१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘हिमालभन्दा सुन्दर नेपाली’

शुक्रबार बिहान धुलिखेलमा उर्सुला स्मेल र होस्र्ट स्मेल। तस्बिर : अमृत/नागरिक

घुम्नै भनेर बर्सेनि लाखौं विदेशी नेपाल आउँछन्। उनीहरू मध्ये दोहो-याएर आउनेको संख्या पनि ठूलो छ। नेपालीसँग भावनात्मक सम्बन्ध गाँसेका केही यस्ता विदेशी छन् जो घुमफिरमा मात्र सीमित छैनन, बरु नेपालको विकासमा पनि योगदान पु-याउँदै छन्। त्यस्तै जोडी हुन्–होस्र्ट स्मेल र उर्सुला स्मेल।

होस्र्ट ८१ वर्षका भए भने उर्सुला ७९ वर्षकी। पेशाले दुवै फर्मासिस्ट। तीसौं पटक जर्मनीबाट नेपाल आएका उनीहरूले भर्खरै १२ दिन लामो लाङटाङ पदयात्रा पूरा गरे। यो उनीहरूको चौथो लाङटाङ यात्रा थियो। उनीहरू स्याफ्रू बेंसी (रसुवा)बाट ४ दिन हिँडेर लाङटाङ हुँदै क्याङ्जेन गुम्बा पुगे।

‘लाङटाङप्रति किन यत्रो क्रेज ?’, शुक्रबार बिहान धुलिखेलमा मैले उनीहरूलाई सोधें। भुइँचालोले लाङटाङ गाउँलाई बढारेको खबर सुनेर दुःखी भएका उनीहरू ४ वर्षपछि त्यहाँको स्थिति बुझ्न पुगेका रहेछन्।

‘सन् २०१४ मा हामी लाङटाङ गाउँमा तीन रात बसेका थियौं’, होस्र्टले सम्झिए, ‘त्यसको केही महिनापछि भुइँचालो आएर बस्तीलाई ध्वस्त बनायो। तर, आज लाङटाङले पुर्नजीवन पाइसकेको रहेछ।’

लाङटाङसँगको उनीहरूको सम्बन्ध गाढा छ। पहिलो पटकको यात्रामा उनीहरूले जम्मा २० मिनेट लाङटाङमा बिताएका थिए। प्याकेजमा एसिया घुम्न आएका बेला सन् १९७४ मा जम्मा दुई रात नेपालमा बसेका थिए। त्यही बेला हेलिकोप्टरमा लाङटाङ पुगेर  एकैछिनमा फर्केका।

उनीहरूले पहिलो लाङटाङ पदयात्रा भने सन् १९८६ मा गरेका थिए। ‘त्यतिबेला लाङटाङमा ३/४ ओटा लज थिए’, उनीहरूले सुनाए, ‘माथि क्याङ्जेनमा चाहिँ एउटा मात्र थियो।’

अन्नपूर्ण पदयात्रामा जाँदा भरियाले ज्यान बचाएपछि जर्मन नागरिकले नेपालमा सहयोगका हात बढाए। उनीहरूले धुलिखेल अस्पताल र बोल्देफेदिचे गाउँको विकासमा पु-याएको योगदान स्तुत्य छ।

पछिल्लो लाङटाङ यात्रामा एउटा कुराले भने उनीहरूलाई खुसी बनायो। त्यो के भने पदयात्रामा उनीहरूले अनगिन्ती नेपाली पदयात्रीलाई भेट्न पाए। ‘पहिलापहिला नेपाली पदयात्री भेटिँदैनथ्यो’, आन्तरिक पर्यटक नै दिगो पर्यटनको मेरुदण्ड भएको बुझेका होस्र्टले भने, ‘यसपालि थुप्रै युवा भेट्यौं।’

उनीहरूलाई नेपालले मोहनी लगाएको छ। उनीहरूले लाङटाङ मात्र होइन, अन्नपूर्ण, सगरमाथा, मकालु, मनास्लु, डोल्पो, हेलम्बू, कञ्जनजंघा, मुस्ताङ र गणेश हिमाल पदयात्रा गरिसके। ठाउँ मात्र राम्रो भएर पर्यटन फस्टाउँदैन, त्यसका लागि स्थानीय बासिन्दा पनि सुन्दर मनका हुनु पर्छ।

‘हिमाल त संसारभरि छ’, बरोबर नेपाल आउनुको कारण खोतल्छन् उनीहरू, ‘हिमालभन्दा सुन्दर छन् नेपाली। सधैं हाँसिरहने, कडा मेहेनत गर्ने, आत्मीय, विश्वासिला, दयालु र खुल्ला हृदय भएका नेपालीका कारण आइरहन मन लाग्छ। ’

हाम्रो गुणगान गाएर नथाक्ने स्मेल दम्पती नेपालका अघोषित पर्यटन सद्भावना दूत हुन्। यसपाला पनि होस्र्टले यात्राको भिडियो क्लिप खिचेकै छन्, साथमा लाङटाङबासीका अन्तर्वार्ता पनि सँगााले। ‘पर्यटकका लागि लाङटाङ सुरक्षित छ भन्ने सञ्देश बाँड्न’, उनले भने, ‘हाम्रा सहयोगीलाई भिडियो देखाउने छु।’

जर्मनीमा उनले ‘नमस्ते स्टिफ्टुङ’ नामक संस्था खोलेका छन्। जर्मन भाषाको ‘स्टिफ्टुङ’को अर्थ हुन्छ – प्रतिष्ठान। यसले नेपालको शैक्षिक र स्वास्थ्य क्षेत्रको विकासमा योगदान पु-याउँदै आएको छ। प्रतिष्ठानका तीन हजार सहयोगी सदस्य छन्।

प्रतिष्ठानले काभ्रे जिल्लाका धुलिखेल अस्पताल र बोल्देफेदिचे गाउँको शिक्षा एवं स्वास्थ्य विकासमा सहयोग गर्छ। बोल्दे गाउँको ‘हेल्थ सेन्टर’ उनीहरूकै सहयोगको प्रतिफल हो। त्यहाँ आवासीय डाक्टर, नर्ससहित, ल्याब, भिडियो एक्सरे र एक्सरे मेसिन लगायत सुविधा छ। स्वास्थ्य केन्द्रका चार भवन छन्। 

गाउँका चार विद्यालयमा पढ्ने सय विद्यार्थीलाई छात्रवृत्ति दिइएको छ। अनि एक दशकदेखि निजी स्रोतका ९ शिक्षकलाई तलब व्यवस्था मिलाइएको छ। विद्यालयहरूमा आधुनिक भवन बनाइएको छ। यसबाहेक सिन्धुपाल्चोकको मानेखर्क र काभ्रेकै ढुँखर्कमा सञ्चालित स्वास्थ्य केन्द्रमा पनि स्टिफ्टुङकै सहयोग छ। उसले धुलिखेल अस्पतालमार्फत् सहयोग गर्छ।

सन् २००१ मा खुलेको स्टिफ्टुङले करोडौं रुपैयाँ सहयोग गरिसकेको छ। आगामी दिनका योजना के के छन् त ? ‘छात्रवृत्तिमा पढेकाहरूलाई एसइईपछि सीपमुलक तालिम दिलाउन केन्द्र खोल्दैछौं, होस्र्ट भन्छन्, ‘गाउँलाई एउटा एम्बुलेन्स पनि किन्ने योजना छ।’

यसरी नेपालीको हितमा क्रियाशील हुन उनीहरूलाई एउटा घटनाले प्रेरित गरेको थियो। सन् १९९६ मा यो जोडी अन्नपूर्ण सर्किट पदयात्रामा निस्केको थियो। उनीहरूका साथमा दुई नेपाली थिए–नोर्बु शेर्पा र कान्छा तामाङ।

प्रायः अन्नपूर्ण सर्किट गर्नेहरू मनाङतिरबाट थोराङ भञ्ज्याङ पार गरेर मुक्तिनाथ ओर्लिन्छन्। तर, उनीहरू मुक्तिनाथतिर गए। मुक्तिनाथ मन्दिरबाट हिँडेर बीचमा बास बसे। मन्दिर मास्तिर लज थिएन। तीन जना अटाउने एउटा टेन्ट गाडे। टेन्टमा बसेका बेला अचानक महिला रोएको आवाज सुनियो।

भञ्ज्याङबाट झरेकी रसियन महिला हिउँले कठ्याङ्ग्रिएकी थिइन्। उनलाई शेर्पाले टेन्टमा ल्याए। त्यो रात एउटै टेन्टमा ५ जना कोचिए। निदाउन सकिने त कुरै भएन। बिहान घाम लागेपछि रसियन पदयात्री मुक्तिनाथ झरिन्। उनीहरू थोराङ्लातिर चढे। चढ्दै जाँदा उर्सुलाको टाउको बेस्करी दुख्यो। उनलाई लेक लाग्यो।

हिमपात भइरहेको थियो। मनाङबाट आएकाहरूको हुलमा डाक्टर पनि रहेछन्। तिनले भने, ‘यिनलाई छिटो तल झारिहाल नत्र मर्नेछिन्।’

परेन फसाद ! हिँड्नै गाह्रो भएका बेला कसरी तल झार्ने ? त्यही बेला भगवान् बनेर निक्ले सहयोगी तामाङ। उनले उर्सुलालाई बोकेर थोराङ फेदीमा पु-याए। रातको समय कम्मरसम्म आउने हिउँमा टेक्दै ओरालो झार्दा कान्छालाई कति अफ्ठेरो भयो होला !

उर्सुलाले दोस्रो जीवन पाइन्। एउटा भरियाको सहयोगले उनीहरू प्रभावित बने। काठमाडौं फर्केपछि तामाङको गाउँ तिमाल क्षेत्रको बोल्देफेदिचे पुगे। जहाँ उनीहरू पर्यटनकर्मी तिलक लामाको घरमा बसे। दिउँसो गाउँमा खाएको अमिलो दहीका कारण पखाला चलेर रातभर सुत्न सकेनन् होस्र्ट।

बिहान उनले तिलकलाई उपचारको विषयमा सोधे। गाउँमा उपचार सुविधा नभएको थाहा पाएपछि उनीहरू स्वास्थ्य क्षेत्रमा सघाउने निर्णयमा पुगे। त्यसको केही समयपछि अष्ट्रियामा पढेर फर्केका डा. रामकण्ठ माकाजूले धुलिखेलमा सामुदायिक अस्पताल सुरु गरेको खबर टिभीमा हेरे उनले। अनि नेपाल आएर माकाजूलाई भेटे र सन् १९९९ देखि बोल्देको स्वास्थ्य क्षेत्रमा सघाउन थाले।  

यसरी पवित्र काममा जुट्न प्रेरित गर्ने त्यतिबेलाका भरिया कान्छा तामाङलाई मुरीमुरी धन्यवाद। तिनै तामाङ अचेल हेल्थ सेन्टरमा काम गर्छन्। होस्र्ट दम्पतीको नेपाल भ्रमणमा सहयोगी बन्छन्। अस्ती लाङटाङ यात्रामा पनि उनी सँगै थिए।   

धुलिखेल लजको कौसीमा बसेर होस्र्ट दम्पतीका कथा सुन्दा उनीहरूप्रति श्रद्धा जागेर आयो। डाँडामाथिको घाम बनिसकेका बुढाबुढीको नेपालप्रेम विचित्रको छ। कुराकानी बिट मार्ने बेला मैले सोधें, ‘कहिलेसम्म नेपाल आउनु हुन्छ ?’

‘स्वास्थ्यले दिएसम्म आउँछौं। हेरौं,भगवानले कहिलेसम्म खटाउँछन ?’, उनीहरूले भने। अन्त्यमा, होस्ट दम्पतीको सुस्वास्थ्य र दीर्घायुको कामना !

तिमालका देवता
तिलक लामा, पर्यटनकर्मी


जतिबेला हाम्रो गाउँ तिमालमा बिजुली, सडक, टेलिफोन र मेडिकल सुविधा थिएन, त्यस्तो बेला स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गरेर हामीलाई होस्र्ट दम्पत्तिले ठूलो गुन लगाउनु भयो। एउटा गरिब मजदूरले लगाएको गुन तिर्न उहाँहरूले गर्नु भएको सहयोगबाट हामी लाखौं नेपाली लाभान्वित भएका छौं। यस हिसाबले उहाँहरू देवता सरह हुनुहुन्छ।

प्रकाशित: ९ कार्तिक २०७६ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App