१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

मनको ज्योतिले चम्केका गगन

गगन आले। तस्बिर/रोहित राई

गगन आले पूर्वाञ्चल ज्ञान चक्षु विद्यालय, धरानमा कक्षा १० मा पढ्छन्। उनी पढाइमा पनि मेधावी छन्। उनले गीत गाएर थुप्रै पुरस्कार जितिसकेका छन्। गायनसँगै उनी बाँसुरी, गितार, हार्मोनियम, किबोर्ड र ड्रम पनि बजाउँछन्।

उनी जन्मँदै संसार अँध्यारो थियो। दुवै आँखामा उज्यालो भएन। जन्म दिने आमा बुबा पछिसम्म पनि उनको भविष्यबारे चिन्ता गरिरहन्थे। त्यो कुराले उनको मनमा पनि काँडा बनेर बिझिरहन्थ्यो। ‘म किन यस्तो भएँ ?,’ पछिसम्म पनि उनलाई यस्तै लाग्थ्यो।

संखुवासभाको पुरानो चैनपुरमा जन्मिएका गगन आले मगर अहिले १५ वर्षका भए। विगतमा जस्तो ‘म किन यस्तो भए ?’ भन्ने प्रश्न र हिनताबोध अहिले उनमा छैन। उनले बाहिरी आँखा नदेखेर के भो त ? भित्री आँखाले उनी संसार चियाउँछन्। बाहिरी उज्यालो नदेखेर के भो ? उनीसँग भित्री उज्यालो छ। बाहिरी उज्यालो र संसार देख्नेहभन्दा उनमा कैयौं प्रतिभा छ। कला छ।

‘पहिला चैँ किन यस्तो भएँ भन्ने लाग्थ्यो, अहिले त कमजोर छु भन्ने महसुसै हुँदैन,’ आत्मविश्वास भरिएको स्वरमा गगनले भने। सानैदेखि गगन धरान–१५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा ब्रेललिपि पढ्न आए। अहिले कक्षा १० मा पढ्छन्। पढाइमा उनी मेधावी छन्। एक पटक दोस्रो(शिशु कक्षा) भएबाहेक निरन्तर कक्षामा पहिलो बन्दै आएका छन्। पढाइमा अब्बल रहेका गगन पुर्वाञ्चल ज्ञान चक्षुका प्रतिभाशाली विद्यार्थीमा पर्छन्। उनले आफ्नो  गायन कला एवं प्रतिभाले सबैलाई कायल बनाएका छन्।

धरानका थुप्रै कार्यक्रमहरूमा गगनले गायन कला प्रस्तुत गरिसकेका छन्। अधिकांश कार्यक्रममा उनले भक्तराज आचार्यको ‘जहाँ छन् बुद्धका आँखा...’ बोलको गीत गाउँछन्। यो गीत उनलाई प्रिय लाग्छ। हुन त उनी सबै प्रकारका गीत सुन्न र गाउन मन पराउँछन्। ‘विशेष गरी चलचित्रको प्रेम गीत र देशभक्ति गीत मन पराउछुँ,’ उनले भने, ‘मनपर्ने गायक चैँ स्वरुपराज आचार्य हो।’

उनले स्टेज प्रस्तुति मात्र दिएका छैनन्, स्रोत केन्द्र स्तरीय, जिल्ला स्तरीय गायन प्रतियोगितामा प्रथम हुँदै पूर्वाञ्चल क्षेत्र स्तरीयमा पनि प्रथम पुरस्कार जितिसकेका छन्। गायनसँगै उनी बाँसुरी, गितार, हार्मोनियम, किबोर्ड, ड्रम पनि बजाउँछन्। विद्यालयकै सिनियर दाइहरूबाट उनले बजाउने प्रेरणा पाएका हुन्। उनको वाककला पनि राम्रो छ। जिल्ला र क्षेत्रीय स्तरका थुप्रै वादविवाद प्रतियोगिता पनि जितेका छन्। विद्यालयको बाल क्लबका अध्यक्ष पनि छन् गगन।

पिताजीको प्रेरणा  
गगनले गाउने प्रेरणा पिताजीबाट पाएका हुन्। भारतीय सेनामा कार्यरत बुबाले गगन सानो उमेरमा रुँदा गीत गाइदिएर फकाउने गर्थे। त्यो बेला बुबाले उनलाई स्वर्गीय गायक खेमराज गुरुङको चर्चित गीत ‘वारि जमुना पारि जमुना..’ गाइदिन्थे। छोरालाई फकाउन, भुलाउन बुबाले गाइदिँदा त्यसको प्रभाव छोरामा पथ्र्यो। ‘बुबाले गाउनु भएको त्यो गीत

मलाई कण्ठै छ। बुबाकै कारण मलाई गीत, संगीतमा रुचि बढ्यो,’गगन भन्छन्। पछि उनले अरुको गीत सुन्ने र आफैं गाउन थाले। करिब ९ वर्षको उमेर हुँदा उनी राम्रो गाउन थालिसकेका थिए। कक्षा ५ मा पढ्दा संगीत सिकेका सिनियर दाइ(विद्यार्थी) डिल्लीराम दुलालले उनलाई स्वर अभ्यास र राग सिकाइदिए। यसले उनको गायन कलालाई राम्रो बनायो। विद्यालयकै संगीत शिक्षक सन्दीप प्रधानबाट पनि उनले धेरै ज्ञान पाए। प्रधानकै स्डुडियोमा उनले ब्रायन आडम्सको एभ्रीथिङ आइ डु बोलको कभर गीत पनि रेडर्क गराए।

गगन भविष्यमा गीत, संगीत क्षेत्रमै निरन्तर लागेर राम्रो गायक बन्न चाहन्छन्। उनलाई मन पर्ने अर्को क्षेत्र पनि छ, रेडियो जक्की(आरजे)। उनी भन्छन्,‘म राम्रो कलाकार बन्न चाहन्छु। र, मलाई मन पर्ने अर्को क्षेत्र पनि छ, आरजे। आरजे पनि हुन चाहन्छु।’

प्रकाशित: १४ वैशाख २०७६ ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App