६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

वीरका निरीह सन्तान

छिमेकी मुलुकहरु उपनिवेशमा परे पनि हाम्रा वीर पूर्खाले नेपाललाई स्वतन्त्र राखे। आधुनिक हतियारलाई पूर्ख्यौंली साहसले हराए। नालापानी, टिष्टा र का"गडाको इतिहास रचे। सगरमाथा र लुम्बिनी अवस्थित स्वतन्त्र देश 'नेपाल' भनेर विश्वमा चिनाए। भौगोलिक विविधताभित्र रंगिएका जाति, भाषा, धर्म र संस्कृतिलाई बचाउँदै नेपाली राष्ट्रियतालाई माथि उठाए। संसारको शीर सगरमाथाको चुचुरोमा चन्द्र-सूर्य फहराए।
यी वाक्यांश मनोगत होइनन्। माटोमा लेखिएका इतिहासका आधार हुन्। संसारका इतिहासमा राखिएका दस्तावेजका तथ्य हुन्। गोपालवंशी, महिषपालवंशीदेखि नेपाली माटोकै यलम्बरहरुले रचेका राज्यलाई पृथ्वीनारायण शाह, बलभद्र क"ुवर, भक्ति थापाहरुले किञ्चित डग्मगिन दिएनन्। पुष्पलाल, बीपी, मदन भण्डारीहरुले धेर-थोर रगत पसिना बगाए। यद्यपि, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल विश्वको मानचित्रमा आफ्नो ठाउ" ओगटेरै बसेको छ। एउटा सुन्दर फूलबारी देखिएको छ।
मानवीय संवेदनाको जग भत्कँदै गएका पश्चिमाहरुलाई नेपालको संस्कृति आश्चर्यलाग्दो छ। नेपालीको आफ्नै विशिष्टता छ। हितेरी-मितेरी, नाता-कुटुम्बेरी र साइनो-सर्तले समाजमा सुन्दरता भरेको छ। आफू भोकै बसेर अरुलाई बचाउने अनुकरणीय संस्कृति बोकेर सिँगो पहाड पर्वतले परिचय दिएको छ। तर, त्यही पहाडमाथि बिस्तारै कालो बादल घुम्न थाल्दा भने नेपाली मन चिसिन थालेका छन्। कालो बादल बढ्ने घटनाक्रम भने एकपछि अर्काे थपिँदै गएका छन्। के हाम्रा पूर्खाका उत्ताराधिकारीले बाटो भुलेका हुन्? अहिलेसम्मका प्राप्त उपलब्धि र इतिहासलाई नामेट गर्ने घटना सतहमा देखिन थालेका छन्।
नेपाली जनता कुनै पनि किसिमका दबाब सहन सक्दैनन्। हिजो ब्रिटिस उपनिवेशविरुद्ध लड्ने क्रममा सारा नेपाली एक भएका थिए। विभिन्न किल्लामा राष्ट्रियता जोगाउन एक भएरै लडेका थिए। आत्मसमर्पण गरेका थिएनन्। नेपालीहरुले त्यो विरासत जोगाइराखेकै छन्। राष्ट्रियता नै खतरा हुनेगरी राजनीति गर्नु भनेको स्वतन्त्रताको अहित मात्रै नभई पुर्ख्याैली साहसको अपमान पनि हो। शान्तिभूमि, तपोभूमि, स्वतन्त्रताको प्रतीक नेपालमा विदेशीको दबाबमा जनताको प्रतिनिधित्व गरिरहेका दलहरूको निर्णय नै बदलिनु दुभार्ग्यपूर्ण हो।
एक नेताले अर्काको अस्तित्व नस्वीकार्ने अवस्थाको फाइदा उठएर विदेशीले चलखेल गर्दा यो स्थिति सृजना भएको विश्लेषण हो भने त्यस्तो इतिहासका खलनायक हुन किन अग्रसर हुने? प्रधानमन्त्री हुँदा मात्रै जनताको प्रतिनिधित्व गरिन्छ भन्ने विश्लेषण हो भने त्यो ठूलो भूल हुनेछ। दरबार छाडेर पनि बुद्धले लोकको नेतृत्व गरेको भूमि यही नेपाल हो। राज्यको हितमा जसले नेतृत्व गर्छ, ऊ अगुवा भएको विश्व इतिहास छर्लङ्ग छ। हाम्रो इतिहास त वीरताको हो। हाम्रा पूर्खाहरुले आफ्नो राष्ट्रका लागि मात्रै लडेका थिएनन्। विश्वयुद्धमा बहादुरी देखाएर गोर्खालीको पहिचान बनाएका थिए। निरीहता हाम्रो परिचय होइन। हामी वीरका सन्तान हौं। अर्थात् हामी वीर हौं। हाम्रो नेतृत्व पनि त्यस्तै हुनुपर्छ। निरीहताभित्र रहन हामीलाई नैतिकताले पनि दिँदैन।

प्रकाशित: ४ चैत्र २०६९ ००:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App