४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
विचार

सुशीलको सन्तवृत्ति

'मृत्युले जुनसुकै बेला तिमीलाई बोलाउन सक्छ, हरेक क्षण जोकोही मृत्युनजिक पुगिरहेका हुन्छन्। मृत्यु भर्त्सना गर्नुपर्ने विषय होइन। मृत्युले जीवनलाई कमजोर बनाइ समाप्त पार्ने स्वभाव विकास गरेको हुन्छ। तर, यसले आत्मालाई कुनै असर गर्दैन, आत्मा कहिल्यै मर्दैन र नाश गर्न पनि सकिँदैन। मृत्यु त जीवनको अर्को चरण हो।' अद्भूत अध्यात्मिक क्षमताका धनी स्वामी साइबाबाका यी संकथनले जीवजगत्को समाप्तिलाई सामान्यीकरण गर्ने मजबुत सन्देश दिन्छ।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधान मन्त्री सुशील कोइराला अब यो संसारमा छैनन्। ७९ वर्ष बुढ्याएर कराल कालले उनलाई आफ्नो बाहुपासमा जकड्यो। यो दुःखद घटनाले यतिखेर उनका परिवार, नेपाली कांग्रेस , असंख्य शुभचिन्तक र आमजनता शोकाकूल छन्। प्रकृतिको यो नियम संसारका चरअचर प्राणीले भोग्नैपर्ने नियति हो। त्यसैले कृष्णले उद्घोष गरेका छन्– 'जातस्य हि ध्रुवो मृत्युः , ध्रुवं जन्म मृतस्य च' अर्थात् जन्मिएका हरेक प्राणी मर्छन् र मरेका हर प्राणी जन्मन्छन्। यो सृष्टिविधानको शाश्वत चक्र हो। यसैले यो घडी सबैले शोकाकूल भएर भावनामा बढी बहकिनुभन्दा शोकलाई शक्तिमा बदलेर आगामी दिनलाई कुशलतापूर्वक हाँक्नु नै सबैको कार्यभार हुन्छ। जानिफकारहरू भन्छन्– 'शोकः श्लोकत्वमागतः' मतलब शोकको क्षोभलाई श्लोक वा तागतमा बदल्नु जीवन जिउनेका लागि अनिवार्य र अपरिहार्य पक्ष हो।

२०१७ सालपछि भारत निर्वासनका बेला नेता बीपी कोइरालालाई कार्यकर्ताहरू जिज्ञासापूर्वक सोध्ने गर्थे– 'सान्दाजु ,तपाईंलाई केही भएका खण्डमा हाम्रो पार्टी कसले चलाउँछ?' त्यतिबेला बीपीले सूत्रात्मक उत्तर दिँदै भनेका थिए– 'किसुनजी र शैलजा छन्, फेरि सुशील छ नि!' यसरी महान् चिन्तक बीपीले सुशीललाई नेपाली कांग्रेस हाँक्न सक्ने सक्षम युवा भएको कुरा उतिखेरै आफ्ना कार्यकर्तालाई बोध गराएका थिए। वास्तवमा बीपी र जीपीका अगाडि उनी छायाँमा परेका मात्र हुन्। कतिपयले त भन्छन्– गिरिजाबाबु ग्रह हुन् भने उनी उनकै उपग्रह। ०४८ सालदेखि गिरिजा बाँचुन्जेल उनका अक्षमता र असफलता सिउरने भाँडो नै बनेका थिए सादगी नेता सुशील। जस आउने कामजति गिरिजाको पोल्टामा हालेर अपजस आउनेजति उनको भागमा आउँथ्यो। त्यसैले त उनलाई कतिपय अबोध आँखाहरू महाभारतका बदनाम पात्र शकुनिसित पनि दाँज्ने गर्थे। २०१५ सालमा बीपीकै आदेश पालना गरेर तत्कालीन विदेश मन्त्री तुलसी गिरिका सल्लाहकार भए सुशील। २०१७ सालमा जब राजा महेन्द्रले कु गरे, त्यसपछि यिनी भारत निर्वासन रोज्न बाध्य भए।

निर्वासनमा रहँदा उनले नेपाली कांग्रेसको संगठनलाई क्रियाशील बनाउन तरुणहरूको दिमागी ऊर्जा आवश्यक भएको महसुस गरी 'तरुण' पत्रिकाको सम्पादन गरेर बौद्धिक एवं क्रान्तिकारी तागतको सञ्चय गरे। जुन पत्रिका हामी विद्यार्थी हुँदा नेपालमा लुकीलुकी पढ्थ्यौँ। नेपाली कांग्रेसको सशस्त्र आन्दोलनलाई पुनर्जीवन दिन अर्थ सञ्चयार्थ उनले संगीन कामहरू साहसपूर्वक फत्ते गरेका कुरा इतिहास पढ्दा थाहा हुन्छ। २०३० सालमा नेपालबाट उडान भरेको विमानलाई भारतको फारबिसगन्जमा पुर्याेइ अपहरण गर्ने भूमिका खेलेको भनी भारत सरकारले पक्रिएर यिनलाई कडा यातना दिइ ३ वर्ष जेलमा राख्यो। २०३६ सालमा बीपीको विशेष आग्रहपछि मात्रै भारत सरकारले मुद्दा फिर्ता लिइ छुटायो। निर्वासित जीवनमा बीपीका निजी सचिव बनेर यिनले अब्बल दर्जाको भूमिका निर्वाह गर्न पुगे। बीपीका राष्ट्रियता, प्रजातन्त्र समाजवाद र राष्ट्रिय मेलमिलापको चतुर्भुजमा नेपालको लोकतान्त्रिक आन्दोलन सफल पार्न कसिएका उनी जीवनको उत्तरार्द्ध चरणका एक चर्चित र ऐतिहासिक नेता बन्न पुगे। पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईजस्ता चर्चित नायकले संविधान सभाबाट दिन नसकेको गणतान्त्रिक नेपालको संविधान यिनी आफू प्रधान मन्त्री भएर दिन सके। निष्पक्ष भएर भन्दा, बीपीको 'लिमिटेड मोनार्की' पूरा गर्न किसुनजी केही हदमा सफल भए भने गिरिजाप्रसादले मेलमिलाप र लोकतन्त्रको स्थापनामा विशेष पहल गरे। तर, सुशीलले त यी सबैलाई साकार पार्दै नयाँ नेपालको गणतान्त्रिक संविधानसमेत दिन सक्ने अदम्य साहस देखाएकै कारण नेपाली राजनीतिको ऐतिहासिक नायक बन्न पुगे। यो कुनै सामान्य कुरा होइन। हो, उनका थुप्रै कमीकमजोरी र अक्षमता पनि सतहमा आए। आफैले घोषणा गरेको संविधान जारी गरेपछि प्रधान मन्त्रीको कुर्सी छाड्ने कुरा पनि उनले पूरा गर्न सकेनन्। प्रधान मन्त्रीको उम्मेदवार बन्नु, कतिपय मुद्दामा निर्णय क्षमता प्रदर्शन गर्न नसक्नु र आफ्नो मन्त्रिमण्डललाई भ्रष्टाचारबाट मुक्त राख्न नसक्नु, सहयोगीहरूको घुमाइमा फस्नु, त्याग, तपस्या र निष्ठाको पर्याय राजनीति हो भनेर आह्वान गरे पनि त्यसको अनुपालन व्यावहारिकरूपमा गराउन नसक्नु, पदीय लालसामा बढी र्या ल काडेको जस्तो महसुस सर्वत्र भयो। यी उनका दुर्बल पक्ष हुन्। स्वयं भ्रष्ट नभएर पनि यो वृत्तिमा निरीह रहनु उनको शासकीय दुर्बलता थियो।

उनी २०१० सालबाट विधिवत् नेपाली कांग्रेसमा सक्रिय भए। यिनी जीवनको पूर्वार्द्ध र उत्तरार्द्धको प्रारम्भसम्म पनि पदीय लालसामा रिङेनन्। हुन त उनलाई कोठे राजनीतिकर्मी, कोटरीवादका जब्बर काँडाको रूपमा पनि व्याख्या गर्ने प्रयास पार्टीभित्रै नभएको हैन। तर, आलोचना, आक्षेप र विरोधका स्वरलाई सहज ग्रहण गरी आफ्नो क्यान्सर रोग पचाए झैँ पचाउने विशिष्ट क्षमता थियो उनीभित्र। सहमति, सहकार्य र एकता भन्ने गिरिजाबाबुका सूत्रमा राष्ट्रियता, लोकतन्त्र र समाजवाद मूर्तिकरण हुनसक्छ भन्ने आत्मविश्वास थियो यिनमा। त्यसैगरी सादगी जीवन, कानुनी राज्य र सम्पत्तिप्रतिको विमोहमा यिनको वृत्ति सन्त नेता किसुनजीको नजिक थियो। यसैले त सुशील किसुनजी र गिरिजाबाबुका फ्युजन वा वर्णशंकर रूप थिए।

०४५ सालमा पहिलोपटक कांग्रेसको केन्द्रीय सदस्य बनेका सुशीलले बाँके जिल्लालाई कार्यक्षेत्र बनाएका थिए। ०६४ मा रहस्यमय ढंगले मोटर दुर्घटनामा परेपछि टिचिङ अस्पताल महाराजगन्जमा यिनको उपचार भएको थियो। त्यसक्रममा उनको जिब्रो क्यान्सरले ग्रस्त भेटियो। पूर्वराष्ट्रपति डा. रामवरण यादवको सल्लाहअनुसार उनलाई अमेरिका उपचार गर्न पठाइयो। अन्तिम दिनसम्म पनि स्वास्थ्य अनुगमनमा रहेका उनलाई यही माघ २६ गते मध्यरातमा कराल कालले हामीबाट खोसेर लग्यो। यतिखेर राष्ट्रिय राजनीतिका शीर्ष संयोजनकर्ता खोसिँदा सबै नेपाली स्तब्ध र विह्वल बन्न पुगेका छन्।

०५३ को नवौँ महाधिवेशनपछि महामन्त्री, उपसभापति र कार्यवाहक सभापति हुँदै बाह्रौँ महाधिवेशनबाट सभापति चुनिएका यिनी तेह्रौँ महाधिवेशनका पनि सम्भावित सभापतिकै सबल उम्मेदवार बन्दै थिए। राष्ट्रियता, लोकतन्त्र, समाजवाद अनि सहमति, सहकार्य र एकताको षट्कोणमा परिरमण गर्ने यिनको राजनीतिक वृत्तिमा सहअस्तित्ववाद घनीभूत थियो। वास्तवमा यिनी सतहमा हेर्दा जस्तो देखिन्थे भित्र भने चुरो साह्रै दरो भएकाले सामान्य सोचाइका भन्दा यिनी विपरीत नै थिए। १९७० को दशकमा भएको बंगालादेशको स्वतन्त्रता संग्राममा भाग लिएका यिनी तानाशाह प्रवृत्तिविरुद्ध डट्ने अथक योद्धा हुन्। अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनका कार्यक्रममा अमेरिका र युरोपीय महादेश घुमेर यिनले देखाएको लगन स्तुत्य र प्रशंसनीय छ। आमा कुमुदिनी र बाबा बोधप्रसाद उपाध्यायको गर्भलाई सफल बनाउने सुशील नेपाली राजनीतिका वास्तविक इतिहास पुरुष हुन्। उनको मूल सपना वर्तमान नेपालको संविधान कार्यान्वयन गर्ने थियो। नेपालका विभिन्न दल, जनता र सबैले संविधान कार्यान्वयनको कार्यभार पूरा गर्न सक्नुपर्छ। वास्तवमा यही महान् अनुष्ठानको पूर्णाहुति गर्नु नै उनीप्रतिको श्रध्दाञ्जली हो। सादगी जीवन, मूल्यमान्यता र निष्ठाको राजनीति गर्नुपर्छ भनेर आह्वान गर्ने सुशीलको शीललाई सतत नमन। उनको अमर आत्माको चीर शान्तिको कामना गर्नु हामी सबैको कर्तव्य हुन आउँछ।

प्रकाशित: ५ फाल्गुन २०७२ २१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App