१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कमजोर बन्दै मधेसी दल

पहिलो संविधान सभाको निर्वाचनमा महत्वपूर्ण र निर्णायक शक्तिको रूपमा उदाएका मधेस केन्द्रित दलहरू पछिल्लो समय आधारभूमिमै कमजोर बन्दै गएका छन्। २०६४को निर्वाचन परिणालाई दाँजेर हेर्दा यसपटक मधेस केन्द्रित दलहरू निकै कमजोर देखिएका छन्।

यतिबेला मधेस केन्द्रित दलका नेताहरूले अपेक्षा गरेभन्दा कमजोर परिणाम ल्याएका छन्। अहिलेसम्म आएको परिणाम मधेस केन्द्रित दलहरूका लागि अनपेक्षित देखिएको छ।

मधेस आन्दोलनको मसिहा मानिने जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव यसपटक आफैं पराजित भएका छन्। यादवले सप्तरी २ मा उम्मेदवारी दिएका थिए। त्यस क्षेत्रमा जनमत पार्टीका अध्यक्ष सिके राउत विजयी भएका छन। राउतले ३५ हजार ४२ भोट ल्याएका छन् भने यादवले १६ हजार ९ सय ७९ भोट पाएका छन्।

अहिलेसम्म जसपा एक सिटमा मात्र विजयी भएको छ भने ५ सिटमा अगाडि देखिएको छ। पर्सा १ मा जसपाका उम्मेदवार प्रदीप यादव विजयी भएका छन्। यसपटक मधेस प्रदेशमा मात्रै जसपाले १७ सिटमा उम्मेदवारी दिएको थियो। अन्तिम समयमा जसपाले एमालेसँग चुनावी तालमेल गरेको थियो।

सत्तारुढ गठबन्धनसँग तालमेल गरेको तराई मधेस केन्दित अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले यो समाचार तयार गर्दासम्म एक सिटमा पनि विजयी भएको छैन। मधेस प्रदेशमा लोसपाले ९ सिटमा उम्मेदवारी दिएको थियो, त्यसमध्ये ७ सिटमा गठबन्धनसँग तालमेल गरेको थियो।

यसपटक तराई मधेसमा एउटा अर्को एउटा पार्टीको उदय भएको छ। प्रतिनिधिसभामा एक सिट तथा प्रदेशसभामा २ सिटमा जनमत पार्टी विजयी भएको छ।

२०६४ को पहिलो संविधान सभाको निर्वाचनमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालले संविधान सभामा ५२ सिट ल्याएको थियो। त्यतिबेला फोरमले प्रत्यक्ष्यतर्फ ३० र समानुपातिक तर्फ २२ सिट ल्याएको थियो। त्यो बेला फोरमले कुल बदर मतको समानुपातिकतर्फ ६ दशमलब १५ प्रतिशत भोट ल्याएको थियो।

यसैगरी, अर्को तराई मधेस केन्द्रित दल तराई मधेस लोकतान्त्रिक पार्टीले प्रत्यक्ष्य र समानुपातिक गरी २० सिट ल्याएको थियो। त्यतिबेला तमलोपाले ३ दशमलव ४५ प्रतिशत भोट ल्याएको थियो। त्यसैगरी अर्को दल सद्भावना पार्टीले प्रत्यक्ष्य र समानुपातिकतर्फ ९ सिट ल्याएको थियो, जसमा प्रत्यक्ष्य तर्फ सद्भावना पार्टीका ४जना उम्मेदवार विजयी भएका थिए। त्यतिबेला सद्भावना पार्टीले १ दशमलव ८९ प्रतिशत भोट ल्याएको थियो। त्यो बेला सद्भावना पार्टी (आनन्दीदेवी) ले समानुपातिक तर्फ २ सिट ल्याएको थियो।

पहिलो संविधान सभाको निर्वाचनमा मधेस केन्द्रित दलका नेताहरूले अपेक्षा गरेअनुसार नै राम्रो परिणाम ल्याएपछि उत्साहित भएका मधेस केन्द्रित दलका नेताहरूले नयाँनयाँ पार्टी खोल्न थाले। त्यतिबेला तराई मधेस केन्दित दलहरू छिन्नभिन्न हुन थाले। केही दल फुटे। २०६४ देखि २०७० सम्म मधेस केन्द्रित दलहरू दर्जनौंपटक फुटे भने दर्जनौं पटक एकीकरण भए।

२०७० को दोस्रो संविधान सभाको निर्वाचनमा तराई मधेस केन्द्रित ८ वटा दल चुनावमा सहभागी भए। विजय गच्छेदारले नेतृत्व गरेको मधेसी जन अधिकार फोरम (लोकतान्त्रिक)ले प्रत्यक्ष्यतर्फ ४ र समानुपातिकतर्फ १० गरी १४ सिटमा विजयी भयो। त्यस पार्टीले समानुपातिकतर्फ कुल भोटको ३ दशमलव १३ प्रतिशत भोट ल्याएको थियो।

यसैगरी, उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम नेपालले प्रत्यक्ष्यतर्फ २ र समानुपातिकतर्फ ८ गरी १० सिटमा विजयी भयो। त्यतिबेला फोरमले २ दशमलव २८ प्रतिशत भोट ल्याएको थियो।

यसैगरी शरत्सिंह भण्डारीले नेतृत्व गरेको राष्ट्रिय मधेस सद्भावना पार्टीले समानुपातिकतर्फ ३ सिटमा विजयी भयो। त्यतिबेला रामसपाले शून्य दशमलव ८४ प्रतिशत भोट ल्याएको थियो। यसैगरी, महेन्द्र यादवले नेतृत्व गरेको तराई मधेस सद्भावना पार्टीले प्रत्यक्ष्यतर्फ १ र समानुपातिकतर्फ २ गरी ३ सिटमा विजयी भयो। त्योबेला तमसपाले शून्य दशमलव ७२ प्रतिशत भोट ल्याएको थियो। यसैगरी, अनिल झाले नेतृत्व गरेको संघीय सद्भावना पार्टीले समानुपातिकतर्फ १ सिटमा विजयी भयो। त्यो बेला संघीय सद्भावना पार्टीले शून्य दशमलव २३ प्रतिशत भोट ल्याएको थियो।

दोस्रो संविधान सभा निर्वाचनमा राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टीले प्रत्यक्ष्यतर्फ १ र समानुपातिकतर्फ ५ गरी ६ सिटमा विजयी भयो। त्यो बेला सद्भावना पार्टीले १ दशमव ५६ प्रतिशत भोट ल्याएको थियो। यसैगरी महृन्थ ठाकुरले नेतत्व गरेको तराई मधेस लोकतान्त्रिक पार्टीले प्रत्यक्ष्यतर्फ ४ र समानुपातिकतर्फ ७ गरी ११ सिटमा विजयी भयो। त्यतिबेला तमलोपाले १ दशमलव ९० प्रतिशत भोट ल्याएको थियो।

यसैगरी राजकिशोर यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) ले समानुपातिकतर्फ १ सिट ल्यायो। त्यो बेला फोरम गणतान्त्रिकले कुल सदर भोटको शून्य दशमलव १४ प्रतिशत भोट ल्याएको थियो।

२०७४को संसदीय निर्वाचनमा तराई मधेस केन्द्रित २ दल मात्र चुनाव सहभागी भए। २०७४ वैशाखमा तत्कालीन तराई मधेस केन्द्रित ६ दलबीच एकीकरण भई राष्ट्रिय जनता पार्टी गठन भयो। २०७४को निर्वाचनमा राजपाले ११ प्रत्यक्ष र ६ समानुपातिक गरी १७ सिटमा विजयी भयो। त्यतिबेला राजपाले ७ प्रतिशत भोट ल्याएको थियो।

यसैगरी, संघीय समाजवादी फोरमले प्रत्यक्ष्यतर्फ १० र समानुपातिकतर्फ ६ गरी १६ सिटमा विजयी भयो। त्यो बेला संघीय समाजवादी फोरम १६ सिटमा विजयी भयो। त्यो बेला फोरमले देशभरी ६ प्रतिशत भोट ल्याएको थियो।

२०७४ को प्रतिनिधिसभाको अन्त्यतिर जनता समाजवादी पार्टी (जसपा)मा १९ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग १२ जना सांसद थिए। यीबाहेक २ जना सांसद हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा परेका थिए।

जसपाका प्रवक्ता मनिष सुमनले यसपटक मधेस केन्द्रित दलहरूले ल्याएको भोट अनपेक्षित भएको बताए। मधेस केन्द्रित दलहरूमा फुट आएको कारण अनपेक्षित परिणाम आएको उनको भनाइ छ। ‘मधेस केन्द्रित दलहरू कमजोर भएका होइनन्,’ सुमनले भने, ‘दलहरूमा फुट आएका कारण परिणाम अपेक्षित हुन नसकेको हो।’

प्रकाशित: ८ मंसिर २०७९ ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App