१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्य

पुरानै जग्गामा घर बनाउँदा पहिरोपीडित जोखिममा

जलजला–८ स्थित पहिरोपीडितको बन्दै गरेको एक घर। तस्बिरः नागरिक

पर्वत– २०७५ साउन १ को मध्यराति भीषण वर्षा भयो। वर्षाले जलजला गाउँपालिकाको वडा नम्बर ७ र ८ मा तीन दर्जन बढी परिवार विस्थापित भए। पहिरोमा परी जलजला गाउँपालिका–८ स्थित लस्तीका १६ वर्षीय विकास परियारको ज्यान गयो। त्यही पहिरोले घर लगेका १९ परिवारले अहिले नयाँ घर निर्माण गर्दै छन्।

जलजला गाउँपालिकाको विशेष पहलमा घर निर्माण भइरहे पनि पुरानै ठाउँमा घर निर्माण हुँदा जोखिम कायमै छ। नयाँ घर निर्माण भइरहँदा खुसी लागे पनि पहिरो गएकै स्थानमा घर निर्माण हुँदा जोखिम कायमै रहेको पहिरोबाट निधन भएका विकासका बाबु बमबहादुर परियारले बताए। ‘नयाँ घर बन्दै गर्दा खुसी त छौं तर हाम्रो चाहना अन्य सुरक्षित ठाउँमा राखियोस् भन्ने हो,’ उनले भने।

अझै पनि छोराको यादले रातमा बर्बराउने उनीसहितका १९ परिवारले नयाँ घर बन्दै गर्दा खुसी भए पनि पुरानै ठाउँमा बन्दा भने त्रास कायमै रहेको बताउने गरेका छन्। गत साउन १ गते राति बस्ती माथिबाट धमाधम पहिरो खसेर सोत्तर बनेको गाउँ अहिले झट्ट हेर्दा भरिभराउ हुँदै गरेको छ। गाउँलेहरू पुरानै ठाउँमा बस्न थाले पनि वर्षाको समयमा भने ढुक्क छैनन्।

नयाँ घर निर्माण भइरहँदा खुसी लागे पनि पहिरो गएकै स्थानमा घर निर्माण हुँदा जोखिम कायमै रहेको पहिरोपीडितहरूको गुनासो छ।

गाउँपालिकाले विभिन्न दाताहरू खोजेर यहाँका पीडितलाई नया“ घर बनाउन सुरु गरेको छ। नयाँ घर निर्माणका लागि अन्तर्राष्ट्रिय पर्वत समाज र असल छिमेकी नामक संस्थाले सहयोग गरेका छन्। प्रतिपरिवार तीन लाखका दरले सहयोग रकम आएकोमा बाँकी स्थानीयले श्रमदान गरेका छन्। त्यसबाहेक पर्वत र पोखराका लायन्स क्लबहरूले समेत आर्थिक सहयोग गरेका थिए। एउटा घर निर्माण गर्दा कम्तीमा सात लाख खर्च हुने अनुमान छ। दुई महिनाअघि निर्माण सुरु गरेका घर केही हप्ताभित्रै निर्माण सम्पन्न हुँदै छन्।

वर्षाअगावै घर सकिएर सर्ने सुरसार गरेका पीडितहरू नयाँ बासमा सर्न पाउने खुसीसँगै आगामी वर्षामा पहिरो दोहोरिने चिन्तामा छन्। ‘एकै राति १३ वटा पहिरो खसेका थिए,’ स्थानीय पीडित अम्मर परियारले भने, ‘अहिले पनि यहा“ पहिरो नखस्ला भन्न सकिन्न। रोकथाम केही भएको छैन। अब पहिरो खसे हामी कता जाने?’ पहिरोपीडितले नयाँ जमिनको व्यवस्था गरी बस्ती बसाइदिन आग्रह गर्दै आएका थिए।

नयाँ जमिनको व्यवस्था गरी घर निर्माणका लागि गाउँपालिकाको स्रोतले नधानेपछि पुरानै ठाउँमा गाउँपालिकाले घर निर्माण सुरु गरेको थियो। गाउँपालिकाले नयाँ बस्तीका लागि प्रदेश र संघ सरकारलाई अनुरोध गरे पनि सुनुवाइ नभएको जलजला गाउँपालिका–८ का अध्यक्ष हरिविकास जिसीले जानकारी दिए। स्थानीयले भने राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासम्म पहिरोपीडितलाई भेट्न आए पनि बोलेको पूरा नगरेकोमा गुनासो गरेका छन्।

‘सांसददेखि राष्ट्रिय सभाका अध्यक्षसम्म पहिरो हेर्न आए,’ स्थानीय गणेश नेपालीले भने, ‘आउनेजति सबैलाई बिलौना गरियो । हाम्रा लागि कसैले नयाँ ठाउँ देखाइदिएनन्। जोखिम मोलेरै नयाँ घरको जग हालियो।’ भत्किएका घरका अवशेष हटाएर नयाँ घरका जग हाल्दा पहिरोले तर्साएको यादले नछोडेको स्थानीयले बताए।

गाउँपालिकाले बस्ती आसपासमा सुरक्षित जग्गा नभेटेपछि पुरानै ठाउँमा यताउता सारेर बस्ती पुनर्निर्माण गर्न लागिएको जनाएको छ। ‘सबै बस्ती सार्न पुग्ने जग्गा कतै भेटिएन,’ जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले भने, ‘पहिरो रोकथाम गर्न मिल्नेगरी दायाँबायाँ सारेर घर बनाइएको छ। गाउँपालिका त्यसप्रति सचेत छ।’

नजिकैको लस्तीखोला र आसपासका स–साना खोल्सा नियन्त्रण गर्न तारजाली र अन्य संरक्षणका कामका लागि गाउँपालिका र सम्बन्धित निकायमा माग गरिएको उनले बताए। ‘उतिबेलै जलउत्पन्नबाट काम हुने भनेको थियो। पछि त्यो कार्यालय नै खारेज भयो। अब अरूतिर माग गरेर काम सुरु गर्छौं।’

प्रकाशित: २३ वैशाख २०७६ ०६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App