१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

नसालु लेखक

मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर
पिउन कति गाह्रो छ...’

कवि भूपि शेरचनले लेखेका यी पंक्ति साहित्यकार, समाज र रक्सीको सम्बन्ध परिभाषित गर्न पर्याप्त छन् । त्यसमाथि लोकप्रिय गायक नारायणगोपालको ‘पिउँदापिउँदै जिन्दगी यो रित्याउन चाहन्छु म...’ बोलको गीत सम्झने हो भने त जोकोही पनि झनै भावुक भइहाल्छ । साथीभाइ तथा समाजले आफूले पिएको सन्दर्भलाई लिएर निरन्तर टिप्पणी गरेको देखेर आजित भएर नै हुनुपर्छ भूपि जवाफस्वरूप कविताका यस्ता हरफ लेख्न बाध्य भएका थिए । प्रजातन्त्रको अनुहार हेर्न नपाउँदै २०४६ सालमा भूपि त बिते, तर साहित्यकारहरू आज पनि रक्सी पिएकोमा समाजका तीखा वचन सुन्नुपर्दा भूपिका यिनै हरफ मनमनै गुनगुनाउन बाध्य छन् ।
संसारभरि नै लेखक र रक्सीलाई पर्यायवाचीजस्तै मानिन्छ । रक्सीले नभेट्ने लेखक र रक्सी नभेट्ने लेखक दुर्लभजस्तै छन् । नेपालका लेखक पनि यो यथार्थको अपवादमा पर्दैनन् । नेपाली साहित्यमा स्थापित हुन् वा सिकारु रक्सीको चुस्कीबाट टाढा कमै छन् । मात्रा फरक पर्ला, दिनहुँ पिउने पनि कम होलान्, तर अधिकांश यसको बाछिटाबाट सिञ्चित छन् । सायद यही कारण होला नेपालमा साहित्यकारलाई ‘रक्स्याहा’ वा ‘जँड्याहा’को विशेषण झुण्ड्याउने गरिन्छ । ‘कस्तो जँड्याहा होला, कविजस्तो’ भनेर लेखकलाई हेप्ने प्रचलन पनि पुरानै हो ।
अनौपचारिक कुराकानीमा सिर्जनाभन्दा पनि रक्सीसँगको साइनो वा लेखकले पिउने परिमाणलाई प्राथमिकता दिएको सुन्न पाइन्छ । यस्तो लाग्छ, उनीहरूले रक्सी सेवन गरेका हैनन्, कुनै अपराध गरेका हुन्, ती दण्डनीय छन् !
‘कवि तथा निबन्धकार गोविन्द वर्तमानको निधनपछिका केही साता काठमाडौँको साहित्यजगत् ‘वर्तमानमय’ भयो । हरेक साहित्यिक कूपमा उनकै चर्चा थियो । मण्डूकहरू एकोहोरो ट्वारट्वार गरिरहेका थिए– ‘गोविन्द वर्तमान उत्पातै रक्सी खान्थ्यो । अरुलाई कहिल्यै ख्वाउँदैनथ्यो, अर्काको खान्थ्योमात्रै !’ रक्सी, रक्सी र रक्सी । कसैले उनको कविताको चर्चा गरिरहेको थिएन, निबन्धको चर्चा गरिरहेको थिएन, स्वाभिमानको चर्चा गरिरहेको थिएन । ‘जब सकिन्छु म÷फूलहरू सकिने छैनन्÷तर सुगन्धको एउटा हिस्सा सकिनेछ’ कसैले यी र यस्ता जीवन्त पंक्तिहरूको चर्चा गरिरहेको थिएन । म स्तब्ध थिएँ । तराजुको एउटा पल्लामा गोविन्द दाइ थिए र अर्का पल्लामा रक्सीको फोसी थियो । एउटा बौद्धिक व्यक्तिलाई यसरी जोखिँदै थियो ।’ कवि तथा पत्रकार विनोदविक्रम केसीले वर्तमानको मृत्युपछि लेखेका यी टिप्पणीले पनि रक्सी र साहित्यकारको सम्बन्धलाई समाजमा कसरी हेरिँदो रहेछ भन्ने गतिलो दृष्टान्त पेश गरेको छ ।
के नेपालमा साहित्यकारमात्र यस्ता प्राणी हुन् जो रक्सी सेवन गर्छन् ? हैन भने उनीहरूलाई मात्र किन तारो बनाइन्छ ? समाजले विस्तारै यसलाई सामान्य मान्दै स्वीकृति दिइसक्दा पनि साहित्यकारसँग जोडेर किन यसलाई यतिविधि बदनाम गरिएको छ ? कसले गरिरहेको छ यस्तो काम ? बिबाह, व्रतबन्ध होस् या अन्य समारोह रक्सीबिना अब आयोजना हुनै नसक्ने भएको छ । समारोहमा राखिएको रक्सी देखाउनमात्र पक्कै होइन, पिउनकै लागि हो । समारोहमा उपस्थितमध्ये अधिकांशले रक्सी पिउँछन्, तर लेखकले पिएकोमा चाहिँ किन यतिविधि चर्चा !
आख्यानकार धु्रुवचन्द्र गौतम गलत सामाजिक माान्यताका कारण साहित्यकारको रक्सी सेवनमा समाजले नकारात्मक टिप्पणी गर्ने गरेको धारणा राख्छन् । नेपाली समाजमा रक्सी पिउनु निन्दनीय काम हो भन्ने मान्यता स्थापित भएकाले नै यो सधैँ टिप्पणीको विषय बन्ने गरेको उनको अनुभव छ ।
‘मलाई त समाजको साहित्यकारप्रतिको आदर्श भाव नै मुख्य कारण हो जस्तो लाग्छ । साहित्यकारलाई समाजको ऐना मानिन्छ र उनीहरूका सिर्जनाले समाजलाई प्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन्,’ गौतम भन्छन्, ‘यस्ता व्यक्तिले रक्सी पिउनु राम्रो होइन भन्ने सामाजिक मान्यताका कारण नै लेखकको रक्सी सेवन आलोचनाको विषय बनेको हो ।’ नेपाली साहित्यजगत्मा गौतम बढी रक्सी खानेमा पर्छन् । कुराकानीका क्रममा उनले आफूले पिउने गरेको सत्य लुकाउन चाहेनन् । उनले १९ वर्षको उमेरमा पहिलो पल्ट रक्सी चाखेको र २४–२५ वर्षदेखि आजसम्म पनि मौका पर्दा रक्सी सेवन गर्ने गरेको बताए ।
‘कुनै आफन्तको बिहेमा गएको बेला पहिलो पल्ट चाखेको थिएँ । त्यस रात खुबै अपराधबोध भयो । तर, त्यसपछिका दिनमा मौका पर्दा खाइन्छ । तर, यो मुद्दा बनाउनुपर्ने विषय हो जस्तोचाहिँ लाग्दैन मलाई । सबै पेशाका मान्छे रक्सी खान्छन् । हामी पनि खान्छौँ । साहित्यकारले खाए भनेर चित्त दुखाउनु पर्दैन,’ गौतमले भने ।
कवि तथा निबन्धकार श्यामलले सामाजिक छविका कारण लेखक साहित्यकारले पिएको ननिको लाग्ने तर्क जायज भए पनि यिनले पिएको कुरालाई अति सामान्यीकरण गरेर पेश गर्ने गरेको दुखेसो गरे । ‘कसैले अनुसन्धान गरेर तथ्यांकले देखाइदेओस् अनि म मान्छु कि लेखकहरू पियक्कड हुन्छन् । नत्र भने लेखक साहित्यकार पिउँछन् भन्ने धारणा नै पूर्वाग्रही छ । यो त आफू केही गतिलो लेख्न नसक्ने अनि लेख्नेलाई खुइल्याउन ल्याएको ‘प्लान्टेड ओपिनियन’ हो,’ उनले भने ।
लेखक साहित्यकारभन्दा राजनीतिकर्मी, पत्रकार तथा अन्य पेशाका मानिसले ज्यादा पिउने भए पनि  ईष्र्याबस व्यर्थको आरोप लेखकलाई लगाउने गरेको उनले बताए ।
पिउने साहित्यकारहरूका बारेमा आमधारणा यो पनि छ कि उनीहरू लेखन ऊर्जाका लागि पिउँछन् । तर, नयाँ पुस्ताका लेखक युग पाठक भने यस्तो धारणामा विमति राख्छन् । ‘फिटान भएर त कोही लेख्न सक्छ जस्तो लाग्दैन, तर मेरो हकमा भने बरु लेखनको थकाइ मेट्न पिउने गरेको छु,’ उनले भने । सािहत्यकारहरू लेख्न बस्दा लामो समयसम्म आफूलाई एकान्तमा राख्ने र निस्किसकेपछि त्यसबाट बाहिर आउन रक्सीको सहारा लिन सक्ने सम्भावना उनी औँल्याउँछन् । ‘कमसेकम मेरो हकमा त यही लागु हुन्छ । किनकि, लेखनको ह्याङ हटाउन आर्थिक हिसाबले पनि रक्सी नै सस्तो र भरपर्दो माध्यम हो,’ उनले भने ।
फिटान हुनेगरी पिएर पनि लेख्न सक्नेमा गौतमको नाम अगाडि आउँछ, तर उनले पनि रक्सी खाएर लेख्ने नगरेको स्पष्ट पारे । ‘मनको आनन्दका लागि रक्सी पिउने हो । लेख्दाखेरी कहीँ न कहीँ मानसिक तनाव हुन्छ नै । आनन्दमा तनाव मिसाउने काम म गर्दिनँ । कसैले मेराबारे यस्तो टिप्पणी गरेको छ भने त्यो मिथ्या हो,’ उनले भने । गौतम आर्थिक र स्वास्थ्यका दृष्टिकोणले रक्सी सेवन हानिकारक भए पनि ‘लिमिट’मा बसेर खाँदा यसले फाइदा दिने बताउँछन् ।
‘पहिले त थाहै भएन, जति भेट्यो त्यति खाइयो । अहिले जब सत्यमोहन जोशीले दीर्घायुको रहस्य बताउने क्रममा हरेक दिन ऐला पिउने गरेको बताउनु भयो त्यसपछि थाहा भयो यसलाई बेग्लै हिसाबले पनि प्रयोग गर्न सकिँदो रहेछ । अब त ढिलो भइसक्यो, तर पनि सक्नेले गरेको राम्रो,’ उनले भने ।
कुनै समय ‘अनलिमिटेड’ रक्सी खाने गरेको भए पनि आफ्नो यही आदतका कारण विश्वसाहित्यबारे जानकारी हासिल गर्ने मौका मिलेको गौतम बताउँछन् ।  
शैलेन्द्र साकार, ध्रुव सापकोटा, नगेन्द्रराज शर्मा, मदनमणि दीक्षित, विनोद दीक्षित आदि गौतमका रक्सी पार्टनर हुन् । मिलनसार स्वभावका गौतम पछिल्लो समय युवापुस्ताका लेखकसँग बसेर पनि पिएको बताउँछन् । पिउने साथीहरूसँगै बसे पनि कवि तथा गीतकार रत्नशमशेर थापा भने पटक्कै पिउँदैनन् । उनका मिल्ने समकालीन साथी कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ तथा मदन रेग्मी, उपेन्द्र श्रेष्ठ पिउँथे । पिएपछि सुरु हुन्थ्यो विश्वसाहित्यमाथि गहन बहस । गौतमले यही वातावरणले आफ्नो साहित्यमा निखार ल्याउन मद्दत गरेको बताए ।
‘हामी बस्दा आआफ्ना गीत, चुट्किला, कविता, कथा तथा उपन्यासका प्लट पनि सुनाउँथ्यौँ । यसमा सबैको आआफ्नो टिप्पणी हुन्थ्यो । यसले एकअर्काका सिर्जना सुधार्न मद्दत हुन्थ्यो । त्यसबाहेक विश्वसाहित्य र स्वदेशी–विदेशी साहित्यकारका कुरा पनि हुन्थे । पिउनु नै मुख्य उद्देश्य रहे पनि यस्तो जमघट धेरै हिसाबले ज्ञानवद्र्धक हुन्थ्यो । अहिले पनि हुन्छ,’ गौतम भन्छन् ।
वैदिक युगदेखि नै रक्सी पिउने प्रचलन रहे पनि यसले बिस्तारै नकारात्मक अर्थ ग्रहण गर्दै गएको नारायण ढकालको अनुभव छ । कुनै समय एलेन गिन्सबर्गका कविताबाट प्रभावित भएर नेपालमा ‘हंग्री जेनेरेसन’को अभियान थालेका उनले सामाजिक मान्यता भत्काउन भनेर नै रक्सी सेवन सुरु गरेका तथ्य ओकले । उनले शुक्राचार्यको कथा सुनाउँदै रक्सी सेवन नकारात्मक बनेको प्रसंग सुनाए । शुक्राचार्यसँग मरेको मानिस ब्युँताउन सक्ने ज्ञान थियो । असुरहरूका गुरु उनले यसअघि देवताले मारेका थुप्रै असुरलाई जीवित पारिदिएका थिए । तर, देवताका गुरु बृहस्पतिमा त्यो ज्ञानको अभाव थियो । त्यसैले आफ्नो छोराले त्यो ज्ञान सिकोस् भनेर उनले कचलाई शुक्राचार्यकहाँ सेवा गर्न पठाए । कच शुक्राचार्यको चेला बनेर बस्न थाले, तर त्यहीँ बस्दाबस्दै शुक्रकी छोरी देवयानीले कचलाई मन पराउन थालिन् । कचको भित्री मनसाय बुझेका शुक्रकै अरु चेला भने कचलाई मारेर त्यो ज्ञान आफूमा सीमित गर्न चाहन्थे । उनीहरू दुई–दुई पटक आफ्नो लक्ष्यमा सफल पनि भए । तर, देवयानीको आग्रहमा शुक्राचार्यले दुवैपटक सञ्जीवनीमन्त्रको सहाराले  कचलाई बचाइदिए । तेस्रो पटक भने बचाउन सकेनन् । शुक्राचार्यका दैत्य शिष्यले यो पटक भने कचको शरीरलाई टुक्राटुक्रा पारेर शुक्राचार्यलाई नै रक्सीको सहारामा पिलाइदिए । पेटमा गएपछि मात्र शुक्राचार्यले थाहा पाए उनले त रक्सीसँगै  कचलाई पनि पिएछन् । पछि उनले त्यही मन्त्रको सहाराले कचलाई पेटबाट जीवितै निकाले, तर त्यो क्रममा आफ्नो ज्यान गुमाए । पछि कचले शुक्राचार्यबाट पाएको मन्त्रको सहाराले शुक्राचार्यलाई त बचाए, तर मदिरा पान गरेका कारण आफूले कचको शरीर पनि मदिरासँगै पिएको सम्झेर शुक्राचार्यले खुनखुन गरे । बस यही समयदेखि मदिराले नकारात्मक अर्थ पायो ।
लेखक साहित्यकारले रक्सी पिउनु मानवीय स्वभाव भएको भन्दै उनीहरूलाई बेग्लै तराजुमा राखेर तौलिन आवश्यक नभएको ढकाल बताउँछन् । ‘लेखक कविहरू विद्रोही स्वभावका हुन्छन् । समाजमा रक्सी पिउन हुन्न भन्ने मान्यता छ । त्यसलाई भत्काउन उनीहरूको विद्रोह रक्सी पिएरै सुरु भएको हो । त्यसबाहेक लेखक हुन् वा अन्य मानिस जसले पनि परम आनन्द प्राप्तिकै लागि रक्सी सेवन गर्छन्जस्तो लाग्छ,’ उनले भने । स्वास्थ्य नबिग्रनेगरी पिउँदा केही फरक नपर्ने उनको भनाइ छ ।
कवि श्यामल पिउने कुरालाई संस्कृतिजन्य हिसाबले पनि विश्लेषण गर्नुपर्ने जिकिर गर्छन् । ‘हाम्रोमा मतवालीमूलका थुप्रै लेखक साहित्यकार छन् । के अब उनीहरूलाई पियक्कड लेखक साहित्यकार भनेर आलोचना गर्ने ? पिउनु उनीहरूको संस्कृतिजन्य बाध्यता पनि हो,’ उनले भने । श्यामलले लेखकको बानीबेहोराका कारणले भन्दा पनि उनीहरूको सिर्जनाका कारण समाजमा रोलमोडल बनेको दाबी गरे ।
‘सबलाई थाहा छ देवकोटा चेनस्मोकर थिए । वासु शशि, हरिभक्त कटुवाल, ईश्वर बल्लभ रक्सी पिउँथे । के यही कारण तपार्इं उनीहरूलाई अगतिला सर्जक भन्न सक्नुहुन्छ ? सक्नुहुन्न । यसको मतलब के हो भने तपाईंले लेखक र उसको सिर्जनालाई अलगअलग आँखाले हेर्नुप¥यो,’ श्यामलले भने ।

पिएर छाडेकाहरू
नेपाली साहित्यमा पिउनेका कथा जति रोचक छन्, छोड्नेका कथा पनि कम रूचिकर छैनन् । केही साहित्यकारले रोग तथा उमेरका कारण पिउन छाडेका छन् भने केहीले पिउने कला नजानेको भन्दै मदिरा बन्द गरेका छन् । कसैलाई जति पिउदा पनि नलाग्ने हुनाले छाडेका छन् । बिहा गरेपछि छाड्ने लेखक पनि केही भेटिन्छन् । नवीन लेखनशैली र दैनिकीका कारण सिर्जनाको दुनियाँमा प्रवेश गरेदेखि नै कुमार नगरकोटी चर्चामा छन् । यिनै नगरकोटी कुनै बेला ‘कोमा’मा जानेगरी पिउँथे । तर, अहिले छाडेका छन् । उनले २१ वर्षको उमेरदेखि दिन नबिराई ३९ वर्षसम्म खाएको बताए ।
‘भयानक खाएँ,’ उनले कुराकानीका क्रममा भने, ‘एक समय त यस्तो लाग्थ्यो कि शरीरमा रगत कम, रक्सी ज्यादा बग्थ्यो । तर, ब्लडप्रेसर हाइ भएपछि केही वर्षअगाडि छाडेँ ।’ पिउनु पनि कला हो भन्ने मान्यतामा उनी विश्वास गर्छन् । त्यसैले उनले पिउन्जेल यसलाई कला मानेर तथा कलात्मक ढंगमै पिए । ‘मलाई हतारहतार खाएर हल्ला गर्ने मान्छे मन पर्दैन । त्यसैले मैले कहिल्यै पनि दारु महलमा गएर खाइनँ । कि त मसान घाटमा खाएँ कि त घरमै खाएँ,’ नगरकोटीले भने । पिउँदा क्वाटर वा एक फुल भ्याउने नगरकोटीलाई हिजोआज भने रक्सीको गन्ध नै मन पर्न छाडेको छ । ‘सायद अब कहिल्यै खान्न होला,’ उनले भने ।
नगरकोटीझैँ रक्सी सेवनलाई कला मान्ने कवि तथा समालोचक पुरुषोत्तम सुवेदी पनि रक्सी सेवन कला हो भन्ने बुझ्न नसकेकै कारण छाडेको बताउँछन् । सानो उमेरदेखि खान सुरु गरेका उनले पनि ३०–३५ वर्ष रक्सी पिएको स्वीकारे । ‘पिउन त पिएँ, तर यो कला हो भन्ने हेक्कै पाइनँ वा भनौँ कला चिन्ने कुरामा खरो उत्रिन सकिनँ । फिट छैन भन्ने थाहा पाएपछि एक दिन छाडिदिएँ । आज २०–२१ वर्ष भइसक्यो छाडेको,’ उनले भने । उनले पनि असीमित मात्रामा रक्सी खाने गरेको लुकाएनन् । पछि त यस्तोसम्म भयो कि उनलाई जति पिएर पनि लाग्नै छोड्यो । रक्सी खाएर धेरैको जस्तो हल्ला गर्ने बानी त उनको थिएन, तर पनि घरमा भएका सानासाना नानीलाई डिस्टर्ब गरेको बोध भएपछि उनले छाडिदिए । रक्सी पिएपछि वाइल्ड हुने, झगडा गर्ने तथा जथाभावी बोल्ने मान्छे उनलाई मन पर्दैन । ‘अचेल साथीहरूसँग पिउने वातावरणमा बस्न त बस्छु, तर खाउँजस्तो भने लाग्दैन,’ सुवेदीले भने ।
पिएर छाड्नेमा कवि तथा कथाकार उपेन्द्र सुब्बा पनि अग्रपंक्तिमा आउँछन् । उनले पनि लामो समयसम्म सेवन गरेपछि छाडेका हुन् । तर, उनले रहरले नभई बाध्यताले छाडेको बताए । पाँचथरको लिम्बु गाउँमा जन्मिएका सुब्बाले जन्मेदेखि नै दूधभन्दा ज्यादा जाँड खाए । ‘मलाई त जाँडको छोक्रा खाएर नै हुर्केको भन्दा हुन्छ,’ उनले रमाइलो पारामा भने, ‘हाम्रो त खाजा पनि जाँड नै हुन्थ्यो हाउ ।’ तर, उनलाई १४ वर्षको हुँदा बेस्सरी मातेकोबाहेक रक्सी लागेका याद छैन । काठमाडौँ आएर पनि उनले पिउन छाड्ेनन् । साथीहरूसँग हुँदा जमेर खाए । तर, २०६३ सालमा शरीरमा युरिक एसिडले आक्रमण गरेपछि भने उनले चाहेर पनि खान पाएनन् । डाक्टरको सल्लाह मान्दै चटक्कै छाडिदिए । ‘नखाने भएपछि मेरो ५ बजेपछिको समय उब्रेको छ । परिवार पनि खुसी छ म पनि खुसी छु,’ सुब्बाले भने ।
अचाक्ली पिएर छोड्नेमा पत्रकार तथा लेखक विजय कुमारको नाम पनि अगाडि नै आउँछ । उनले हालै प्रकाशित आत्मसंस्मरणात्मक कृति ‘खुसी’का पहिला दुई च्याप्टर आफ्नो पिउने बानी र त्यसले निम्त्याएका घटनामा समर्पण गरेका छन् । उनले पुस्तकमा कुनै होटलमा बेहोस हुने गरी रक्सी पिएर पार्किङमा सुतेको र भोलिपल्ट उठेर घर जाँदा परिवार र छोरीको मौन प्रश्नको उत्तर दिन नसकेपछि रक्सी छाडेको चर्चा गरेका छन् ।

 

प्रकाशित: ४ असार २०७३ ०३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App