१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

दिएर नथाक्ने महादानी मैयादेवी

भरतपुर चौबीस कोठीनजिक पूर्व–पश्चिम राजमार्गबाट पूर्वतर्फ हेर्दा एउटा भव्य तीन तले भवन देखिन्छ । सो भवन चितवनको एउटा प्रख्यात कलेजको हो । जहाँ स्नातकोत्तर तहसम्म पढाइ हुन्छ । लगभग हजार जना विद्यार्थी त्यहाँ पढ्छन् । पढ्नेमा सबै युवती मात्रै छन् । १२ कठ्ठा जमिनमा बनेको सो भवन महिला शिक्षाका लागि नमुना बनेको छ । सो कलेजको जग्गा किन्न र भवन बनाउने सबै खर्च सुश्री मैयाँदेवी श्रेष्ठले बेहोरेकी हुन् । त्यसैले कलेजको नाम नै छ मैयाँदेवी कन्या कलेज । नारायणगढ बजारको मुख्य क्षेत्र सहिद चोकबाट केही भित्र बालकुमारी कन्या स्कुल छ । सो स्कुललाई श्रेष्ठले १० कठ्ठा जग्गा आमाको नाममा दान दिएकी हुन् । कांग्रेसको राजनीतिमा सक्रिय श्रेष्ठले दिएकै जग्गामा नारायणगढमा चितवन कांग्रेसको भव्य भवन छ ।

जिल्लाको पार्टी कार्यालयका लागि मात्रै हैन श्रेष्ठले नेपाली कांग्रेस केन्द्रीय कार्यालयका लागि २०५६ सालमा काठमाडौंको रवि भवनमा रहेको लगभग सवा करोड रुपैयाँ बराबरको घर–जग्गा प्रदान गरिन् । नारायणगढ बजारमा आफू बस्दै आएको लगभग आठ करोड रुपैयाँ मूल्य पर्ने घर जग्गा उनले समाजिक कामका लागि ट्रस्ट बनाएर त्यसैलाई हस्तान्तरण गरिन् । १९८५ सालमा जन्मेकी मैयाँदेवी श्रेष्ठले गरेको सहयोगको यी केही नमुना मात्रै हुन् । उनको समाजसेवा र दानको सूची लामै छ तर यत्ति हेर्दा नै थाहा हुन्छ मैयाँदेवीको मन निकै फराकिलो छ । उनी सेवा गर्न भनेपछि आँखा चिम्लेर तयार हुन्छिन् । अहिले ९० वर्षकी भएकी मैयाँदेवीको चितवनमा मात्रै नभएर देशैभर ख्याति फैलिएको छ । उनलाई दानी मात्रै हैन चिन्ने जान्नेहरु महादानी भन्ने गर्छन् ।

संयोगको जीवन
मैयाँदेवी श्रेष्ठको कथा सुन्दा लाग्छ उनको जीवन संयोगले मात्रै जोगिएको हो । जन्मनेबित्तिकै मृत्युको मुखमा पुगेकी थिइन् उनी । ‘मलाई जन्मनेबित्तिकै सिस्नोघारीमा फ्याँकिएको थियो भन्ने सुन्दै आएकी छु,’ मैयाँदेवीले भनिन् । जन्मनेबित्तिकै छोरी भनेर उनलाई मिल्काइएको रहेछ तर उनलाई स्याहार्नेहरु भेटिए । यसरी जीवन पाएकी मैयाँदेवी माया र सेवाकी प्रतिमूर्ति बनेकी छन् । १९८५ साल असोज ४ मा तनहुँको बन्दीपुरमा जन्मिएकी हुन्, मैयाँदेवी । ‘त्यो दिन दसैंको फूलपातीको दिन थियो । मेरी हजुर आमा खड्ग देवताको पूजा गर्न मन्दिर जानु भएको थियो । आमालाई बेथा लागेर सुत्केरी हुनु भएछ । हजुर आमा पूजा गर्दै गर्दा एकजना छिमेकी दौडेदै तपार्इंको छोरीले बच्चा जन्माएर सिस्नोको गाँजमा फालेको छ भन्दै पुगेछन्,’ श्रेष्ठले पुराना कुरा बताइन् ।

पूजा भ्याएर हजुर आमा फर्कंदा साँच्चैको बच्चा देख्नु भएछ । बाहिरबाट खोजेर ल्याएर काखमा राखिदा पनि आमाले नसमाएको उनले बताइन् । ‘हजुर आमाले यसलाई समाउछेस कि लौरोले पिटौं भन्दा पनि आमाले टेर्नु भएनछ । यसलाई नस्याहारे पाप लाग्छ, स्याहारे ठूली मान्छे हुन्छे, दुई चारजनाले मान्ने हुन्छे भन्दा पनि सुनेको नसुन्यै गरेपछि हजुर आमाले नै रातभर कुरेर बस्नु भएछ,’ मैयाँदेवीले भनिन् ।

मैयाँदेवीका बाबु वीरबहादुर श्रेष्ठ जागिर खान्थे । उनी त्यो बेला वीरगञ्जमा थिए । पछिल्लो पटक घर आएर फर्कंदा छोरी पाइस् भने अर्को बिहे गर्छु भनेका थिए रे ! ‘छोरी जन्मिएपछि अब सौता आउने भई भन्ने डरले आमाले त्यसो गरेको पनि हुन सक्छ तर मलाई देवीको कृपा रह्यो । हजुर आमाको साथ रह्यो । मर्न लेखेको रहेनछ । अहिलेसम्म जीवन जगत हेर्न र भोग्न लेखेको रहेछ,’ मैयादेवीले भनिन् ।

जन्मना साथ झ्याङमा फाले पनि आमाले मैयादेवीलाई पछि माया गर्न थालिन् ।  जन्मेको एक दुई महिनामा नै छोरीलाई बोकेर उनकी आमा कपडाको पारम्परिक व्यापारमा हिँड्न थालिन् । ‘आमा देवघाटमा आएर कपडा बेच्नु हुन्थ्यो । म हुर्कदै गएँ । मलाई आडमा राखेर आमाले भनेको कुरा अहिले पनि मलाई कता कता याद आउँछ । यो भाग्यामानी होली कि नहोली भनेर मलाई आडमा राखेर थुमथुमाउँदै सुताएको हिजैजस्तो लाग्छ । तर म ९० पुगिसकेँ,’ मैयाँदेवीले भनिन् ।
    
चितवनको बसाइ
‘चितवनमा त्यो बेला जंगलै जंगल थियो । अहिलेको नारायणगढ बजार क्षेत्रमा घरहरु देख्नै नपाइने अवस्था थियो,’ मैयाँदेवी सम्झन्छिन् । मान्छे लगाएर जग्गा जति फाँड्यो, त्यति आफ्नो हुने जमाना थियो ।    ‘अहिलेको जुन नारायणगढ बजार छ, त्यो वरपर जम्मा चार वटा घर थिए । एउटा घर बाहुनको हुनुपर्छ भनेर हाम्रो बाबाले चार बिघा जग्गा दिन्छु भनेर पाल्पाबाट बाहुन बोलाएर ल्याएर राख्नु भएको थियो । अब भन्नुस्, त्यस्तो ठाउँ अहिले कस्तो भयो,’ मैयाँदेवीले भनिन् । त्यसबेला मैयाँदेवीको घरमा सयवटा भैँसी हुन्थे । बाघभालुको डर हुने भएका कारण मान्छेहरु हिँड्न डराउँथे । दिउँसै भाला लिएर हिँड्नु पथ्र्याे ।    जंगल फाँड्नेलाई आमाले १०/१२ पाथी मकै भुटेर खुवाएको उनी सम्झन्छिन् ।

‘चित्री, हरिणहरु त दिउँसो हाम्रो आँगनमा आउँथे,’ मैयादेविले भनिन् । त्यो बेलाको चितवन र नारायणगढ बजार सम्झँदा मैयादेवी छक्क पर्छिन् । ‘कस्तो ठाउँ थियो कस्तो भयो । समयले, साधनले र ज्ञानले जंगललाई पनि यस्तो बनाउँदो रहेछ । त्यो बेला यस्तो होला भनेर कल्ले कल्पना गर्नु ? म त सम्झँदा पनि छक्कै पर्छु,’ मैयाँदेवीले भनिन् । व्यपार र जागिर भएका कारण घरमा धन सम्पतिको कहिल्यै अभाव भएन । सम्पतिको मोह र लोभ पनि कहिल्यै भएन । बाबा कहिले कहाँ कहिले कहाँ हुने भएका कारण आमाले पनि घर व्यवहार र कारोबार सम्हालेको देखेकी मैयाँदेवीलाई त्यही बेला शिक्षाको अवसर मिल्यो । छ महिना चितवन छ महिना बन्दीपुर बस्ने परिवारले उनलाई पढाउने निधो गर्यो ।

माइजूको स्कुलमा शिक्षा

बन्दीपुरको खड्ग देउता भन्ने ठाउँमा उनकी माइजूले खोलेको स्कुलमा पढाइ सुरु गरेको मैयाँदेवी बताउँछिन् । ‘त्यहाँ मेरी माइजूले आफ्नै पैसाले स्कुल खोल्नु भएको थियो । मलाई पढाउन त्यहीँ लगियो । हामी दिनभर स्कुलमा बस्थ्यौं । चार बजे घर आएर खाजा खाँदा साह्रै खुसी हुन्थ्यौं,’ मैयाँदेवी सम्झन्छिन् । त्यो विद्यालय अहिले भव्य भइसकेको सुन्दा हेर्न जाने रहर जागेको उनले बताइन् । पढाइकै लागि भनेर उनी बन्दीपुरमा बस्न थालिन् । ‘पढ्ने बेलासम्म नारायणगढ र बन्दीपुर गर्नु परेको थियो । ‘एसएलसी पास भएपछि अरु पनि पढ्नु पर्छ भनेर बम्बैसमेत पुगियो,’ मैयादेविले भनिन् । त्यो बेला बम्बैमा घिऊ बेच्ने काम मैयाँदेवीको परिवारले गर्दथ्यो । सात दिनमा खाएर नसकिने घिउ जम्मा हुन्थ्यो । सयवटा भैँसीको घिऊ बाँडेर नसकिएपछि बेच्नु परेको थियो ।

व्यपारको सिलसिलामा बम्बैसँग जोडिएका कारण एसएलसीपछि पढ्न पनि त्यतै जाने अवसर जुरेको उनले बताइन् । आइए पढेपछि घरमा आमा बिरामी भएको खबर सुनेपछि उनी फिर्ता आइन् । त्यसपछि थप अध्ययन अगाडि बढेन । शिक्षा दीक्षा र कहिले यता कहिले उता गर्दा आफूले धेरै कुरा देख्न सुन्न जान्न पाएको मैयाँदेवीले बताइन् । जन्मना साथ फ्याँकिए कि छोरीलाई आमा बाबाहरुले पनि पछि गर्नु स्याहार र  माया ममता दिएको उनले बताइन् । यसका साथै शिक्षा र अन्य अवसर पनि दिएको उनले बताइन् । त्यसैबाट आफूमा आँट र हिम्मत पलाएको उनको भनाइ छ । यही आँटले उनी राजनीतिमा पनि लागिन् ।

बिपीबाट कांग्रेसको सदस्यता

मैयाँदेवी २००३ सालमै राजनीतिमा लागिन् । त्यो बेला नेपाली राष्ट्रिय कांग्रेसबाट उनी राजनीतिमा लागेकी हुन् । ‘त्यो बेलामा बिपी, गणेशमान, कृष्णप्रसाद नै हाम्रो घरमा आउने बस्ने गर्नु हुन्थ्यो । एक दिन खाना खाएर बसेका बेलामा बिपी बोलाएर ए मैया तैँले एउटा काम गर है भन्नु भयो । के काम हो र सान्दाई भनेर सोधेको त कांग्रेसमा लाग् भन्नु भयो,’ मैयाँदेवीले सम्झिन् । आफूले जान्दिनँ के लाग्ने र खै ? मैयाँदेवीले आनाकानी गरे पनि बिपीले यत्तिको चलाख मान्छे राजनीतिमा आउनु पर्छ भनेर सदस्यता दिएको उनले बताइन् । ‘बिपीले नै औँलामा ब्लेडले यस्सो चिर्दिनु भयो । सर्र रगत आयो । त्यो रगतले एउटा कागजमा सही छाप गरियो । त्यो कागजमा चार वटा करार थियो । दिन भन्ने छैन, रात भन्ने छैन । म भन्ने छैन, मेरो भन्ने छैनजस्ता कसम लेखेको कागजमा रगतको सही छाप गरेर सदस्यता लिएको हो,’ मैयाँदेवीले कांग्रेस सदस्यताको कथा सुनाइन् ।

रगतले सही छाप गरेको कागज लिएपछि उनमा राजनीतिप्रति लगाव बढ्दै गयो । सात सालको क्रान्ति हुँदा उनी जन्मथलो बन्दिपुरमै थिइन् । ‘त्यो बेला बन्दीपुरमा गोली नै चल्यो । माथिबाट गोली चलेको छ म यता तल्लो क्षेत्रमा छु । हामी सातजना थियौँ । एक जनालाई त गोली नै लागेर ढल्यो । लोग्नेलाई सेनाले गोली ताक्दा मलाई मार भन्दै अगाडि सर्ने महिलाहरु पनि थिए । महिलाहरुमा पनि हिम्मत थियो,’ मैयाँदेवीले सम्झिइन् । गोली चलाइरहेको सेनाको हातबाट बन्दुक खोस्ने पनि महिलाहरु भएको उनले बताइन् । ‘उमाभद्र श्रीभद्र त्यो बेलाका नेता थिए । उनीहरुको आमाले गोली चलाउने सेनाको बन्दुक नै खोसेको मैले देखेकी छु । खोसेर सेनालाई नै ताकेको देख्दा त म रल्लै ! आमाले मलाई बोलाएर घरमा लैजानु भयो । त्यो बेलामा पनि म बाँचे । नभए गोलीमा पर्ने थिएँ कि !’ मैयादेविले भनिन् ।

कांग्रेस भए पनि मैयाँदेवीका मन पर्ने नेता पुष्पलाल पनि हुन् । पुष्पलाल तीन वर्ष बन्दीपुरमै बसेको उनले बताइन् । त्यही भएर उनका मन पर्ने नेतामा पुष्पलाल पनि पर्छन् । ‘यो पार्टीको ऊ पार्टीको भन्ने भएन नि ! पार्टी फरक भए पनि काम गर्ने देशकै लागि हो । त्यसमाथि झन् पुष्पलाल हाम्रै बन्दीपुरमा आएर लामो समय बसेका थिए, त्यसैले मलाई उनी पनि मनपर्छन्,’ मैयादेवीले भनिन् । बिरामी भएका बेलामा पुष्पलालले आफूलाई भेट्न मन गरेको तर जान नपाएकोमा उनलाई साह्रै थकथकी लागेको छ । ‘नेताहरुले कांग्रेस कम्युनिस्ट भनेनन् । सबैले मिलेरै सल्लाह गर्थे । साह्रै राम्रो नेता हुन्, भाइ पुष्पलाल । पहिलाका नेता सल्लाह गर्थे । सिद्धान्त आ–आफ्नो थियो तर अहिलेका नेताहरु हल्ला मात्रै गर्छन् । यो मलाई साह्रै चित्त पर्दैन क्या !’ मैयाँदेवीले गुनासो गरिन् ।

सासंद मैयाँदेवी

सात सालको आन्दोलन, २०१७ सालमा प्रजातन्त्रको बर्खास्तीपछि प्रजातन्त्र पुनर्बहालीको आन्दोलनमा मैयादेवी सरिक थिइन् । २०४८ सालको संसदीय निर्वाचनमा मैयाँदेवीले गोरखाबाट चुनाव लडिन् । ‘म देवघाटमा बस्थेँ । ध्यान प्रणायाम गर्थें । टिकट पाएको कुरा त्यहीँ थाहा पाएँ । गोरखा गएर चुनाब पनि लडे र जितेँ पनि,’ मैयादेवीले भनिन् । मैयाँदेवीलाई कांग्रेसले २०५८ सालमा राष्ट्रिय सभाको सांसद बनायो । २०६२/६३ को आन्दोलनपछि पुनस्र्थापित सांसदमा मैयाँदेवी श्रेष्ठ व्यवस्थापिका संसद्को सदस्य बनिन् । २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा उनी चितवनको तत्कालीन क्षेत्र नं. ३ मा उम्मेदवार रहे पनि पराजित भइन् । त्यसपछि उनी सक्रिय राजनीतिमा छैनन् तर राजनीतिको चासो हटेको छैन ।   उनीसँग प्रतिनिधि सभा र राष्ट्रिय सभाका महिला सांसदको समूहको निर्विरोध अध्यक्ष चुनिएको उनले बताइन् । महिलालाई दाजु भाइसरह सम्पतिको व्यवस्था होस् भनेर आफूहरु लागेको उनले बताइन् । उनलाई बाबुले दाजुसरह सम्पत्ति दिएका थिए । नेपालका सबै महिलालाई त्यस्तै होस् भन्ने उनको चाहना थियो ।

समाजसेवा र अध्यात्मको संगम

मैयाँदेवीले राजनीतिमा लागेर देश सेवा गर्ने अवसर उपयोग गरिन् । राजनीतिबाहिर पनि उनको फराकिलो पहिचान कायम छ । देवघाट नेपालको मुख्य धार्मिक क्षेत्रमध्ये पर्छ । जन्मेको एक महिना नहुँदै आमाको काममा बसेर देवघाट आउन थालेकी मैयादेवी यो ठाउँको नाम सुन्दा साथै अनुहार चम्किलो पार्छिन् । ‘देवघाट भनेको भगवानको घाट हो । देवताहरु आएको आवाज मेरो कानमा परर्र पर्र आउँछ बाबु,’ मैयाँदेवीले सो धाम प्रतिको आफ्नो लगाव व्यक्त गरिन् । देवघाट धाममा बसेका गलेश्वर बाबा उनलाई सिद्ध पुरुष लाग्छ । देवघाटको गुफामा ध्यान बस्दा दिन रात बितेको उनलाई पत्तो हुँदैन ।

‘२०४८ सालमा चुनावमा उठाउने  निर्णय पार्टीले गरेछ । म त्यो बेला देवघाटको गुफामा ध्यान गर्दै थिएँ । दिनको १० हजार र रातको १० हजार जप गर्दथेँ । मसँग एकजना बाहुनी पनि हुन्थिन् । म जप गरिरहन्थे उनी सत्थिन् । जप गर्दा गर्दा कुखुरी काँँँको आवाज आउँथ्यो । त्यसपछि देवघाटको बेणीमा नुहाउन जान्थेँ । त्यसपछि आयो ध्यान बस्यो,’ मैयाँदेवीले कुनै बेलाको आफ्नो दिनचर्या सुनाइन् । आफूमा धार्मिक भावना प्रवल हुनुको मुख्य कारक आफ्नी आमालाई देख्छिन् मैयाँदेवी । आमा वैष्णव धर्म मान्ने, शुद्ध चोखो आचरणमा बस्ने भएका कारण त्यसैको प्रभाव आफूलाई परेको उनले बताइन् । ‘हाम्रा घरमा त सधैँ साधु सन्त आउने । आमाले दिनु हुन्थ्यो । दिनको एउटा धोती, एउटा कमण्डलु र दिनको एक रुपैयाँ नित्य छुट्याउनु हुन्थ्यो । घरमा खुवा बनाउने, दुधको खुवा खान दान लिन साधुहरु आएकै हुन्थे । धर्म र सेवाको मोह आमाबाटै पाएकी हुँ,’ मैयाँदेवीले भनिन् ।

सम्पत्ति समाजसेवामा
नारायणगढको सेरोफेरो सबै मैयाँदेवीको थियो । रेखदेख आमाले नै गर्ने र धेरै व्यस्त भएको थाहा पाएपछि मैयाँदेवीका मामाले बेच्देऊ भन्नु भएछ । एक हातको एक रुपैयाँ मोल लिदै आमाले बेचेको जग्गामा नै अहिले नारायणगढ बजार बसेको छ । आमा पनि धेरै धनीकी छोरी भएको मैयाँदेवी सुनाउँछिन् ।
आमाका गहना यति धेरै थिए कि मैयाँदेवीले ती गहना कतिपयका बिहे खर्च जुटाउन दिने गरेकी थिइन् । ‘मलाई त्यसरी नै दिन मन लाग्छ, आफू मात्र खान मन पटक्कै लाग्दैन । यो भगवानले नै प्रेरणा दिएकोले भएको होला । सम्पत्तिको माया र हिरिक्क छैन ।’

मैयाँदेवीको परिवार 

मैयाँदेवीका बुबा बीरबहादुर श्रेष्ठ त्यो जमानामा डिठ्ठा थिए । जागिरको सिलसिलामा वीरगञ्ज भएका बेलामा पिताको ज्वरोले निधन भएको उनले बताइन् । बुबा बितेको बेलामा मैयाँदेवीको आमा  गणेशकुमारी ३० वर्षकी थिइन् । मैयादेवीका अरु दिदी बैनी थिएनन् । एकजना दाइ मात्रै थिए । दाइ कमलप्रसादले पनि सानै उमेरमा तीन वर्ष डिठ्ठा भएर पुलिस प्रशासन चलाएको मैयाँदेवीले बताइन् । मैयाँदेवीले बिहे गरिनन् तर उनका चार जना धर्म छोरा छन् । तीमध्ये एकजना टंक पौडेलसँगै मैयाँदेवी बस्ने गरेकी छन् । दाइ कमलप्रसादका सन्तानहरु नारायणगढमै छन् । यसका साथै मैयाँदेवीको ममता नपुगेको ठाउँ र व्यक्ति पनि प्रशस्तै छन् । उनलाई सारा नेपालका दुःखी–गरिबहरु परिवारजस्तै लाग्छ रे ! ‘भगवानले दिएको चीज हो, मसँग अहिले जे छ यो मेरो हैन उनीहरुकै हो । दान दिन आनन्द आउँछ,’ मैयाँदेवीले भनिन् ।

बिहे गर्ने विचार नै आएन
मैयाँदेवीलाई बिहे गर्ने विचार नै मनमा आएन । ‘खै किन हो कुन्नी बिहे गर्छु भन्ने विचार नै पलाएन । राजनीतिमा लागेपछि जेल नेल हुनु पर्छ । यस्तो बेलामा कसरी बिहे गर्ने भन्ने भावना पनि आयो । आखिरमा बिहे नै नगरी बसियो,’ मैयाँदेवीले भनिन् । आमाले बिहेका लागि साह्रै कर गर्ने गरेको उनले बताइन् । ‘अब बिहेको कुरा गरे गंगाजीमा फाल हाल्छु भन्दा पनि आमाले फाल हाले हाल तर कुरा बन्द गर्दिनँ भन्नु हुन्थ्यो,’ उनले भनिन् ।

घर परिवार नाता गोता सबैलाई मैयाँदेवीको बिहेको चासो थियो तर अगाडि परेर कुरा गर्न कमै तयार हुन्थे । केटाहरु पनि निकै तयार थिए । देशभित्र मात्रै नभएर भारतबाट समेत उनलाई बिहे गर्छु भन्ने नभेटिएका हैनन् । नाता कुटुम्ब मात्रै हो र मैयाँदेवीलाई बिहे गर भन्नेमा पार्टीकै मान्छे पनि निस्किए । त्यसमा पनि शीर्ष नेता बिपी र गणेशमानले समेत मैयाँदेवीका लागि केटा खोजेका थिए । ‘मेरो जिद्दी देखेर त गणेशमानजीले भो यसको बिहेको कुरा नगरौं भन्नु हुन्थ्यो रे तर बिपीले त मैयाँदेवी अब तिमीले बिहे गर्नुपर्छ भनेर केटाको कुरोसमेत लिएर आउनु भएको थियो,’ मैयाँदेवीले भनिन् । ‘एक पटक बम्बैबाट इन्जिनियर नै आएर बिपीसँग गएर मैयाँदेवीसँग बिहे गर्छु, कुरा गर्दिनु न भनेछ ।

बिपीले लौ भन के छ विचार भन्नु भयो । मैले बिहेको कुरा गर्ने हो भने कांग्रेसमा पनि बस्दिनँ भनेर हिँडे,’ उनले सुनाइन् । केटोले बिपीलाई सोधेछ, ‘मैयाँले के भनिन् ?’ बिपीले हामीबाट यो कुरा छिनोफानो हुँदैन भनेपछि ऊ फर्कियो । त्यसपछि पार्टीमा पनि बिहेको कुरा उठेन । परिवारले बिहेको कुरा गर्न छाडेपछि पार्टीमा पनि कुरो उठ्न हरायो । जमाना गयो, मैयाँदेवीको बिहे भएन । सानैमा बिहे गर्दिने जमानामा पनि आफ्नो निर्णयमा अडिग हुने ताकत उबेला आएको देख्दा मैयाँदेवी अहिले छक्कै पर्छिन् ।

विलासितामा जानु हुँदैन 

महिलाहरु पहिलेका भन्दा शक्तिशाली भएका छन् तर उनीहरु विलासितामा जान्छन् कि भन्ने चिन्ता मैयाँदेवीलाई छ । ‘दिदी बैनीले मलाई गाली नगर्नु तर विलासितामा लम्केको मलाई त्यति ठीक लागेको छैन । त्यसमा जानु हुँदैन । महिलाले तपस्याले सवैलाई वशमा पार्न सकिन्छ । रक्सी खानु भएन । बरु प्राणायाम र योगासन गर्नु पर्छ । यसले रोग हराउँछ । शक्ति दिन्छ,’ महिलालाई आचरणमा बस्न उनले अपिल गरिन् ।

‘महिलाहरु त ऋषिपत्नी अनुसुया जस्तो हुनु पर्छ नि ! जसले तपस्या गरेरै ब्रह्मा, विष्ण र शिवलाई पनि बच्चाझैँ च्याँ च्याँ रुने बनाइदिए । सीताजस्तो पनि हुनु पर्छ । त्यो जस्तो त नहोलान् तर अहिले अलि त हुन सक्नु पर्यो नि,’ मैयाँदेवीले भनिन् । बोल्दा बोल्दै भक्लक्क मर्नुपर्ने अवस्था बन्दै गएको हुँदा सम्पत्तिको लोभ लालच कसैले गर्न हुँदैन भन्छिन् उनी । मैयाँदेवीले गर्दै आएका कामलाई ट्रस्टमार्फत निरन्तरता दिने योजना रहेको ट्रस्टका महासचिव टंक पौडेलको भनाइ छ । ‘विकट क्षेत्रमा शिक्षा र खाने पानी तथा स्वास्थ्यका योजना बनाउन, महिला, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्न ट्रस्टले योजना बनाएर काम गर्दै आएको छ ।

आमाको कामलाई हामी निरन्तर गर्ने योजनामा छौँ,’ महासचिव पौडेलले भने । मैयाँदेवीलाई समाज र राष्ट्रले दिएर कहिल्यै नथाक्ने समाजसेवीका रुपमा चिन्दै आएको छ । राजनीतिमा इमान्दार र आध्यात्ममा लगाव भएकी मैयाँदेवी ९० वर्षकी भइसक्दा पनि देश र समाजको हित के कसरी गर्न सकिएला भनेर चिन्ता गर्दै बसेकी हुन्छिन् ।

प्रकाशित: १८ पुस २०७४ ०९:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App