४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
विचार

प्राप्ति कि पलायनका उद्घाटनहरू?

वैशाख ११ गते २०७८, नेपालीका लागि अविस्मरणीय हुनेछ। नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओलीले वैशाख १२ गते २०७२ को महाभूकम्पले ध्वस्त पारेको पुनर्संरचना धरहराको उद्घाटन गरेको त्यो दिन। कोरोना महामारीले देश अस्तव्यस्त भइरहँदासमेत भव्यता साथ धरहराको उद्घाटन सम्पन्न हुन सकेको त्यो दिन। महाभूकम्पले ध्वस्त पारेको महारानी ललित त्रिपुरसुन्दरीको महत्वाकांक्षाको स्तम्भ धरहरा पुनः खडा गराएर प्रधानमन्त्रीले नेपालीको मरिसकेको आकांक्षाको पुनर्जागरण गरेको त्यो दिन। इतिहासको उद्घाटन गर्न कसलाई हतार हुन्न र? 

इतिहासमा अंकित हुन कसलाई रहर हुन्न र ? धरहरा जस्तै उच्च महत्वाकांक्षी वर्तमान प्रधानमन्त्रीलाई ऐतिहासिक धरहराको उद्घाटन गर्न हतार नभएको भए शायद त्यो अस्वभाविक हुन्थ्यो होला। धरहराको बाँकी काम पूरा गर्न अझै केही समय लागे पनि केही छैन्, त्यो पूरा भइहाल्ला, महत्वपूर्ण कुरा त प्रधानमन्त्रीको आकांक्षा पूरा हुनु हो।  

भीमसेन थापा स्वयंको परिकल्पनामा बनेको नेपालको प्रथम धरहरा ‘भीमसेन धरहरा’ को नामनिशान भेटिसक्यो। तर महारानी ललित त्रिपुरसुन्दरीको आदेशमा ‘भीमसेन धरहरा’ को पछाडिपट्टि भीमसेन थापाकै नेतृत्वमा बनेको ‘ललित त्रिपुरसुन्दरी धरहरा’ बाट भीमसेन थापाको नाम इतिहासमा आजसम्म सुनौलो अक्षरले अंकित छ। ‘ललित त्रिपुरसुन्दरी धरहरा’ ‘भीमसेन धरहरा’ को नामबाट परिचित छ। यस्तो ऐतिहासिक महत्वको धरहरा उद्घाटन गरेका वर्तमान प्रधानमन्त्रीलाई इतिहासले समेट्ने नै छ। कालान्तरमा ‘भीमसेन धरहरा’, ‘खड्ग धरहरा’ बाट परिचित पनि हुनसक्छ। महामारीले आक्रान्त विश्व ठप्पप्रायः भएका बेला नेपालमा करिव भग्नावशेष भइसकेको धरहरा पुनः खडा हुनु सानोतिनो उपलब्धि कहाँ हो र ?  

कोरोना महामारीको सकसमा प्रधानमन्त्रीको राष्ट्रिय सम्पदाप्रतिका प्रेम मात्र होइन, उनको राष्ट्रियता पनि त्यत्तिकै मौलायो। माडी चितवनको अयोध्यापुरीमा स्थापनाका लागि सीता र रामका मूर्तिहरू प्रधानमन्त्रीले बालुवाटारबाट पूजा पाठ र रथयात्राको बीच वैशाख ७, २०७८ मा प्रस्थान गराए। भारतको अयोध्यापुरी राम जन्मभूमि मान्दै भारतीय सरकारले राम मन्दिर निर्माण गरिरहेकै बेला, रामको जन्म नेपालको माडी अयोध्यापुरीमा भएको अडान राख्ने राष्ट्रभक्त प्रधानमन्त्रीका लागि आफ्नो अडान प्रष्ट्याउने यो जस्तो सुअवसर अरू के हुनसक्थ्यो होला र ? प्रधानमन्त्रीको राष्ट्रियताको अगाडि कोरोना महामारीको त्राससमेत टिक्न सकेन।  

प्रधानमन्त्री राष्ट्रियता र इतिहासमा मात्र अल्झिएनन्। वरिपरिको परिवेश र वर्तमानमा मात्र रमाएनन्। भविष्यका सपना पनि उनका लागि उत्तिकै महत्वपूर्ण भए। भविष्यमा तयार हुने निर्माण परियोजनाका लिखत योजनाको उद्घाटन पनि उत्तिकै उत्साहसाथ गरे। चैत २०, २०७७ मा प्रत्येक चुनावी क्षेत्रमा एक सडक परियोजना सुरु गर्ने योजनाको उद्घाटन एक समारोहका साथ गरे। यसअन्तर्गत १६५ रणनीतिक सडकहरू बन्ने भए। नेपालको पूर्वाधार निर्माण परियोजनाका योजना कहाँ सानातिना हुन्छन् र ? हुन त सपना देख्न कसले रोकेको छ र ? सपना ठूलै देख्नुपर्छ। त्यो सपना पूरा होला वा नहोला त्यो छुट्टै कुरा हो।

जानकारीमा आएअनुसार अधिकांश सडक परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन र विस्तृत परियोजना रिपोर्ट तयार भएको छैन। यसका लागि पर्याप्त बजेट पनि छुट्याएको छैन। अझ गम्भीर कुरो त यी परियोजना उद्घाटन भइरहँदा, पुस ५, २०७७ मा प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरी चुनावसमेत घोषणा गरिसकेथे। त्यसो भए यो प्रधानमन्त्रीको एउटा रणनीति मात्र पनि हुन सक्छ। यो विकासको मात्रै नभइ राजनीतिक रणनीति पनि हुन सक्छ।

कारण जेसुकै होस्, उद्घाटन गरिदिन मात्र पनि कम मेहनत पर्छ र ? पुस १८, २०७७ का दिन धुम्मिएको आकास, पानी पर्ला पर्ला जस्तो पनि थियो तर प्रधानमन्त्रीलाई एउटा पुल उद्घाटन गर्न सेनाको हेलिकप्टरबाट सिसहनियासम्म पुग्नुप¥यो। यो देशको दोस्रो सबैभन्दा लामो आरसिसी पुल हो। तयार भइसकेको यत्रो ठूलो परियोजनाको उद्घाटन नगरी अलपत्र पार्नु पनि भएन नि। 

यति मात्र कहाँ हो र ? कठ्यांग्रिने चिसोमा समेत अरू अरू आनन्दले घरै बसिरहँदा, प्रधानमन्त्रीलाई त्यो सुविधा भएन। पुस २०७७, मा चितवन जिल्लाको पुलचोक गोन्द्राङ सडक खण्डलाई छ लेनको बनाउने र सिटी हल निर्माणको उद्घाटन पनि प्रधामन्त्रीले नै गरिदिनुपर्‍यो। प्रधानमन्त्रीलाई दिक्क पनि लाग्दो हो। देश संघीयतामा गइसक्दासमेत प्रदेश र स्थानीय सरकार सक्रिय हुन नसक्दा यस्ता उद्घाटनका लागि पनि प्रधानमन्त्री नै दौडन पर्ने।  

त्यसो त उद्घाटनमा यदाकदा राष्ट्रपतिले नसघाएको पनि होइन। उद्घाटन कार्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको पनि कम योगदान छैन। कृष्णप्रसाद भट्टराईको साकार भएको सपना उद्घाटन गर्न यस्तो महामारीमा समेत राष्ट्रपति भृकुटी मण्डप पुगिन्। चैत २०, २०७७, राष्ट्रपतिले काठमाडौँमा मेलम्ची खानेपानी आयोजनाअन्तर्गत धाराको टुटी खोलेर वितरण सुरु गरिदिइन्। 

कोरोना महामारीमा राष्ट्रपतिले आफूलाई जोखिममा पारेको यो पहिलो घटना भने होइन। पाँच महिनाअघिमात्र कात्तिक ५, २०७७ का दिन राष्ट्रपतिले राजा प्रताप मल्ल निर्मित ऐतिहासिक रानीपोखरी माझमा अवस्थित महाभूकम्पले ध्वस्त पारेको बालगोपालेश्वर मन्दिरको पुनर्संरचनापश्चात उद्घाटन गरेकै हो। कोरोना संक्रमणको जगजगीबीच राष्ट्रपतिले त्यसरी उपस्थित भएर उद्घाटन गरिदिएको त्यो गुन नेपालीले कसरी बिर्सेलान् र? विशेषगरी दाजुभाइ नभएका ती दिदीबहिनी जसले भाइटीकाका दिन उनै बालगोपाललाई टीका लगाउने गरेथे। दिदीबहिनीको हराइसकेको आशा भरोसा राष्ट्रपतिले फर्काइदिइन्। सोही दिन पुननिर्मित दरवार हाइस्कुलको उद्घाटन पनि राष्ट्रपतिबाट भएथ्यो। शैक्षिक क्षेत्रका लागि यो एउटा ठूलै उत्सव सावित भयो।

राष्ट्रप्रमुख अथवा राष्ट्रका विशिष्ट व्यक्ति नै किन नहुन्, इतिहासका धरोहर र विकास परियोजना उद्घाटन गर्नु उनीहरूको अधिकार हुन्छ। उद्घाटन उनीहरूको शौख पनि हुन सक्छ। यस्ता उद्घाटनले सामान्य जनतालाई पनि खुसी नै बनाउँछ। सबैका खुसीको विषय हुँदाहुँदै कहिलेकाहीँ समय परिस्थितिले यस्ता उद्घाटनका समीक्षा माग्दोेरहेछ।  

गत एक वर्षयता देशमा एकातिर कोरोना महामारीले ताण्डव मच्चारइरहँदा अर्कोतिर उद्घाटनको चटारो पर्‍यो। परियोजना कागजमै किन नहुन् उधारै भए पनि उद्घाटन त भइ नै रहे। राष्ट्रको जिम्मा पाएको सरकार राष्ट्रको बल्दो समस्या एकातिर पन्छाएर अर्कातिर उद्घाटनमै रमाउन थाल्यो। सरकारले परिस्थितिको गम्भीरता नबुझेको हो अथवा समाधान गर्ने क्षमता नभएर यसो गर्दैछ ? यो गम्भीर प्रश्न जनताको मनमा नउब्जला भन्न सकिन्न।  

यदि प्रधानमन्त्रीले अहिलेको समस्या बुझेका भए आज अक्सिजन प्लान्ट, सघन कक्ष, कोरोना बिरामीको सम्पर्कमा आएका मानिस बस्ने व्यवस्थित एकान्त कक्ष आदिको उद्घाटन भइरहेका हुन्थे होला।

यसो भनिरहँदा उद्घाटन गर्न हुन्न भनेको भने होइन। राष्ट्रप्रमुखले उद्घाटन गर्नुपर्छ। राष्ट्रको कला, संस्कृति जर्गेना राष्ट्रप्रमुखले नगरे कसले गर्ने त ? राष्ट्रप्रमुखले कला, संस्कृतिको मात्र होइन, आवश्यक पर्दा राज्य व्यवस्थालाई प्रत्यक्ष वा अप्रत्यक्ष असर पार्ने विभिन्न संयन्त्रको समेत उद्घाटन गर्नुपर्छ। 

अहिलेको परिस्थितिमा केही समययता आफ्नै दलभित्र पलाएको मनमुटाव र असमझदारीले चोइटिएको दलको समस्या समाधान गरी पुनः सिंगो दल एक ठाउँमा खडा गरेर त्यसैको उद्घाटन गरे मात्र पनि जनता खुसी नै हुन्छ। दलभित्रकै समस्यामा अल्झिरहँदा प्रधानमन्त्रीले जनताको समस्या बुझ्ने समय पाएनन्। यदि अहिलेको समस्या बुझेका भए आज अक्सिजन प्लान्ट, सघन कक्ष, कोरोना बिरामीको सम्पर्कमा आएका मानिस बस्ने व्यवस्थित एकान्त कक्ष आदिको उद्घाटन भइरहेका हुन्थ्यो होला। 

जन स्वास्थ्यसँग सम्बन्धित यस्ता महत्वपूर्ण परियोजना जति धेरै उद्घाटन हुन्छन्, जनता त्यति धेरै आश्वस्त हुन्छन्।  विकासका योजना, परियोजना शुभारम्भ वा समापनमा राष्ट्रप्रमुखको संलग्नता भनेको यसको सम्पन्न वा सम्वर्धनका लागि उनीहरूको उत्तरदायित्व बोध बुझाउँछ। 

तसर्थ जिम्मेवार राष्ट्रप्रमुखले खासगरी संकटकालीन अवस्थामा जे/जति योजना, परियोजना उद्घाटन गर्ने हो ती सबैका औचित्यता, आवश्यकता, समयसापेक्षता पूर्ण हुने सुनिश्चिततापश्चात मात्र आफू संलग्न हुनु उचित हुन्छ। अन्यथा यस्ता उद्घाटनसँगै सरकारको प्रचारवादी नीतिसमेत उद्घाटन हुन जान्छ। यति मात्र होइन, सरकारको संवेदनशीलता, क्षमता र औचित्यमा समेत प्रश्न उठ्न सक्छ।  

अहिले जनता देश विकासका ठूलाठूला सपना देख्न चाहन्न। जनता कोरोनाको कहरबाट मुक्ति चाहन्छ। जनता सरकारबाट अस्पतालमा औषधि, उपकरण, शैया, खोप आदिको चरम अभावको सूचना चाहन्न। जनता कोरोना महामारीबाट जीवन रक्षाको सुनिश्चितता चाहन्छ। जनता सरकारबाट अस्पताल जान हतोत्साहित होइन, अभिप्रेरित हुने सूचना चाहन्छ।  

सरकार पीडित जनतालाई अस्पतालमा औषधि, उपकरण, शैया, खोप आदि अत्यावश्यक वस्तुको अभाव देखाएर अस्पताल जान निषेध गरेर महामारीबाट जोगाउन सक्दैन। यी सबै अत्यावश्यक वस्तुको शीघ्र र पर्याप्त व्यवस्था गरे मात्र जनताको जीवन जोगिन्छ। सरकार देशमा निषेधाज्ञा र लकडाउन गरेर देश शान्त बनाउन सक्दैन। निषेधाज्ञा र लकडाउन गर्नुपर्ने अवस्थाकै निषेध र लकडाउन गर्न सके मात्र देश शान्त हुन्छ। 

आजका दिनमा सरकारलाई उद्घाटनमा मात्र नअल्झी, देशको आपत्कालीन अवस्था व्यवस्थापनमा ध्यान दिन अत्यावश्यक छ। प्रधानमन्त्रीले अहिलेको संवेदनशील अवस्थामा समेत तामझमका साथ, भिड लगाएर उद्घाटन गरिरहँदा जनतामा कस्तो सन्देश जान्छ, यो स्वयम् उनैले मनन् गर्नुपर्छ। पूर्णताविना हतारोको उद्घाटन उनको सम्भावित सत्ताच्युतको त्रास नबुझ्ने को नै होला र ? 

प्रकाशित: २६ वैशाख २०७८ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App