालेका मतदानप्रतिनिधीलाई लखेटी एकलौटी फर्जि मत खसाएको एमालेले बताएको छ। यस्तै बुढीगंगा नगरपालिका ४ थुमा मावि र ७ को सारद माविमा नेकपा एमालेका मतदान प्रतिनिधीलाई लखेटी कुटपीट गरि एकलौटी फर्जि मत खसाएको जगन्नाथ गाउँपालिका २ र ४ मा पनि एमालेका प्रतिनिधीलाई कुटपीट गरेर बुथ कब्जा गरि मतदान गरेको छ।

हिमाली गाउँपालिका ४ शैलेश्वरी आधारभूत विद्यालय र५ बागेश्वरी आधारभूत विद्यालय र ६ वडिमालिका माविमा रहेको मतदान केन्द्रमा एमालेका मतदान प्रतिनिधीहरुलाई कुटपीट गरी मतदानकेन्द्रबाट निकाली एकतर्फी मतदान गरिएको र सोहीपालिकाको ६ मा रहेको वडीमालिका माविको मतदान केन्द्रमा दिउसो ३वजेसम्म १ हजार मात्रै मत खसेकोमा बेलुकी ४ नम्बर वडा फैतीका मानिसहरु गाडी र मोटरसाइकलमा गएर मतदान केन्द्र सम्पूर्ण कव्जामा लिएर गैह्र मतदाताले मतदान गरेको एमालेले तथ्य पेश गरेको छ। स्वामिकार्तिक गाउँपालिकाको ३ साविक गाविस भवन जुकोटको मतदान केन्द्रमा विहानै देखि हुलदंगा गरी एमालेका मतदाताहरुलाई मतदान केन्द्रमै आउन नदिई मतदानको अधिकारबाट बञ्चित गराएर एकलौटी मतदान गरेको र बुढीनन्ददा ७ र ९ का मतदान केन्द्रमा विहानै देखि हुलदंगा गरी कब्जामा लिएर मतदान गरिएको एमालेले उजुरीमा उल्लेख गरेको छ।

यता नेपाली काँग्रेसले बुढीगंगा १, २, ३ र ९, गौमुल गाउँपालिका १ र २, बुढीनन्दा नगरपालिका ४ मा पुन मतदानको माग गरेको छ। बुढीनन्दा १० मा समेत धाँधली भएको र दुई दर्जन बढी कार्यकर्ता घाईत बनाएको काँग्रेसले बताएको छ। नेकपा एमालेले काँग्रेसका कार्यकर्तालाई नजिक आउनै नदिएर, एक बुथबाट अर्को बुथमा पुगेर कब्जा गरेर मतदान गराएको आरोप सहीत उजुरी गरेको छ। कब्जा गरिएका भनिएका दुबै दलका गरेर २४ वटा मध्ये करिब १२ बढीमा अत्याधिक मतदान गराएको अवस्था छ।  

काँग्रेस आयोगले पुन मतदान भने पनि गणना सुरु गर्न भनेपनि दुबैका लागि तयार रहेको अवस्था छ। भने नेकपा एमालेले सत्ता र शक्तिको आडमा बुथ कब्जा गरेर मताधिकारबाटै वञ्चित गराउने कार्य सहन नसकिने र पुन मतदान नगराए परिणामको जिम्मेवार स्वयम निर्वाचन आयोग र प्रहरी प्रशासन हुनु पर्ने बताएको छ।  

प्रकाशित: ९ मंसिर २०७९ १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App