१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘नेतृत्व लिनेको भिजन सही भएन’

नवीन आचार्य, युवा नेता।

तपाईँको विचारमा सहर भनेको के हो ?
जनघनत्व बढी भएको, व्यवस्थित र सुविधायुक्त घना बस्ती नै सहर हो । सहरमा मानिसका सपना जोडिएका हुन्छन् । शिक्षा, स्वास्थ्य, रोजगार खोज्दै गाउँ–गाउँबाट मानिसहरू सहरभित्र पसेका हुन्छन् । हरेक पक्षका अधिकार सहरी प्रशासनले सम्बोधन गरेको हुनुपर्छ । अर्को कुरा, सहरमा आधुनिकतासँगै पौराणिक र मौलिक पक्ष झल्किएको हुन्छ । मौलिकता बिनाको सहरको अस्तित्व रहन्न । बाहिर पर्यटकको प्रवेश नै सहरबाट हुने हुँदा त्यहाँ देशका चिनारी सजाइएको हुन्छ । सहरका हरेक पक्ष व्यवस्थित पारिन्छ । नीति नियम र कानुनले सबैलाई बाँधेको हुन्छ।

यी पक्षलाई हेर्दा हाम्रा सहर कस्तो लाग्छ ? 
कठै भन्न मन लाग्छ । किनकि हाम्रा सहरमा जे–जे नीति नियम छ त्यो नियम पुग्दो छैन । सहरमा मनपरी छ । पहुँचमा हुने जतिसुकै भ्रष्टाचार गरेपछि छुट पाउँछन् । राज्यका हरेक निकायमा काम गर्ने कर्मचारी गैर जिम्मेवार छन् । सरकारले कडिकडाउ गर्न नसकेपछि सहरवासी पनि छाडा पशुजस्तै छन् । नीति नियमलाई कुल्चेर काम गर्ने प्रवृत्ति छ । राज्य कमजोर भएको फाइदा ठूलावडा र पहुँचमा हुनेले उठाइरहेका छन् । सामान्य मानिसको जीवनस्तर दयनीय छ । राज्य बलियो हुन्थ्यो र दीर्घकालीन योजना सञ्चालन गरिएका हुन्थे भने आज हामी यति भद्रगोल र विदेशीले गिज्याउने अवस्थामा हुने थिएनौं ।

काठमाडौं सहर कस्तो लाग्छ ?
काठमाडौं सहर संसारकै अनुमप सहर हो । तर, हामीले यसको महत्व बुझेनौं । अनेक सम्भावना बोकेको सहरलाई सामान्य सम्झियौं । राजनीति नेतृत्वले पनि यहाँको महत्व बुझ्न सकेन । राजनीतिक लडाइँमै सहर विकास गर्ने समय खेर गयो । जब सहरमा मापदण्ड विपरितका कंक्रिट ठडिए, खुला ठाउँ भरियो, मानिसको चाप बढ्यो तबमात्रै हामीकहाँ सहर विकास गर्छौं भनेर नेताहरू कुर्लिन थाले ।

अब भन्नुस् यस्तो अवस्थामा कसरी फेरिन्छ काठमाडौं ?
अनेक अध्ययन गरेर अलिकति व्यवस्थित पार्छु भनेर लाग्ने हो भनेपछि ठूलो चुनौती हुनेछ हाम्रो लागि । बेलैमा सोचेर काम गरेको भए आज सहर यति भद्रगोल र अव्यवस्थित हुने थिएन । सोच र भिजन नभएको नेतृत्वले सहर बिगार्यो ।काठमाडौंकै कुरा गर्दा, हाम्रा सहरमा अनेकौं मौलिकता र इतिहास लुकेको छ । त्यसमध्ये उपत्यका त विशेष कला संस्कृति र मौलिकता भएको ठाउँ हो । तर, विकास निर्माणका नाममा सहरका अस्तित्व विनास गरियो । पुरानो हरियाली र मौलिकता विस्तारै लोप हुँदैछन् । नयाँ पुस्ताले नेपाली संस्कृतिलाई आधुनिक र बाहिरी संस्कृतिलाई रोजेको पाइन्छ । यस्तै–यस्तै सोचका कारण हाम्रा मौलिकता पर धकेलिँदै छन् । यसको संरक्षण गर्न जरुरी छ ।

घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
उपत्यका र पोखरा राम्रो लाग्छ । काठमाडौं, ललितपुर र भक्तपुरका मौलिकता बोकेका सहर एकदमै फरक विशेषता बोकेका सहर हुन् । यहाँका पाइने विषेशता विश्वमै पाइँदैन । तर, अहिले यहाँको सौन्दर्यता ध्वस्त भइसक्यो । उपत्यका कंक्रिटले भरियो । यहाँका पुराना सडक गल्लीमा परिणत भए । खाली जमिन भेटाउनै मुस्किल भइसक्यो ।

नेपालबाहिर कहाँ–कहाँ घुम्नुभएको छ ?
नेपालबाहिर केही देशका सहर घुमेको छु । भारत, चीन र युरोपका सहर घुमेको छु । बाहिरी मुलुकका सहर हेर्दा हाम्रा सहर त सहर नै होइनन् जस्तो लाग्छ । किनभने हामी आधुनिकता र व्यवस्थित सहरको धरातलबाट धेरै पछि परेका छौं । हामीकहाँ मानवीय तवरले जे जति काम भएका छन्, ती सबै अपर्याप्त छन् । सहरलाई नियममा बाँधेर हामीले दीर्घकालीन विकासका योजना अघि बढाउन सकेनौं जसका कारण पनि हामी संसारका अरु देशको तुलनामा धेरै पछि परेका छौं भन्ने लाग्छ।

विदेशका सहर घुमिरहँदा नेपालका सहर पनि यस्तै भइदिए हुन्थ्यो, अनि यसरी नै विकास गर्नुपर्छ भन्ने सोच आउँदैन?
किन नहुनु ! आफ्ना सहर पनि यस्तै भइदिए हुन्थ्यो । विदेशका हामीले देखेका आधुनिक पक्ष नेपालमै देख्न पाए हुन्थ्यो भन्ने लाग्छ । तर, कसले गर्ने भन्ने पक्ष सम्झँदा दिक्क लाग्छ । हामीकहाँ राजनीतिदेखि विकासका योजना भद्रगोल अवस्थामा छन् । राजनीतिले सही मार्ग र सही नेतृत्व पाउदो हो त आज हामीकहाँ निम्छरो विकास हुनेथिएन । जनताले यतिविधि सास्ती खेप्नुपर्ने अवस्था आउने थिएनन् । यदी युवालाई नेतृतव लिने पालो दिने हो भने सहरको मुहार फेरिन्छ जस्तो पनि लाग्छ ।

उपत्यकाको मनपर्ने पक्ष के हो ?
उपत्यका मौलिकता बोकेको एक जीवन्त सहर हो । यहाँ हाम्रा पुर्खाका कलात्मक सांस्कृतिक सिर्जनाहरू छन् । ती सिर्जनाले पनि हाम्रो मौलिकता झल्काएको छ । अझ आज भन्दा केही वर्षपछाडि फर्केर हेर्दा उपत्यका अहिलेभन्दा निकै व्यवस्थित थियो । जनघनत्व बढेसँग सहर अस्तव्यस्त भएको छ । यसलाई व्यवस्थापन गर्न जरुरी छ । यहाँको मौसम पनि विश्वलाई लोभ्याउने किसिमको छ । यहाँको मौसम र कला संस्कृति हेर्न विदेशीहरू तानिएका छन् ।

यहाँको मन नपर्ने पक्ष ?
उपत्यका ज्यादै क्राउड भयो । सबैतिर अस्तव्यस्ता मात्रै देखिन्छ । मानिसको चापसँगै यातायात र अन्य पूर्वाधारको चाप बढ्यो । सहरले खाजेजस्तो र मिल्दोजुल्दो विकास काठमाडौंमा भएन । काठमाडौंकै मौलिकता र जीवन्तता देखिने गरी विकासका काम गरेको भए हामी अहिले यस्तो अवस्थामा हुँदैनथ्यौं होला । खास भन्ने हो भने कंक्रिटले सहरको पुरानो इतिहास खोस्दैछ । पुरानो पक्षलाई जोगाएर नयाँ विकासका योजना अघि बढाउन सकेको भए हाम्रो सहरको गरिमा गुम्ने थिएन होला ।

उपत्यका उजाडिँदै जानुको खास कारण के होला ?
मुख्य कुरा जनसख्या वृद्धि पनि हो । जसका कारण बस्ती बाक्लिँदै गए । मानिसहरूले आनन्द खोज्दै जाँदा सहरका धेरै राम्रा पक्ष गुमेका छन् । अग्ला भवनले उपत्यकाको पुरानो रूप गुम्यो । अब ती पुराना चिज हामीले फिर्ता ल्याउनै सक्दैनौं । बरु सरकारले उपत्यकाको हरियालीलाई ध्यानमा विकास निर्माणका काम गर्न जरुरी छ ।

के गरियो भने सहर राम्रो बन्ला ? 
कानुनको पालना गर्नुपर्छ । दोहोरो गाडी पास हुने बाटो  बनाउनुपर्छ । सहरलाई राम्रो र व्यवस्थित पार्न सरकार मात्रै जागेर हुँदैन, स्थानीयको साथ सहयोग पनि उत्तिकै जरुरी छ । पुराना बस्ती, सहर, संस्कृति, भौतिक संरचना,  जीवनशैलीलाई ख्याल राखेर विकासका काम गर्न आवश्यक देखिन्छ । यहाँ भएको सेवा सुविधालाई अन्त सार्नुपर्छ । अहिलेको सरकारले फ्लाई ओभर बनाउने भनेको छ । तर, त्यसो गर्दा बाटोको चौडाई पुग्दैन । त्यसैले सोच विचार गरेर विकास निर्माणका काम गर्नुपर्ने देखिन्छ ।

तपाईँ कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
स्वच्छ, हराभरा, सुविधायुक्त, सुरक्षित, मौलिक र आधुनिकता  झल्किएको सहरको परिकल्पना गर्छु । म बसेको सहरमा सबैको अधिकार समान होस् । राज्यप्रति नागरिक र नागरिकप्रति राज्य उत्तरदायी बनोस् । विकासले सबैलाई केन्द्रमा राखोस् । अन्य मानवीय आवश्यक पूरा गर्ने सामथ्र्य त्यहाँको सरकारले राखोस् । यति भयो भने सहर राम्रो बन्ला ।

सहरको मौलिकता जोगाउन के गर्नुपर्ला ?
सहरको मौलिकता बचाउन स्थानीय र राज्य दुवै एक भएर काम गर्नुपर्छ । सरकारले ठाउँठाउँमा रुख रोप्ने र पार्क निर्माण गर्नुपर्छ । त्योबाहेक अरु अग्ला घरलाई पनि व्यवस्थित गर्न जरुरी देखिन्छ । बाटो व्यवस्थित पार्नुपर्छ । सहरी क्षेत्र र कृषि गर्ने क्षेत्र भनेर छुट्याउनुपर्छ ।

उपत्यकामा राज्यले दिने सेवा सुविधामात्रै नभएर मौलिक संस्कृतिहरू पनि छन्, त्यसलाई जोगाउन के गर्नुपर्ला ? 
विकास निर्माणका काममा सरकार र स्थानीयको एकरूपता हुनुपर्छ । यहाँका मूर्त र अमूर्त संस्कृतिलाई पहिचान गरी त्यसलाई बचाउन सरकारले छुट्टै नीति बनाउनुपर्छ । मौलिक कल्चरलाई बचाउनेतिर ध्यान पुग्नुपर्छ ।

मन भएर पनि पुग्न नपाएको सहर ?
मैले युरोपका धेरैजसो सहर घुमिसकेँ । सबैको सपनाको सहर अमेरिका पुग्ने रहर पनि छ । त्यससँगै नेपालका पहाडी र हिमाली जिल्ला घुमेर त्यहाँको जीवनशैली अवलोकन गर्ने रहर छ । मनाङ, मुस्ताङ, रारा, वेस क्याम्पलगायत पडाही भेग घुम्ने रहर छ ।

सहरको मिठो लाग्ने खानेकुरा ?
प्रायः दाल, भात तरकारी नै मिठो लाग्छ । विदेशमा छँदा नेपाली परिकारको याद आउँछ । आफूले सक्दो बनाएर खाने कोशिस गर्छु।

सपनाको सहर 
नवीन आचार्य, युवा नेता 

 

प्रकाशित: ७ माघ २०७५ ०५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App