१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

पुस्तक किन नपढ्ने ?

अर्चना थापा

अर्चना थापा

त्यो पुस्तक
सलमान रुश्दीको पुस्तक ‘द सटानिक भर्सेज’, अन्तर्राष्ट्रिय बजारमा आएलगत्तै पढ्न मन थियो। किनकि मैले रुश्दीको ‘मिडनाइट्स चिल्ड्रेन’ पढिसकेकी थिएँ। तर, त्यो पुस्तक काठमाडौंमा आइपुगेको थिएन, त्यसबारे अन्तर्राष्ट्रिय पत्रिकाहरुमा मिश्रित खालका समीक्षा छापिँदै थिए। अचानक भारतले पुस्तकमा प्रतिबन्ध लगायो भन्ने समाचार सुन्नमा आयो र विदेशमा रुश्दीविरुद्ध जुलुस निस्कन थालेको समाचारले पुस्तकप्रतिको उत्सुकता झनै बढाएको थियो। पुस्तक नपढेका व्यक्ति पनि पुस्तकका पक्षमा र विपक्षमा लागेका थिए। झन् ईरानी धर्मगुरु आयोतुल्ला खुमैनीले रुश्दीमाथि घोषणा गरेको ‘फतवा’लाई ईरानी सरकारले समर्थन गरेको सुन्दा लागेको थियो, फगत एउटा पुस्तकले विश्व कसरी हल्लाउन सकेको होला ! जति–जति यस पुस्तकको विषयवस्तुलाई लिएर नागरिकको धर्मप्रतिको आस्थाको अधिकार र लेखकको लेखनी स्वतन्त्रताबारे बहस चल्न थाल्यो, त्यति–त्यति नै पुस्तकप्रतिको मेरो चासो चुलिँदै गएको थियो। भारतमा प्रतिबन्ध भएको पुस्तक नेपालमा पाउने सम्भावना थिएन। सन् १९९० मा म फ्रयाङ्कफर्ट (जर्मनी) पुगेकी थिएँ, त्यतिबेला एउटा सानो पुस्तक पसलमा त्यो पुस्तक देखेर किनेँ। नेपालमा ‘द सटानिक भर्सेज’ प्रतिबन्ध छ वा छैन भन्ने मलाई थाहा थिएन, त्यसैले पुस्तकमा कभर लगाएर डराउँदै ल्याएकी थिएँ।

‘कमिक बुक’ले डो-याएको संसार
ठ्याक्कै भन्न सक्दिनँकि पुस्तकप्रति मेरो रुचि कसरी बढ्यो। सहरमा हुर्केकी हुँ, तर म सानो हुँदा न टिभीको जमाना थियो, न त इन्टरनेटको। अहिलेजस्तो ‘स्मार्ट’ प्रविधिमा खेल्न र भुल्न पाइनँ।स्कुलबाहेक अरुबेला घरबाहिर निस्कन न मेरो रुचि थियो, न त परिवारको अनुमति। मसँग प्रशस्त फुर्सदको समय हुन्थ्यो, थुप्रै अनुत्तरित प्रश्न र  जिज्ञासाहरु हुन्थे।  आमा वा हजुरआमासँग कथा सुन्थेँ।घरमा ‘कमिक’ पुस्तक हुन्थे,त्यसका तस्बिर साह्रै मनमोहक लाग्थ्यो।बिस्तारै कमिक पढ्नेतिर मेरो रुचि बढ्दै गयो। बेताल, जादुगर म्यान्ड्रेक्स, मोटु–पतलु, काका–चौधरी, जंगल बुक, टिनटिन, आर्ची, एस्ट्रिक्स जस्ता कमिकका पात्रसित चिना–परिचय हुन थालेपछि मलाई कल्पनाको संसारमा पुगेको अनुभव हुन थाल्यो।

घरबाहिर जाने अनुमति नभएकाले कमिकका पाना र रमाइला पात्रहरुसँगैम अकल्पनीय संसारको सयरमा निस्कन थालेँ। कमिकको संसार मैले बाँचेको संसारभन्दा रोमाञ्चक थियो। ममा पुस्तक पढ्ने रुचि बढ्नुमा बालपनमा पढेका रमाइला ‘कमिक’को ठूलो योगदान छ।

परिपक्वताले पठनरुचि परिवर्तन
मलाई मनपर्ने पुस्तकको सूची ठूलो छ। ‘कुन पुस्तक मनप-यो’ भन्ने कसैको प्रश्नमा सधैँ मेरो उत्तर एउटै हुँदैन। किनकि पाठकको उमेर, अनुभव र परिपक्वताले पठनरुचि परिवर्तन हुँदै जानु स्वाभाविक हो। आज औधि मनपरेको पुस्तकको कथ्यशैली वा कथामा निहित दर्शन र विचार भोलि मननपर्न सक्छ। त्यसैले मेरो प्रिय पुस्तकको लिस्ट शाश्वत र सनातन छैन।

केही पुस्तकले मलाई धेरै समयसम्म उद्वेलित बनाएका थिए र ती पुस्तक मेरा प्रिय पुस्तक पनि हुन्। तीनलाई पढ्दा म यति बिथोलिएँ कि केही समय अर्को पुस्तक पढ्न सकेकी थिइनँ। जस्तैः विलियम गोल्डिङको उपन्यास ‘द लर्ड अफ द फ्लाइज’ले मलाई धेरै दिनसम्म विक्षुब्ध बनाएको थियो। त्यो पुस्तकलाई मैले अझै दोहो-याएर पढ्न सकेकी छैन। ६ वर्षदेखि १२ वर्षसम्मका केटाहरुको समूह मानिस बसोबास नगरेको एउटा द्वीपमा फसेपछि अभिभावकत्वविहीन र अनुशासनहीन स्थितिमा पुग्छन्। तिनीहरु बिस्तारै एकअर्काप्रति हिंसात्मक हुँदै गएको विवरण उपन्यास छ। त्यो मार्मिक चित्रणले मलाई बैचेन बनाएको थियो। समाज र सभ्यताबाट टाढा रहेका बेला ती साना केटाहरुको मनमा उठेका प्रतिस्पर्धात्मक आवेगबाटसिर्जित घृणा र हिंसात्मक व्यवहार पढ्दा आत्तिएकी थिएँ, थुप्रै प्रश्न मनमा आए– के परपीडक हुनु र हिंसात्मक स्वभाव मानिसको प्रकृतिप्रदत्त स्वभाव हो ? के सामाजिक नियम–कानुनले मान्छेको अराजकता, अरुलाई अधिन बनाउने प्रवृत्ति र अन्य अन्तर्निहित हिंसात्मक प्रवृत्तिलाई नियन्त्रण गरेको हुन्छ ? मनलाई बिथोल्ने अरु उपन्यासको नाम लिँदा एमिली ब्रोन्टीको ‘वदरिङ हाइट’, जर्ज ओरवेलको ‘एनिमल फार्म’, एलिस वाल्करको‘द कलर पर्पल’पनि हो। यी उपन्यास पढेर म धेरै दिन अशान्त भएकी थिएँ। मलाई कमला सुरड्ढया दासको आत्मकथा‘माई स्टोरी’ पनि आँटिलो आत्मकथा लाग्छ।

एउटा संयोग, हिन्दी र संस्कृत बुझ्ने भएकाले अमेरिकास्थित ब्राउन विश्वविद्यालयको पुस्तकालय ‘जोन डी रकफेलर’मा जागिर गर्ने अवसर पाएँ। त्यतिबेला त्यहाँ वर्षौंदेखि क्याटलग गर्न नसकिएका संस्कृत, हिन्दी र उर्दूका पुस्तकको क्याटलग मैले गरेँ।

पुस्तक रोज्नुप-यो भने म उपन्यास नै रोज्छु। तर, गएका केही वर्षदेखि गैरआख्यान बढी पढ्दै छु,जस्तोः जीवनी, इतिहास, समालोचना आदि। सबैभन्दा बढीसांस्कृतिक सिद्धान्तका पुस्तक पढ्न मन लाग्छ।

किन नपढ्ने ?
पुस्तक पढ्नुका कारण धेरै छन्– कहिले रमाइलोका लागि पढ्छु, कहिले ज्ञान र विचारको क्षितिज फराकिलो बनाउन पढ्छु। कहिले नजानेका कुराको उत्तर खोज्न पढ्छु। अब त पढ्ने बानी परिसक्यो, त्यसैले पढ्छु। अचेल ‘पुस्तक किन पढ्ने ?’  प्रश्नमा स्वस्फूर्त प्रतिप्रश्न आउँछ– किन नपढ्ने ? तर, झुर पुस्तक पढेर समय खेरफाल्न मन लाग्दैन। पहिला सोच्थेँ, सच्चा पाठकले कुनै पुस्तक पढ्न सुरु ग-यो भने त्यसलाई पढेर सिध्याउनैपर्छ। तर, अब मेरो सोचाइ परिवर्तित भएको छ। समय अमूल्य छ, त्यसैले जुन पुस्तक पढेपनि मेरो पठन समय सार्थक हुनुपर्छ।

दोहो-याएर नपढ्ने पुस्तक
हाम्रो घरमा सबै पुस्तक प्रेमी छन् र सबैका रुचि फरक छन्। हामी आफ्ना रुचिका पुस्तक र आफूलाई चाहिएको पुस्तक किन्छौं। घरमा भएकापुस्तकको संख्या भन्न सक्दिनँ, अनुमान गर्दा ५–६ हजार जति होलान्। घरका सबै कोठामा -याक छन् र सबै -याक भरिएका छन्। आजको डिजिटल पुस्तकको जमानामा मेरो ल्यापटपमा मात्र केही हजार इ–बुक्स छन्। तर, पुस्तक महँगो हुँदा सबैले ती पुस्तक किन्न नसक्ने अवस्था छ। बेला–बेलामा नयाँ पुस्तकका लागि ठाउँ बनाउन म घरका पुस्तक गाउँघरका पुस्तकालयलाई दिन्छु। कुनै पुस्तक मलाई दोहो-याएर पढ्न मन लागेन भने त्यसलाई संग्रह गर्नुभन्दा अरुलाई पढ्न दिएको राम्रो। पहिले पुस्तकको संग्रह गर्नुलाई ठूलो ठान्थेँ। अचेल लाग्छ, आफूलाई नचाहिने पुस्तक अरुलाई दिँदा सदुपयोग हुन सक्छ। पुस्तकको राम्रो व्यवस्थापन गर्न नसक्दा चाहिएका बेला खोजेको पुस्तक भेटिँदैन, त्यतिबेला झर्को लाग्छ।

नेपालमा छापिएका पुस्तक काठमाडौंमा सजिलै किन्न पाइन्छ। पुराना पुस्तक खोज्न अलि समय लाग्छ, तर भेटिन्छ। विदेशमा छापिएकासमालोचना र सांस्कृतिक सिद्धान्तका सबैजसोपुस्तक काठमाडौंमा सहजै उपलब्ध हुँदैन। त्यस्ता पुस्तक नेपालबाहिर गएका बेला किन्छु। पहिला त धेरैजसो विदेशी नयाँ उपन्यास नेपालमा अर्डर गरेर मगाउनुपथ्र्यो। अचेल सजिलै पाइन थालेको छ।
पछिल्लोपटक लिङ माको सभरेन्स र लेनी जुमाज रेड क्लक्स पढेँ।

पुस्तक र पुरस्कार
कृतिले पुरस्कार पाउँदा पुरस्कार आफैँ पुरस्कृत भएजस्तो होस्, अनि पुरस्कारको महत्व हुन्छ। निष्पक्ष पुरस्कारले लेखकलाई प्रोत्साहन दिन्छ र पाठकलाई पनि राम्रो पुस्तक पढ्न हौस्याउँछ। के पुरस्कार निष्पक्ष हुन्छ भन्नेमा बहस गर्न सकिन्छ ? अहिलेको समयमा नेपालमा पुरस्कारहरुको बाढी आएको छ। यति धेरै पुरस्कार छन्, जसबारे न पाठकलाई थाहा हुन्छ, न त सर्वसाधारणलाई। नेपाल सानो ठाउँ भएकाले प्रायजसो लेखकलाई सबैले चिनेकै हुन्छन् र सबैप्रति केही धारणा बनाएकै हुन्छन्। त्यसैले पुरस्कृत हुने कृतिको नाम सार्वजनिक हुनासाथ पाठकबीच अनुमानको खेल सुरु हुन्छ– राजनीतिको आधारमा, चिनापर्चीको आधारमा, कृतिमा रहेको विचारका आधारमा। यसले कृतिको विशेषता ओझेलमा पर्छ। कसरी सुरुवात भयो अनुमानको खेलको परम्परा ? सायद विगतका पुरस्कार जितेका कृतिहरुले अनुमान गर्ने संस्कृतिलाई बढावा दिएका होलान्। साथै पुरस्कृत गर्ने कमिटीमा को को छन् भन्ने कुरा पनि पाठकले थाहा नपाएर होला अनुमान गर्ने संस्कृति बढ्दै गएको। निष्पक्ष र वस्तुगत पुरस्कारले, जजहरुको पारदर्शिताले साहित्य लेखनलाई सघाउ पु-याउँछ।

हावर्डको पुस्तकालयबाट एकैचोटि सयवटा पुस्तक निकाल्न पाउने सुविधा देखेर म अचम्भित भएकी थिएँ। अमेरिकाका पुरस्तकालयले मेरो लेखनमा ठूलो मद्दत पुगेको थियो।  

कुनै पुस्तकले पुरस्कार पायो भन्दैमा म त्यसलाई किन्दिनँ। पुरस्कार नपाएका थुप्रै क्लासिक पुस्तक मेरा प्रिय पुस्तक हुन्। अहिलेका लेखक अरुन्धति रोय, सलमान रुश्दी, मञ्जुश्री थापा, चिममन्डइन्गोजी एडिचीका पुस्तकले पुरस्कार पाए वा पाएनन् भन्ने कुरा मेरा लागि महत्व राख्दैन। राष्ट्रिय पुरस्कार पाएको धेरै पुस्तक म किन्दिनँ। नेपालमा मेरा केही प्रिय लेखक छन्, उनीहरुले लेखेका पुस्तक (पुरस्कार नपाएपनि) म किनेर पढछु।

नेपाली पुस्तकमा भूपिनको ‘मैदारो’, उमा सुवेदीको ‘सयौं पुतली’, सुजित मैनालीको शिलान्यास, तर्कना शर्माको ‘जेब्रा क्रसिङ’, शिवानी सिंह थारुको ‘काठमाडौंमा एक दिन’ र कुमार भट्टराईको ‘अश्वत्थामा’ र संगीता खड्काको ‘युद्धका ती दिन एक पत्रकारको भोगाइ’ हो। यीमध्ये केही पुस्तक राम्रा छन्।

पुस्तकालय
मैले सबैभन्दा पहिले स्कुलको पुस्तकालय प्रयोग गरेकी हुँ। तर, त्यसबारे मलाई त्यति सम्झना छैन। त्रिभुवन विश्वविद्यालयको भवन देखेर जति उत्साहित भएकी थिए, त्यहाँ राखिएका काम नलाग्ने पुस्तकहरु देखेर त्यत्ति नै हतोत्साहित पनि भएँ। सञ्जीव उप्रेती (मेरा श्रीमान्) विद्यावारिधिका लागि अमेरिका गएका बेला म पनि सँगै गएकी थिएँ,त्यतिबेला अमेरिकाकापुस्तकालयबढी प्रयोग गर्ने अवसर पाएँ। एउटा संयोग, हिन्दी र संस्कृत बुझ्ने भएकाले अमेरिकास्थित ब्राउन विश्वविद्यालयको पुस्तकालय ‘जोन डी रकफेलर’मा केही समय जागिर गर्ने अवसर पाएँ। त्यतिबेला त्यहाँ वर्षौंदेखि क्याटलग गर्न नसकिएका संस्कृत, हिन्दी र उर्दुका पुस्तकको क्याटलग मैले गरेँ। पछि म त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्दै थिएँ, त्यहीबेला सञ्जीव पोस्ट डाक्टरेट गर्न हावर्ड र बर्कले विश्वविद्यालयजाँदा म पनि सँगै गएँ, त्यहाँ मैले हावर्ड  विश्वविद्यालयको विडनर लाइब्रेरी र युनिभर्सिटी अफ बर्कलेको डो लाइब्रेरी प्रयोग गरेँ। म आफ्नो विद्यावारिधिको डिजर्टेसन लेखनमा व्यस्त थिएँ, तर काठमाडौंमा मैले खोजेको जस्तो सन्दर्भ पुस्तक पाउन सकेकी थिइनँ। हावर्डको पुस्तकालयबाट एकैचोटि सयवटा पुस्तक निकाल्न पाउने सुविधा देखेर म अचम्भित भएकी थिएँ। अमेरिकाका पुरस्तकालयले मेरो लेखनमा ठूलो मद्दत पुगेको थियो। 

पुस्तकालय पुस्तकहरुको संग्रहालय मात्र होइन, पुस्तकालयमा जीवन हुन्छ, जहाँ प्रश्न र जिज्ञासा बोकेर आउने पाठकले उत्तर भेट्छन् र मार्गदर्शन पाउँछन्। खै किन हाम्रो देशमा पुस्तकालयको परम्परा छैन र निकट भविष्यमा पनि सुलभ सार्वजनिक पुस्तकालय बन्ने कुनै सम्भावना छैन। गाउँघरमा पुस्तकालय नहुनुकाआर्थिक, सामाजिक, भौगोलिक विकटता लगायत कारण होलान्, त्यहाँ पनि पुस्तकालय आवश्यक छ। काठमाडौंमा र अरु सहरमा राम्रो सार्वजनिक पुरस्कालय नहुनु लज्जाजनक स्थिति हो। सरकारी बजेटबाट पुस्तकालय बनाउन सम्भव छैन भने ठूला व्यवसायी र व्यापारिक घरानाले मद्दत गर्न सक्छन्। वा, एनसेलले नतिरेको कर उठाएर, भ्रष्टाचारबाट कमाएको पैसा जफत गरेर, राम्रो पुस्तकालय बनाउन सकिन्छ होला। देशभरि भ्यु–टावर बनाउने योजना छ रे ! भ्यु–टावरले राष्ट्र विकासमा कसरी सघाउ पु-याउँछ, त्यो मलाई थाहा छैन, तर सुलभ र सुविधाजनक सार्वजनिक पुरस्कालयहरुले भविष्यका राष्ट्र निर्माणकर्तालाई तयार गर्छ भन्नेमा दुईमत नहोला। पुस्तकहरु महँगो भइरहेको अवस्थामा निम्नवर्गका पाठकका लागि पुस्तकालय आवश्यक छ।

विशेषगरी महिलाका लागि घरमा पढ्ने–लेख्ने वातावरण हुँदैन। शोधकार्य र अनुसन्धानका लागि एकान्त ठाउँको अभाव, समयको अभाव, रिसर्च सामग्रीको अभावका कारणपनि महिलाको दृष्टिकोणबाट पुस्तकालय झन् आवश्यक छ।
(ध्रुवसत्य परियारसँगको कुराकानीमा आधारित)

प्रकाशित: २८ भाद्र २०७६ ०३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App