६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

अर्घाखाँचीमा निर्वाचनको तयारी सकियो, सुरक्षा व्यवस्था कडा

शितगंगा नगरपालिका–१२, डोहोंटेको मतदानस्थल।

पर्सी आईतवार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागी अर्घाखाँचीमा सम्पुर्ण तयारी सकिएको छ। निर्वाचनका लागी आवश्यक सबै तयारी पुरा भएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ।

एक प्रतिनिधीसभा तथा दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह छन्। जिल्लाभर ९७ मतदानस्थल, दुईसय २ मतदान केन्द्र रहेका छन्। एक अस्थायी मतदान केन्द्र पनि तोकिएको छ। अहिले कैदिबन्दीहरुलाई मतदान गर्न दिने प्रावधान अनुरुप जिल्ला कारागार अर्घाखाँचीमा १ वटा मतदानस्थल थप गरिएको छ। जसमा एउटा मात्र मतदान केन्द्र राखिएको छ।  

कुल ९८ वटा मतदानस्थलमा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री पठाउने कार्य, मतदानस्थल व्यवस्थापन, सवारी साधनको व्यवस्था, आवश्यक सुरक्षा व्यवस्था लगायतका काम पूरा भएको जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीले जानकारी दिए।  

अर्घाखाँचीमा एक लाख ६४ हजार ७ सय ६८ मतदाताले मताधिकार उपयोग गर्न सक्नेछन्। प्रदेश ‘क’ मा ४३ हजार ५७१ पुरुष र प्रदेश ‘ख’ मा ३९ हजार २२ पुरुष गरी कुल ८२ हजार ५९३ पुरुष मतदाता रहेका छन्। यस्तै प्रदेश ‘क’ मा महिलाको संख्या ४२ हजार ९११ जना र प्रदेश ‘ख’ मा ३९ हजार २६४ जना महिला गरी कुल महिला मतदाताको संख्या ८२ हजार १७५ रहेको छ।  

निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्माचारी, जनपथ प्रहरी र म्यादी प्रहरी गरी झन्डै दुई हजार ५ सय सुरक्षाकर्मी परिचालन भएका छन्। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न तथा निर्वाचनलाई खलल हुने गतिविधी रोक्न सुरक्षा व्यवस्था कडा बनाईएको अर्घाखाँचीका प्रहरी प्रमुख (डिएसपी) मुकुन्द रिजालले जानकारी दिए।  

निर्वाचन  शान्तीपूर्णरुपमा सम्पन्न गर्न संवेदनशील मतदानस्थलमा केन्द्रीय सुरक्षा नीति अनुसार प्रहरी परिचालन गरिएको उनले बताए। ‘केन्द्रीय सर्कुलर अनुसार सुरक्षा व्यवस्था गरिएको छ,उनले भने,‘भयरहित वातावरणमा मतदान गर्नेगरी प्रहरी परिचालन गरिएको छ।’ कुनै पनि मतदानस्थलमा सुरक्षामा कमी नहुने उनको भनाई छ।  

यस्तै निर्वाचन सम्पन्न गर्न अर्घाखाँचीमा एक हजार ६ सय बढी कर्मचारी खटिएका छन्। मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारी गरी एक हजार ६ सय १८ जना कर्मचारी खटिएका निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०७९ ०५:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App