१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

कित्थेको सारङ्गी र डीक्राको स्वर

बिछ्याउनु छ भावनाको जून हृदयको गरामा र अलाप्नु छ सारङ्गीको धुनसँगै आलाप ठाडीभाकामा । पुख्र्यौली पेशा हो उनको सारङ्गीको धुनमा लय मिलाउँदै गाउँदै गाउँगाउँबाट अन्नपानी बटुलेर गुजारा चलाउनु । आखिर जिन्दगी भन्नु एउटा आलाप न हो । कहिल्यै बिछोडको, कहिल्यै विरहको, कहिले पीडाको त कहिल्यै अभावको अलाप निस्किरहेकै थियो जिन्दगीको गोरेटोमा । ०५२ सालदेखि त्यो आलाप गुञ्जिन थाल्यो रेडियोमा । डीक्रादेवी दर्ज भइन औपचारिक रुपमा गायन क्षेत्रमा । सुदूरपश्चिममा गाइने ठाडी भाका र डीक्रादेवी एकअर्काका पर्यायवाचक जस्तै लाग्छन् । त्यो बेला उनले गाएका ठाडी भाका नसुन्ने कमै थिए होलान् सुदूरपश्चिममा। 

समय बित्दै गयो डीक्रादेवी एकाएक गुमनाम भइन गायन क्षेत्रबाट । उनका धेरै जसा गीतहरु समेत गायब भए । प्रविधिले नयाँ मोड लिएसँगै उनका एल्बमहरुलाई सिडीमा कन्भर्ट गरिदिने मान्छे भएनन् । स्वर सुने पनि जातकै कारण त्यति वास्ता गरेनन् कसैले । उनलाई त्यस सम्बन्धी केही थाहा थिएन । जिन्दगीका पलहरु चलाउनेक्रममै ब्यस्त भइन । १२ वटा एल्बम निस्केका हुन उनकै स्वरमा । अरु फुटकर गीत कति गाइन कुनै हिसाब छैन । ती क्यासेटहरु रहेनन् । उनले जतन गरेर राखेका क्यासेटहरु पनि जाम भएर काम नलाग्ने भएछन् । सजिलै भेटिएका दुईचारवटा गीत कसैले राखिदिएछ युटुबमा । र सुनाएको थिए भेट भएको बेला उनलाई । आफ्नो स्वर सुनेपछि आखँभरि आँसु टल्काएर भनिन् – ’अब ती दिनकी सम्राइ मात्तर त रइ।‘

प्रज्ञाप्रतिष्ठानको प्राङ्गणमा भेटघाटका क्रममा कवि श्यामल दाइले केही महिना अघि मात्रै सम्झएका थिए मलाई डीक्राको नाम । श्यामल दाईले सुनाएका थिए डीक्राले गाएको गीतको एक पंक्ति –

‘साईकी नाडी मेरा हात चल्ली सुरुसुरु‘। 

गीतको यो पंक्तिले रन्थनायो एकछिन । त्यसपछि खोज्न थाले डीक्राले गाएका गीतहरु । चारवटाभन्दा बेशी भेटाउन सकिनँ युटुबमा पनि । त्यो साई प्रेमी प्रेमिका देखि साहु महाजन, गाउँको जमिन्दार, शामन्त जो पनि हुन सक्छ । त्यो नाडी तिनीहरुमध्य जसको पनि हुनसक्छ । सबै थाहा छ त्यो मान्छेको बारेमा अर्थात त्यसको नाडी छामी सकेको छ तर पनि सकिदैन केही भन्न । केही गर्न । साइको नाडी थाहा पाउने गायिका तिनै डीक्रादेवीका बुढाबुढी धनगढीमा भेटिएका हुन् केही दिन अघि मात्रै।  

बाजुरामा जन्मेकी डीक्रा सानैमा गाउँथिन डेउडा गीत । हातहातमा टेप रेकर्डर बोक्ने त्यतिबेलाको चलन थियो । ती टेपरेकर्डर बोक्ने अधिकांश भारतमा दरवानी गरेर घर फर्केका लाहुरेहरु हुन्थे । त्यो टेपरेकर्डरलाई गाउँघरतिर सुदूरपश्चिमको भाषामा टेर्पिकाट भनिन्थ्यो । डीक्राको स्वर मनपराएर कैयौले रेकर्ड गर्थे टेर्पिकार्डमा उनको स्वर । बाजुराका डाँडापाखामा सुरिलो स्वरमा जब गाउथिन् उनी मान्छेका के कुरा टोलाउँथे डाँडाकाँडा अनि पाखा पखेरु पनि।

बाजुरामा जन्मेकी डीक्रा सानैमा गाउँथिन डेउडा गीत । हातहातमा टेप रेकर्डर बोक्ने त्यतिबेलाको चलन थियो । ती टेपरेकर्डर बोक्ने अधिकांश भारतमा दरवानी गरेर घर फर्केका लाहुरेहरु हुन्थे । त्यो टेपरेकर्डरलाई गाउँघरतिर सुदूरपश्चिमको भाषामा टेर्पिकाट भनिन्थ्यो । डीक्राको स्वर मनपराएर कैयौले रेकर्ड गर्थे टेर्पिकार्डमा उनको स्वर । बाजुराका डाँडापाखामा सुरिलो स्वरमा जब गाउथिन् उनी मान्छेका के कुरा टोलाउँथे डाँडाकाँडा अनि पाखा पखेरु पनि। 

१४ वर्षको उमेरमा बझाङ्गका कित्थे बादीकी सानीमाले उनलाई फकाएर पुर्याइन आफ्नो घर । त्यहाँ पुगेपछि डीक्राको बिहे गरिदिए तिनै कित्थे बादीसँग । यो परम्परा बादी समुदायमा चलिआएकै थियो सदियौंदेखि । उनलाई आफु जन्मेको साल थाह छैन । दिन थाहा छैन अनि थाहा छैन महिना पनि । उनी श्रीमान्भन्दा २ वर्ष कान्छी थिइन रे बिहे हुँदा । उनका श्रीमानको जन्म २०२३ सालमा भएको थियो । यो हिसाबले उनी अहिले ५० वर्षकी भइन् । दश वर्षको उमेरमा बुवा गुमाएका कित्थे आमा बुवाका एक्ला सन्तान थिए । कित्थेका बुवा डोटीबाट गएर बझाङ्ग बसेका हुन् । घरबार नभएका सुकुम्बासी बादी समुदाय डुल्दै जानेक्रममा कोही कतै पुगे कोही कतै। 

जग्गा जमिन केही नभएका बादी समुदायका नर नारीहरु माटोका सुल्पा, हुक्का बनाउने र गाउँघरमा माथिल्लो जातका भनिएका घरमा सुल्पा, हुक्का दिएर खलो उठाउँने गर्थे । खलो उठाउनु भनेको उनीहरुका लागि छुट्याएको अनाज लिनु हो । यसरी खलो बटुल्दै सारङ्गी रेट्दै गीत गाउँदै जीविका चलाउँदा पहाडमा निकै गाह्रो हुनथाल्यो । डीक्राका बुढाबुढी २०४९ सालमा ऐलानी जमिनको खोजीमा पुगे धनगढी । जहाँ एक डेढ महिना बसे तर सकेनन् झुप्रो बनाउने ठाउँ ओगट्न । त्यतिकै फर्किए पहाडतिर । फेरि हानिए तराइतिर २०५० सालमा । त्यतिबेला ३ महिना जति बसे।

अत्तरिया, फुलबारी, चौकीडाँडा, बेल्डाडी कहाँ कहाँ पुगेनन् । कित्थे भन्छन् –‘लेख्दे मान्स भएका भए त ठुलै किता तयार भैसकन्थ्यो ।’ बनपालेले सताउनसम्म सतायो । बन फडानीको आरोपमा १९ दिन जेल बसे उनी । पछि बैतडीका भानबहादुर चन्दको पहलमा निस्केछन् । निकै नै दुःख कष्ट झेलेर कन्चनपुरको बङ्क भन्ने ठाउँमा नौ धुर जमिनमा बस्ने टहरो बनाए । २ कठ्ठा ऐलानी जमिन ओगटेर शिर लुकाउन सानो झुप्रो बनाएकाछन्। 

२०५२ सालमा गायक नरेन्द्रराज रेग्मी र गोरख थापाले चाल पायछन् डीक्राका बुढाबुढी धनगढी आएको र खोजिगरेछन् । नरेन्द्रले डीक्रा र कित्थेलाई साथमा लगेर पुगे भारतको पलियास्थित मिर्चा स्टुडियोमा । जहाँ कित्थेले सारङ्गी रेटे, मादल बजाए, डीक्राले गीत गाइन । पहिलो एल्बम (बसिबियालो) आयो बजारमा । पारिश्रमिकका रुपमा दुइचार हजार रुपैयाँ पनि पाइन । बिस्तारै बजारमा चिनिन थालिन् । त्यसपछि बोलाएका छन् गायक अन्तराम बिष्टले । गायक बिष्टले बैजु एल्बमका गाना तयार पारे काठमाडौंमा डीक्राका बुढाबुढीलाई बस्न खान र आउन जानको ब्यवस्था मिलाएर गीत गाउन लगाए । बैजु नामको एल्बम तयार भयो । फर्कने बेला अन्तराम बिष्टबाट तीस हजार रुपैयाँ पारिश्रमिक पाएकी डीक्रालाई घरखर्च चलाउन ठुलो राहत मिल्यो । त्यसपछि नारायण बिष्ट लगाएत कैयौंले लगानी गरेर डीक्राकै स्वरमा निकाले एल्बम। 

सुदूरपश्चिममा एउटा भनाइ छ –सियो तिखारेको तिखो, काँडो जन्मिदैको तिखो । डीक्रादेवीको स्वर पनि काँडाजस्तै जन्मिदै तिखारिएर आएको हो । स्वरका लागि भगवान्को वरदान पाएकी हुन् उनले । अरुले जस्तो शास्त्रीय संगीत पढ्न पाएकी भए, रातदिन रियाज गरेर गायनलाई नै पेशा बनाएर हिँडेकी भए, डेउडाका साथसाथै आधुनिक गीत समेत गाउन पाएको भए, आज डीक्रालाई संसारले चिन्थ्यो । डीक्रालाई तल्लो जातको भनेर हेप्नेहरुले पनि सिक्दा हुन् केही । कसैकसैले सुनाउँछन् रे माग्ने त हुन भनेर । त्यतिखेर कटक्क दुख्दो हो डीक्राको मन । यो मुकुण्डोधारी समाजले उनीसँग गरेको ब्यवहार खोतलेर उनको मन दुखाउन चाहिनँ मैले । एक घण्टासम्म गरिरहे कुराकानी । अहिले आभाष हुँदैछ सोध्नु पर्ने कुराहरु धेरै थिए । उनका पीडा र दुःखका घटनाले भावुक बनाइ दियो । छुटिहाले छन् सोधुला ठानेका कतिपय प्रश्नहरु। 

उनको हँसिलो मुहारभित्र देखिन्थे दुःख पीडा र जिज्ञाशाका धर्साहरु । गीत गाउँदा पाएको पारिश्रमिकका कुरा गर्दा पुनः भक्कानिएकी थिइन् । सँगै गीत गाउने गायिका हरिना साउँद र पवित्रा भण्डारीले चलेको रेट अनुसार जति हो त्यति पारिश्रमिक नदिउन्जेल मान्दैनथिन । उनीहरुलाई खुरुक्क दिन्थे पनि एल्बमका लगानीकर्ताले । तर डीक्रालाई ५०० दिनु पर्ने ठाउँमा कसैले तीन सय, कसैले दुई सय, अनि कसैले त सय रुपैयाँ मात्रै पनि दिएर गए । उनी चर्को बोल्न सक्दैनथिन् । हाँसेरै भन्थिन्– ‘अलिकति त बढाइदिए पन हुँदो हो त? ‘तर दिँदैनथे धेरैजसाले परिश्रमिक वापतको सबै पैसा । अरु भोलिपर्सि मिलाउला भन्दै हिँड्थे।  ‘मलाई दलित भएकै कारण हेपेका हुन् तिनले । मेरो बारेमा अर्कै सोचेका हुन्– मनमनै सोच्थिन् उनी । वादी समुदायमा जन्म लिएकोमा सराप्थिन् आफैलाई । देखिन्थिन् निकै नै उदाश मुद्रामा। 

बझाङ्गकै एकजनाले उनलाई गीत गाउन बोलाएछन् धनगढीमा रहेको संगीत सौगात स्टुडियोमा । पुरै एल्बमको गीत गाउन लगाएछ । उनले गायका सबै गीतहरुको परिश्रमिक जोड्दा ३५०० हुन आउँथ्यो । परिश्रमिक दिनु त कताकता एकछिनका लागि भनेर डीक्राबाट उल्टै २०० रुपैयाँ मागेर हिँडेछ । त्यसपछि आएनछ वर्षौसम्म सम्पर्कमा । एकपल्ट बझाङ्ग जाने क्रममा डीक्राका बुढाबढी चढेकै बसमा बीच बाटोमा चढेछ त्यो मान्छे पनि । सीटमा बस्न नपाउँदै आँखा जुधेछन् डीक्रासँग । ठाडो टाउको नगरीकन बसेछ र अधिल्लो स्टेसनमै  उत्रिहालेछ । आफ्नो पैसा माग्न पनि मलितसँग हात जोडेर अनुरोध गर्नु पर्ने समाजमा त्यतिखेर केही पनि भन्न सक्ने सामथ्र्य थिएन उनमा । उनी एकोहोरो हेरि मात्र रहिन् त्यसलाई । र सम्झिन् आफ्नै गीतका दुई पक्तिः 

खुट्टा खायो चप्पलले हात खायो बालाले

यसै गरी खाएइ भन्यो करिम सालाले 

उनको मनमा बिद्रोह जन्म्यो तर बिजुली चम्केझैं एकछिनमै बिलाएर गयो । आखिरमा सकिन आफैसँग र धिक्कारिन आफ्नै कर्मलाई। 

ठिकै भनिन् उनले । यदि उनी बाहुन क्षेत्रीको घरमा जन्मेकी हुँदिहुन त यो देशकी निकै ठूली, लोकप्रिय गायिकामा दर्ज भैसक्दि हुन् । उनलाई ठाउँठाउँमा छुट्टै मान सम्मान र इज्जत मिल्दो हो । मैले उनका बारेमा लेख्ने मनसायले उनको फोन नम्बर पत्ता लगाउँदै जाँदा अनुरोध गरेको थिएँ कयौंलाई । डीक्राकै टेलमा बस्ने कतिपय मलितदेखि हिजोका दिनमा दलित जनजाति र गरिबको उध्दारका निम्ति लागिपरेको देखाउने सामाजिक कार्यकर्ता भनाउँदाले पनि मलाई सिधै भनेकाछन्– ‘त्यो बदेनीका पछि के लागिराखेको ? के पाइन्छ ती भाँणका पछि लागेर ?’ यस्ता कुरा सुन्दा दुखेको हुँ म आफै पनि । यतिबेला सम्झिरहें– कति दुख्दो हो डीक्राहरुलाई ? कति सहेर बस्न सकेका होलान् तिनले। 

०६६ सालदेखि चटक्कै छोडिदिइन् उनले गायन क्षेत्रलाई । बीचमा मुम्बै, ब्याङ्लोर र काठमाडौंमा भएका कार्यक्रममा गीत गाए पनि उनी हराइन् गीतसंगीतकै क्षेत्रबाट । फेरि गायन क्षेत्रमा फर्कनु प¥यो । त्यसरी नबस्नू भनेर सम्झाउने कोही भेटिएनन् अहिलेसम्म। ९ वर्षसम्म गायन क्षेत्रबाट एकाएक हराउनुको पीडा एकातिर छ भने । त्यो समयमा घटेका घटनाहरुको दर्दनाक श्रृखला छुट्टै छ । सुरुमा भन्न सकिनन् उनले ती श्रृखलाहरु । बिस्तारै आँखाका डीलसम्म पुगेका आँसु रोक्दै सुनाइन घटनाक्रम। 

एक समयकी चर्चित गायिका डीक्रा अचेल ओझेलमा छिन् । उनी पुनः गायनमा फर्कन चाहन्छिन् । भन्छिन्, ‘गाउन त म दिनभरि नै गाउन सक्छु । कार्यक्रममा गाउनु पर्दा लगातार ४ घन्टासम्म गाउन सक्छु।’  

बुवा वितेपछि डीक्राले आफुसँगै ल्याइन जन्मैदेखि बोल्न नसक्ने सुस्तमनस्थितिकी दिदी, आमा र ३ जना बहिनीहरुलाई । लोग्नेको सहयोगी भएकाले नजिकमा सानो झुपडी बनाइदिएर रेखदेख गरिरहिन् दिदी, बैनी र आमाको । एउटी बहिनीको बिहे गरिदिइन । २ छोरा समेत भैसकेका थिए ती बैनीका । उनी आफ्नै घरमा थिइन्। अरु बैनीको बिहे गर्ने उमेर भएको थिएन । गीत गाएर अलिअलि कमाई भैरहेकै थियो । डीक्रामाथि एकाएक ठूलै बज्रपात भयो । समय यस्तो आइदियो कि, वर्षैपिच्छे छोड्दै गए सबैले । सुरुमा ती २ सन्तानकी आमा २० वर्षीय बहिनीले धर्ती छोडिन् । त्यसको ठिक एक वर्षपछि आमा गइन कहिल्यै नफर्किने गरेर।

वर्षदिन पछि फेरि १५ वर्ष कि एउटा बहिनी, अर्को वर्ष फेरि १५ वर्ष पुगेकी अर्की बहिनी र अन्तमा ती लाटी दिदी सबैले छोडे डीक्रालाई । फिलिमको पटकथा जस्तै भयो जिन्दगीको त्यो मोड । आफै पनि बाँचुला जस्तो लागेको थिएन डीक्रालाई । लगातार ५ वर्षसम्म छोडी जानेहरुका नाममा बगाइरहिन् आँसुका धारा । पलायन भइन गायन क्षेत्रबाट । दुई छोरा दुई छोरीलाई शिक्षा दिन नाक कानका गहना बेचिन । तर सोचे जस्तो पढिदिएनन् कुनैले पनि । एसएलसी पास नगर्दै छोडे पढाइ । छोराछोरी सबैको बिहे भैसक्यो । नातीनातिना छन् छोराछोरीबाट।

अब फेरि फर्किने मन छ उनलाई गायन क्षेत्रमा । आफै एल्बम निकाल्ने सोच नभएको पनि हैन । कुरो आउछ उही पैसाको । स्वरको चिन्ता छैन उनलाई । ’दुईचादिन अभ्यास गरे पुग्छ‘ – सजिलैसँग भनिदिइन् । दिनमा कति घण्टा गाउन सकिन्छ भन्दा उनी भन्छिन् – ‘गाउन त म दिनभरि नै गाउन सक्छु । कार्यक्रममा गाउनु पर्दा लगातार ४ घन्टासम्म गाउन सक्छु।‘ 

अब बाँकी रहेको उमेर यही क्षेत्रमा बिताउन पाए हुन्थ्यो ठान्छिन् उनी । ’श्रोतालाई स्वर सुनाउने धोको छ ? नयाँ नयाँ भाकाका गीत आइरहेको समयमा मेरो स्वर कत्तिको सुनिदिन्छन् श्रोताले थाहा छैन? तै पनि एकपटक फेरि यो क्षेत्रमा फर्किने मन लागेकोछ’ – कुराकानीको अन्तमा सुनाएकी हुन् उनले।  

छुट्टिने बेला आफ्नो सुरिलो स्वरमा सुनाएकी हुन उनले यी मार्मिक पंक्तिहरु ः

हात्लामा धान्का बाला छान्ना आलु खेती

लाग्माया कलेजी खाने लैजा माया रेटी

प्रकाशित: १३ आश्विन २०७५ ०८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App