१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल

रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत बिहीबार लगनखेलको थतिटोलमा नरिवल खसाल्ने जात्रा बिहीबार सम्पन्न भएको छ। मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ।

नरिवल खसालेको भोलिपल्ट महिलाले मात्रै रथ तान्ने गर्छन्। रथलाई तान्दै लगनखेल पु-याएपछि खुसीयालीमा रथको माथिबाट नरिवल खसाल्न थालिएको मान्यता रहिआएको छ। किंवदन्ती अनुसार नरिवल खसाल्ने दिनलाई पाटनवासीले उत्सवको रूपमा लिन्छन्। त्यतिबेला रातो मच्छिन्द्रनाथलाई लगनखेल नपु-याउन्जेल पाटनवासी ढुक्क थिएनन्। जब पाटनमा पु-याए त्यसपछि उनीहरू खुसी भएका थिए। नरिवल खसाल्ने दिन रथको टुप्पोबाट योमरी पनि खसालिएको थियो। रथमाथिबाट खसालिएको नरिवल वा योमरी समात्ने व्यक्तिको पहिलो सन्तानको रूपमा छोरा जन्मिन्छ भन्ने मान्यता छ।

नरिबल खसाल्ने दिनकै अवसरमा लगखेलस्थित सप्तपात्ताल पोखरीमा रेहका माछाहरू समात्ने चलन पनि छ। यो चलन रथजात्रा सुरु हुनुअघिदेखि नै चल्दै आएको किंवदन्ती रहेको संस्कृतिविद् हरिराम जोशीले जानकारी दिए। उनले अहिले यो पोखरी सुकेको छ। ‘ऐतिहासिक पोखरीको क्षेत्रफल साँघुरिएको छ,’ उनले भने, ‘अहिले पोखरीको एक कुनामा मात्रै थोरै पानी देखिन्छ, नरिवल खसाल्ने दिन यहाँ दुईवटा माछा छाडिन्छ र समातिन्छ, पुरानो अस्तित्व लगभग गुम्यो भन्दा फरक पर्दैन।’ उनको भनाईमा पहिले यो पोखरी धेरै गहिरो थियो। पोखरीमा धेरै माछा पाल्ने गरिन्थ्यो। रातो मच्छिन्द्रनाथ जात्राको बेला माझीहरू माछा मार्न यहाँ आउँथे। यसरी पनि रातो मच्छिन्द्रनाथ माँझी समुदायका हुन् भन्ने मान्यता छ।

गत सोमबार बेलुकी रथलाई थैनाबाट तान्दै लगनखेल पु¥याइने छ। बुधबारदेखि तान्न सुरु गरिएको रथलाई साइत अनुसार ललितपुरमा विभिन्न भित्री टोल तथा मन्दिर क्षेत्र परिक्रमा गराइन्छ। रथजात्राको पहिलो दिन गत बुधबार रथलाई पुल्चोकबाट गाःवहाल पु¥याइएको थियो। २२ गते मच्छिन्द्रबहालमा राखिएको मच्छिन्द्रनाथ देवतालाई खटमा राखी रथमा विराजमान गराइएको थियो। देवतालाई पुल्चोकस्थित रथमा विराजमान गराएको भोलिपल्टदेखि गाईदान, शान्तिस्वस्ति लगायत पूजा गरिने चलन रहेको गुठी संस्थान ललितपुरका शाखा प्रमुख शैलेन्द्र पौडेलले बताए। पहिलो दिन पुल्चोक–गाःवहाल, दोस्रो दिन गाःवहाल– मंगलबजार, तेस्रो दिन मंगलबजार–सुन्धारा, चौंथो दिन सुन्धारा–थैना पु-याइएको थियो पाँचौं दिन ठैना–लगनखेल, छैटौं दिन लगनखेल इटिटोल हुँदै रथ जात्रा सञ्चालन गर्दै नरिवल खसालिएको हो।

मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित भएको संस्कृतिविद् जोशीको भनाई छ। उनका अनुसार करिब १६ सय वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ। नेवारी परम्पराअनुसार ३२ हात अग्लो रथ बाजागाजाका साथ ललितपुरका विभिन्न टोलहरु परिक्रमा गराउने परम्परा छ। वि.सं. ५४६ देखि जात्रा सुरु भएको किंवदन्ती छ। यो जात्रालाई सहकालका देवताका रुपमा हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीले पनि मनाउँछन्। १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालिन राजा नरेन्द्रदेवले यो जात्राको सुरुआत गराएको पौराणिक कथन छ। हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्ने गर्छन्।

जावलाखेलमा भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङमती पु-याउने परम्परा छ।  रातो मच्छिन्द्रनाथको रथलाई ६–६ महिना पाटन र बुङमतीमा राख्ने गरिन्छ। जात्रा सकिएर बुङमती पु-याइएको रथ ६ महिनासम्म त्यही राखेर साइतअनुसार पाटन मच्छिन्द्रबहालमा ल्याएर राखिन्छ।

प्रकाशित: ३ जेष्ठ २०७६ ०७:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App