१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

महिला मुक्तिको प्रश्न र तीज

परम्परागत रूपमा मनाइने तीज पर्व यसपाली पनि महिलाले एकमहिन अघिदेखि नै धुमधामसँग मनाइरहेका छन्। भडि्कलो बन्दै गइरहेको तीज मनाइरहँदा तीजजस्तै अरू परम्परागत पर्वहरूले महिलालाई कस्तो असर पारेको छ भन्ने कुरामा ध्यान जान ढिला भइसकेको छ।हिन्दुका धर्मशास्त्र र परम्पराले धेरै स्थानमा पुरुषलाई उच्च र महिलालाई नीच मानेको छ। यस्ता परम्परा र धर्म संस्कृतिको आडमा महिला र पुरुष भनेर हुने विभेद अन्त्य नभएसम्म महिला मुक्तिको लडाइमा विजय हासिल गर्न कठिन छ। 
महिला मुक्ति भनेको पितृसत्ताको अन्त्य हो। सदियौंदेखि रहेको सामाजिक–सांस्कृतिक सत्ताको रूपमा रहेको पितृसत्ता परिवर्तन गर्न सहज पनि छैन। महिला र पुरुषबीचमा भएको श्रम विभाजनको भूमिकाले परिवार, समाज, मुलुक र विश्वमै पुरुषको वर्चस्व स्थापित हुँदै आएको सत्य हो। त्यसैले नै महिला दोस्रो दर्जामा दरिएका हुन्। 
पितृसत्ताको पक्षपोषण गर्ने तीजजस्ता पर्वका नाममा महिला पीडित भएका छन् र त्यसैलाई आधार मानेर पितृसत्ताले उनीहरूलाई अगाडि बढ्न नदिएको कुरा महिलाले बुझ्न सकेका छैनन्। यस्तो उत्पीडनमाथि जागरूक महिलाले हमला नगरे झन्–झन् सामन्ती संस्कृतिले जारा फैलाउँदै जानेछ। वास्तवमा तीजले धर्मको आडमा महिलालाई नीच भएर बस्नुपर्ने संस्कार सिकाउँछ। 
शिवपुराणमा उल्लेख भएअनुसार पौराणिक कालमा पार्वतीले शिवलाई प्रेम गर्थिन्। शिवसँग मायाप्रीति बसिसकेको अवस्थामा पिता हिमालय पर्वतले विष्णुसँग पार्वतीकोे विवाह गर्दिन लागेकाले साथीहरूले पार्वतीलाई भगाएका थिए। जंगलमा नै पार्वतीले निराहार व्रत बसेको र शिव प्रसन्न भई वरदान दिएको पौराणिक कथा छ। यसबाहेक अरू धर्मग्रन्थमा तीजको चर्चा कतै पनि गरिएको छैन। विडम्वना, तीजको व्रत महिलाले सबैभन्दा निष्ठा र कष्टपूर्वक लिने गर्छन्। 
‘छोरीलाई माइतीघरमा लामो समय पाल्नु हुँदैन' भन्ने रूढीवादी मान्यताले कलिलै उमेरमा विवाह गरेर पठाउने चलन थियो। टाढा रहेका चेलीबेटी लामो समयसम्म जन्मघर फर्कन पाउँदैनथे। अहिलेजस्तो तत्कालीन समाजमा यातायात र सञ्चारको विकास पनि थिएन। चेलीबेटीले बाबु–आमा, दाजु–भाइ भेट्न परम्परगत रूपमा मनाइने तीज, दसैं, तिहारजस्ता पर्वको अवसर कुरेर बस्नुपर्थ्यो। तर, विकसित समाजमा भेटघाटका लागि यस्तो अवसर कुर्नुपर्दैन। आजको युगमा भेटघाट र रमाइलो गर्ने चाडका रूपमा तीजलाई अर्थ्याउनु पितृसत्तात्मक संस्कार मेटाउन नसक्नु मात्रै हो। 
यदि परम्परालाई नै मान्ने हो भने तीज एउटी नारीले विद्रोह गरेको दिन हो। आफ्ना बाबु–आमाको निर्णयविरूद्ध तत्कालीन सामाजिक परम्परा तोडेर पार्वतीले विद्रोह गरेकी थिइन्। यसलाई विद्रोहको दिन मानेर हरेक वर्ष आफूमाथि लादिएको पितृसत्तात्मक संस्कारको विरूद्ध आवाज उठाएको भए आजसम्म महिलाले पाउनुपर्ने जति स्वतन्त्रता, समानता र सहभागिता पाइसक्ने थिए। आफूले मन पराएको मान्छेसँग विवाह गर्नका लागि बाबु–आमा विरूद्ध पार्वतीले गरेको विद्रोहलाई धर्मग्रन्थले पीडक बनाएर प्रस्तुत गरेकोे छ। तीजको व्रत बस्दा केही खायो भने पतिको मासु खाएजस्तै र पानी पिए रगत पिएजस्तै हुन्छ भन्ने कथनी कायमै छ। त्यही मान्यताअनुसार महिलाहरू त्यस दिन जतिसुकै अशक्त अवस्था आए पनि पानीसम्म पनि नपिई व्रत बस्छन्। 
तीजको व्रत र पुरुष–पुजनको सन्दर्भले महिलामाथि धर्मले कतिसम्म कुशासन गरेको छ भन्ने देखिन्छ। अर्कोतिर महिलाका लागि पुरुषले केही पनि गर्न नपर्ने? किन महिलाले अर्काको शक्ति–सामर्थ्यको पूजा गरिरहने? महिलाले पीडक संस्कृतिको होइन आफ्नै शक्ति सामर्थ्यको पहिचान नगरे समानतामुलक समाजको निर्माण हुन कठिन छ।
त्यसो त पुराणहरू नै सामन्तकालका दस्तावेज हुन्। त्यही कालदेखि र तिनै ग्रन्थका माध्यमले महिलालाई पुरुषको अधिनस्थ बनाइरह्यो। पुरुषले महिलालाई आफ्नो सत्ताको पुजाअर्चना गर्न सिकायो। पुरुष पीडक मानसिकताको बर्बरताको उपजमा महिला त्यसलाई आफ्नो सुरक्षाका लागि अपनाउन वाध्य भए। त्यही सत्ताको अर्चनासँग जोडिन आउँछ तीज पर्व पनि। 
पुरातन समयमा जस्तै अहिले पनि पुरुष कानुन, धर्म, ज्ञान, राजनीति, संस्कृति सबैभन्दा माथि बसेर शासन गर्ने र महिला शोषित भएर बस्ने हो भने आफ्नो सत्ता टिकाउन पुरुषअनुकूल नीति बनिरहन्छ। पढेगुनेका महिलाले पनि सुशील नारी, त्यागी जीवन–संगीनी, दासी, सेविका, वाणीहीन, प्रतिक्रियाहीन सुन्दर मूर्ति भएर पितृसत्ताको पक्ष पोषण गरेपछि पुरुषहरूले धमण्ड गर्नु स्वभाविक नै हो। २१औं शताब्दीमा आइपुग्दा पनि पितृसत्ता महिला मुक्तिका हरेक आन्दोलनमा पर्खाल बनेको छ। 
संस्कृति भनेको जीवनशैली हो। तर, यही संस्कृति मानव जीवनको उत्सव बन्नुपर्नेमा विभेद कोर्ने काँडा बनिरहेको छ। धर्म मान्छेको जीवनलाई दुःख दिने उपाय मात्रै बनेको छ। कतिपय अवस्थामा महिलाकै सोचाइ पनि अर्ध–सामन्ती छ। कतिपय महिला तीजको व्रत बस्नुलाई महिला स्वतन्त्रताका अर्थमा पनि लिन्छन्। तीजजस्तै धर्मसँग जोडिएको परम्परालाई स्वीकार गर्ने वा नगर्ने भन्ने विभाजनले महिलामुक्ति आन्दोलन पनि दिशाहीन र भ्रमपूर्ण बनाएको छ। तीजका बेला रमझम गरेर हिँडेको देख्दा आवरणमा महिलाहरू स्वतन्त्रजस्ता नै देखिन्छन् तर भित्रीरूपमा आफैँ आफ्नो गलपासोलाई कसिलो बनाइरहेका हुन्छन्। 
हरेकजसो धर्म र संस्कृति महिलाका लागि अनुदार, असमान र असंवेदनशील छ। लिङ्गभेद छ। यसैले त तिनले महिलालाई पुरुषका गोडामा ढोगाउँछन्, गोडा धोएको पानी खुवाउँछन्। अनि जुठोपुरो खानुलाई सु–संस्कार भन्छन्।
तीजका नाममा वर्षैपिच्छे विकृति देखिन थपिँदैछन्। एकातिर दुई महिना अघिदेखि दरका नाममा विकृति, महँगा–महँगा लुगा–गहनाको होड, अर्कातिर एक–अर्कालाई उपहार दिने कुराको प्रतिस्पर्धा जारी छ। यो प्रतिस्पर्धामा महिलाले आफूलाई शरीरिक सुन्दरता र श्रृंगारमा मात्र सीमित राखेको देखिन्छ। पुरुषले महिलालाई शरीरकै मूल्यमा अपनाउने र महिला स्वयंले पनि आफूलाई शरीरकै मूल्यमा प्रस्तुत गर्ने परिपाटी भनेको अलग दृष्टिकोणले हेर्न नसक्नु नै होइन त?

प्रकाशित: १० भाद्र २०७१ २१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App