१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

हाम्री नारीवादी आमोई

वर्षले कति वर्ष हो, उनी जान्दिनन् । न त साल । न त फेसबुकले नै उनको जन्मदिनको याद सम्झाउँछ । न त साथीहरूबाट केक अनि फूलका गुच्छाहरूको उपहार।

उमेर कति हो त ?खोई ! कति बिसा हो । तैं हिसाब गर ।साल नि ?सालसाल म जान्दिन । ९० सालको भुँइचालोमा सात वर्षकी थिएँ । अब तैं भन म कति वर्षकी भएँ ।उमेरको खुट्टयाउने जिम्मेवारी मलाई नै सुम्पिदिइन् आमोइले । क्यालकुलेटरै थिच्नुपर्ला जस्तो भो।

तिमेरले जस्तो पढ्न पाएको भए पो हिसाब किताबआउँथ्यो त । हिसाब गर्न परे यसो अम्ला भाँच्छु । आफ्ना चोरी औंला र माझीऔंला देखाउँदै आमोई बोलिन् ।मुहारमा रहेका सहस्र चाउरी माझ निधार अझ चाउरी पार्दै भएका चाउरीलाई मुजामुजामा बटार्दै आमोई बोलिन् । अब यो उमेरमा पढ्न जाने के, नजाने के । जाने बेलामा जानेर नै पो के गर्नु छ र ? सारा जान्नेहरूले पनि एक दिन जानैपर्छ आखिर।

आमोईले भावुक बोली बोलिन् । जानेकाले जानु नपर्ने कुनै शास्त्र–पुराणमा छैन क्यारे !आमोई अझ गहिरो भावमा डुबिन् । जान्ने भएर जानु नपरेका वा नगएका कोही छन् भने भन् ।म अवाक् भएँ । मसँग संसारको यो रीतिविपरितको उदाहरण कहाँ को होला र ? बरू मभन्दा कान्छाकान्छी सबै गैसके । धन्न म त यो उमेरसम्म टिकेकै छु । त्यो पनि तगडै । तिमेरले केही हेर्न गर्न परेको होइन ।आफ्नो उमेर र सु–स्वास्थ्यमाथि गर्व गर्दै आफ्ना चाउरिएका आँखिभौं उचाल्दै बोलिन् आमोई।

त्यस्तै १०–१२ वर्षकी थिएँ होला तेरा बाउसँग बिहे हुँदा । आमोई नोस्टाल्जिक भइन् । अहिले पो डडाँक भएर मूला छिप्पिएझैं छिप्पिएर डुकु पलाएर काठ पस्ने बेलामा बिहे गर्ने चलन आयो त । के भाको हो । ख्वै ! राम्रो हो कि के हो ? पढेर जान्ने बुझ्ने भएर सबै कुरो आफैंले बुझेर गर्नु राम्रै होला अब । आजकल सबै पढेलेखेका जान्नेसुन्ने । हाम्लाइ त के थार ।”आफूले पढ्न नपाएको गुनासो र अहिलेका पढेर जान्नेभैं भन्नेहरूलाई एकैपटक दनक दिइन् आमोईले ।हेर्, यहाँ सुन् मोरा, आमोई आफ्नै सुरमा बग्न थालिन् । माग्न त मलाई सात वर्षकै उमेरदेखि आका रे ।

तर मेरी आमाले सानै छ भनेर मात्र रोकेकी रे । बिहे भनेको त्यो उमेरमा अनि त्यो समयमा के बुझ्नु र ? अहिलेकाले भए पो जन्मने बित्तिकै त्यो टिभीसिभी हेरेर सबै जान्नेबुझ्ने भएका छन् । म भने बिहे गर्ने कुरो गर्यो कि रोएर भागेर अन्तै खेल्न जान्थें रे । अनि बेलुकाको भात खान पनि नआएर लिन आउनु पथ्र्यो रे । बाउले अब तेरी छोरी काम नलाग्ने भई बिग्री भनेर आमालाई धुन्धान् गर्थे रे ।

बुढी कन्या बस्ने भई तेरी छोरी । कहाँ लगेर बिकाउँछेस् हेरौंला भनेर छुट्टी । बाहुनकी छोरी नाक काट्छे यस्ले भनेर सधैं जात्रा गर्थे रे । आमोई भन्दै गइन् ।दशवर्षकी केटी । त्यो पनि उ बेलाको समयकी । भर्खर खेल्ने खाने उमेरकी । त्यसमाथि घरकी कान्छी छोरी । नामै पनि कान्छी । त्यो पनि पण्डितकी घरकी । घरको काम केही सिन्को भाँचेको भए पो ! भात पकाइमा धुलो धालीको दालभात अनि घाँसपातको तरकारी बाहेक केही अर्थोक पकाको भए पो ।

उसमाथि पण्डितको घरमा बिहे नभाकी छोरीले भान्छा छुन पाए धन्न । गोबर पानीले लेटाउने र लेटाइसकेपछि रातोमाटाले चुल्हो पोत्न त नदिने त्यो बेलामा पकाउने त धेरै परको कुरा । अहिले त्यो उमेरका केटाकेटी नौ बजेसम्म सुत्छन् । स्कुल जान अरूले ठीक पार्देको भात खान पनि सत्र पल्ट बोलाउनु पर्छ । त्यो पनि रिसाएर छुट्टी । अब म त्यो उमेरकी केटीले केको भात पकाउनु । केको भातभान्छा गर्नु । अब त्यो बेला नै त्यस्तै थियो ।नौ–दशवर्षका केटीले भातभान्छा सबै गर्थे होइन र आमोई ? मैले सोधें ।हुन त हो त्यो पनि । तर घर हेरी मान्छे हेरी हुन्छ नि, बाबै ।अघिसम्मको उनको तेजिलो अनुहार एकाएक मलिन देखियो । मुहारको मलिनतालाई ढाक्न निधारमा झरेका ठुटे कपाल पन्छाउन थालिन् आमोई।

यो तिर्खाले खरिएर राँक्किएको काठमान्डुमा पानीको ख्याल हण्डर थिएन बाबै । मानौं उहिलेको तिर्खाले उनको मुख अझै नपलाएझैं गरी भनिन् आमोईले । जाबो एक गाग्री पानी त्यो पनि डोकोमा हालेर दूधपानीडोलबाट ल्याउनु पथ्र्यो । अब त्यो कति खानु कति लाउनु भनेजस्तो । अचाउन पनि नपुग्ला जस्तो । अब भाँडा केले माझ्नु ? लुगा केले धुनु ? फेरी बेलुकी माझेर राखेको भाँडा भोलिपल्ट बिहान पकाउनुअघि चोख्याउनु पर्ने । लुगा भने अहिलेजस्तो दिनका दिन धुने चलन थिएन । पन्ध्र–वीस दिन एक महिनामा एकपटक जस्तो । भाँडा भने घर अगाडिको सानो कुलोमै माझिन्थ्यो । ख्याल कञ्चन पानी बग्दैनथ्यो त्यो कुलोमा । हेर्दै अञ्जुलीमा उभाएर सोझै खाऊँ जस्तो।

उनले आफ्नो अञ्जुली धेरै बेर नियालिरहिन् मानौं त्यसमा अझै कुलोको उही त्यही कञ्चन पानी बगिरहेछ । यो बाङ्गेधारो त धेरैपछि मात्रै आएको हो । तर बागेंधारो चलेपछि भने धेरै सजिलो भो । अरूभन्दा पनि लुगाधुन र नुहाउन भने साह्रै होलो भयो । आमोईको मुहारमा बागें धारोले ल्याएको सहजता अनि पानीको उनी प्रतिको ज्यादति प्रष्टै देखिन्थ्यो।

हेर् बाबू ! तेरो त पास्नी नै कलकत्तेकालीकोमा गर्देको हो । यसो भन्दै गर्दा आमोईका मुहार र आँखा एकैसाथ गर्व र साहसले चम्किएका थिए । आमोईले साल नजाने पनि यो करिब ४०–४५ वर्ष पहिलेको कुरा हो । अब त्यस बखत एउटा सग्लो अक्षरसम्म छिमोल्न नसक्ने स्वास्नीमान्छे सोधखोजका भरमा ७–८ महिनाको दूधे बालकबोकेर कलकत्तासम्म कसरी पुगी होलिन् । अहिले सम्झँदा कहाली लागेर आउँछ । आमोईका मनका डर, साहस र उत्साह एकैसाथ प्रकट भए । आज यत्तिका वर्षपछि यहाँबाट लगनखेल–रत्नपार्क पुगेर आउन त मान्छेका आधा जिऊ गल्छ।

हामीले गरेको भनेको यातायात व्यवस्थाको विकास र भौतिक पूर्वाधारको जगमाथि ठूलै बज्र प्रहार गरिन् आममोईले । झन्डै आधा शताब्दी पार गरेर विकासको रफ्तारमा होमिएको भनिएको आजको युगमा मान्छेले ढपक्क ढाकेर कुनै पर्व–विशेषको तयारीमा छपक्क सिंगारिएर हिँडेको बाहनझैं लाग्ने जनकपुर–जयनगर र गोरखपुरका रेलको अवस्था हेर्दा त्यस वखतको त्यो साहसिक र रोमाञ्चक यात्राका लागि मैले आमोईलाई नमन् नगरी रहन सकिन।

ब्राह्मण कूलकी कान्छी छोरी । दाजुहरू सबै पण्डित । तर पनि स्वास्नीमान्छेले पढ्ने कुरामा खोइ किन के कुरामा आपत्ति हुन्थ्यो यी लोग्ने मान्छेलाई । पढ्न दिएनन् । लुकीलुकी सिकेका दुईचार अक्षर पनि बिहे भएपछि घर व्यवहारले पोलेर खाइदियो । लोग्नेमान्छे प्रतिको आक्रोश र आफूले पढ्न नपाएको कुण्ठा सबै एकै सासमा निकालिन् आमोईले । यी अहिले गर्ने गरेका पाठहरूर स्तोत्रहरू त त्यो बेलामा बाआमा र दाजुहरूले पूजाआजामा पाठ गर्दा सुनेर कण्ठस्थ भएका हुन् । उनले कृतज्ञता जाहेर गरेझैं गरिन्।

बिहेले व्यवहार जन्मायो । व्यवहारले जिन्दगी पढायो । जिन्दगीले फरक परिवेशमा जिउने र बाँच्ने कला सिकायो । आमोई दार्शनिकझैं प्रस्तुत भइन् । तेरा बालाई हजुरबाले व्यवहारमा पत्याएनन् । त्यहिँबाट सुरू भयो मेरो व्यवहारको संघर्ष । आमोई गम्भीर भइन् । खेत हेर्नुपर्यो । बारी हेर्नुपर्यो । मलवी ऊ ज्याला पानी सबै हेर्नैपर्यो । भातभान्छा तिथि सराद् छँदैछ ।

व्यवहारमा नसनाता अनि बिहे पास्नी पनि भ्याउनै पर्यो । काँठका खेत पानी बस्ने होइन । असारका खेतालालाई घाम तपाउने कुरा पनि भएन । पानीका लागि लड्नै भिड्नै पर्ने । ज्याला मलबिऊ जुटाउनै पर्यो । गल्दो बित्दोमा बेलाकुबेला भनेर भएन । कसैसँग झर्किनु पर्यो । कसैसँग चिच्याउनु पर्यो । कहिले नरम नम्र अनि कहिले चट्टानझैं कडा हुनुपर्यो । व्यवहारमा कहिले हात फैलाउनु पर्यो । कहिले मुठी कस्नु पर्यो । कहिले धारेहात लाउनु पर्यो त कहिले मुड्की उदाउनु पर्यो।

यी व्यवहारका धारहरूले खार्दाखार्दा यस्तो अविचलित र स्थिर स्वरूप निर्माण भैसकेको हुन्छ जस्ले न त अन्याय गर्न दिन्छ न त अन्याय सहन नै । जब अन्यायका विरूद्ध अवाज उठ्न थाल्छ त्यो पनि स्वास्नीमानिसबाट हाम्रो समाजमा । बस् ! सक्की त गो । बाठी, जान्नेसुन्ने, चर्की आदिआदि । व्यवहारमा म मात्रै दूधले नुहाएकी होइन । कहिले नजानेर । कहिले जान्दाजान्दै । कहिले लोकलाजले त कहिले अक्षमताले थुप्रै भूल भएका छन् मबाट पनि ।
आमोईले आत्मस्वीकृतीमा टाउको हल्लाइन् । यी सबै घटनालाई सामान्य रूपमा लिँदै सिक्दै अघि बढ्नु नै जीवन हो।

आमोईलाई समाजशास्त्रीय ज्ञान पनि रहेछ । मैले जानेसम्म आमोईले समाज परिवर्तनका कुनै ठोस नारा घोकिनन्, जानिनन् र दिइनन् । न त कुनै त्यस्तो उल्लेखनीय प्रगतिशील कदमचालिन् । हेर्दा सामान्यझैं लाग्ने तर व्यवहारका कठिन परीक्षा र संघर्षहरूलाई जुन आँट हिम्मत र उत्साहका साथ सफलतापूर्वक निप्टाउने अदम्य साहस राखिन् त्यो समाज परिवर्तनका लागि आजका प्रगतिशील नारीवादीहरूले उठाउने स–स्वर मुद्दाभन्दा कैयौं गुणा वजनदार थिए । रहनेछन् ।

हाम्री आमोइजस्तै कैयौं आमोईहरूका सामान्य व्यवहारिक संघर्षका गुपचुप कथाहरू नै समाज परिवर्तनको दरिलो आधार स्तम्भ हुन् । आमोईहरूले तयार गरिदिएको व्यवहारिक संघर्षका आधार स्तम्भका कारण आजका अधिकारकर्मीहरूले आफ्ना संघर्षका पाइलाहरू सजिलै अघि बढाउन पाएका छन् । त्यस अर्थमा उनी कुनै नारीवादीभन्दा कम कदकी छैनन् हाम्री आमोई ।

प्रकाशित: २३ असार २०७५ ०१:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App