१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

बादल मडारिँदा मनै अँध्यारो !

माघ अन्तिम साता परेको झरी सकिएको छ। तर, भक्तपुर, चाँगुनारायण नगरपालिकास्थित एक इँटा उद्योगमा कार्यरत मजदुर सागर रसाइलीको चिन्ता भने अझै हटेको छैन। यसको कारण हो– आकाशमा बादल मडारिनु। केही दिनयता बादल मडारिन थालेकाले पुनः झरी भएर इँटा गल्छ भन्ने उनलाई चिन्ता छ।

माघ अन्तिम साता परेको झरीले दुई महिनादेखि बनाएका इँटा गलाएको उनी दुखेसो पोखे। उक्त झरीमा चाङमा रहेका ५० हजार र भुइँका १० हजार हाराहारी इँटा गलेको उनले बताए। ‘यो झरी कतिका लागि रमाइलो भयो होला,’ उनले भने, ‘तर, हाम्रा लागि भने सबैभन्दा ठूलो पीडा बन्यो।’ उनी श्रीमती र भाइसँगै इँटा बनाइरहेका छन्। एक हजार इँटा बनाएबाफत एक हजार दुई सय रूपैयाँ पाउने गरेको उनी बताउँछन्।

‘यो झरी कतिका लागि रमाइलो भयो होला। तर, हाम्रा लागि भने सबैभन्दा ठूलो पीडा बन्यो।’

रामेछापबाट आएका ५० वर्षीय नारायण खड्काको पीडा पनि उस्तै छ। दुई साताअघि इँटा बनाउन आएका उनले आफूले पारेका इँटाको पहिलो खेप नै पानीले खाइदिएको सुनाए। ‘बल्लतल्ल तीन हजार पारेको थिएँ,’ उनले भने, ‘त्यो सबै गलेर सखाप भयो।’ यो उनीहरूको मात्र पीडा होइन, मुलुकभरका इँटा उद्योगमा देखिएको साझा समस्या हो। यसबाट इँटा मजदुर र व्यावसायी दुवै पीडित छन्। धादिङमा मात्र चार करोड ८५ लाख ३० भन्दा बढीको काँचो इँटामा क्षति पुगेको छ। वर्षाका कारण पोल्नका लागि तयारी अवस्थामा राखिएका इँटा कामै नलाग्ने गरी बिग्रदा करीब २३ करोड रूपैयाँ नोक्सान भएको धादिङ इँटा व्यावसायी संघका अध्यक्ष एकराज गजुरेलले जानकारी दिए।  

फागुन पहिलो साता आकाशमा बादल मडारिएसँगै इँटा उद्योगमा कार्यरत मजदुरको मन फेरि अँध्यारो भएको छ।

वर्षात्को असर तराईमा पनि उत्तिकै परेको छ। बारा, पर्सा इँटा व्यवसायी संघका महासचिव रविन्द्रप्रसाद यादवले करोडौं रूपैयाँ बराबरको इँटा गलेको सुनाए। बारा र पर्साका करिब दुई सय इँटाभट्टा संचालनमा रहेकोमा अधिकांशमा क्षति पुगेको उनले बताए। मंसिरदेखि वैशाखसम्म इँटा उत्पादन हुने समय हो। वर्षभरिको माग धान्न सोही समयमा करोडौं इँटा तयार पारिन्छ। वर्षा छल्न हिउँदमा गरिने यो कामलाई वर्षाले बिथोलेपछि वर्षभरिको उत्पादनमा असर पर्छ। यसले मजदुरको कमाई बिथोलिने मात्र होइन, उनीहरू ऋणमा पर्ने सम्भावना उत्तिकै हुन्छ। त्यसैले पनि होला– आकाशमा बादल मडारिएसँगै इँटा उद्योगका मजदुरको मन अँध्यारो देखिएको।

आफूहरूले गरेको मेहनत झरीले गलाएपछि मजदुरहरू निरास छन्। महिला र केटाकेटीको सहयोगले तयार पारिएका इँटा गलेपछि उनीहरू उदास हुनु स्वभाविकै हो। ‘बिग्रेका इँटालाई फेरि मुछेर माटो बनाउँदै छौं,’ एक इँटा उद्योगमा कार्यरत मजदुर सन्तोष बिकले भने, ‘यो जति दुःख कहिल्यै लाग्दैन।’

प्रकाशित: ४ फाल्गुन २०७५ ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App