७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
विचार

बिर्सिन नहुने व्यक्तित्व

मान्छेले आफ्नो स्वतन्त्र पहिचानका लागि आफैंले नदेखेका र नसोचेका बाटाहरूमा पनि पाइला राखिरहन्छ। समयका अनेकौं बिम्बहरूले मानिसलाई छुन्छ र नचिनेको धरातल उसको आधार भएर उभिन्छ। इतिहासका अनगिन्ती सम्भावनाबीच हेलिएर आफ्नै परिचय बिर्सिएका क्षणमा पनि उभिन बाध्य छ, मानिस। कुनै पनि बालक जन्मिँदै उसले जीवनको दैनिकी बोकेर आएको हुँदैन। पारिवारिक सामाजिक र राष्ट्रिय परिवेशले उसलाई उसको उपस्थितिको अर्थ दिन खोज्छ। तथापि समाजले व्यवस्थित गरेको बाटो नै उसको हिँड्ने दिशा हुन्छ। आफूले थाहा पाएरै पनि यस्तो किनारमा पुग्न बाध्य छ जीवन, जहाँबाट उसले देखिरहेको हुन्छ अनन्त फैलावटमा तरंगिरहेको समुद्र।

झन्डै नब्बे वर्ष पुरानो आफ्नै बाजेहरूको शक्तिशाली परम्परामा हुर्किएका सुवर्णशमशेर त्यसै संस्थाका विघटक बन्लान् भन्ने कसलाई थाहा थियो र? त्यसो त अत्याचारीको अन्त्य उसैका अवगुणहरूले गर्छन्। उसैका परिवारभित्रबाट हुन्छ। अनेकौं पुराण र इतिहासबाट हामी त्यस्ता कैयौं उदाहरण लिन सक्छौं, जसले आफैंभित्रको दुर्गुणको अन्त्य गरेका छन्। जंगबहादुरको चलाखी र षड्यन्त्रबाट स्थापित राणाशासन आफ्नै परिवारभित्रको हानथाप र शक्तिसंघर्षमा अल्भि्कएर बितिरहेको थियो। सुवर्णशमशेर आफैं त्यस्ता विद्रोही थिएनन्, बरु आधुनिक ज्ञानले भरिएका एक प्राविधिक मान्छे थिए, तर पारिवारिक हानथापभित्र परेर घुन बनेका उनी निर्वासित हुन बाध्य भएका थिए।

आधुनिकता बुझेका, विश्व राजनीतिको खुल्ला क्षितिज देखिसकेका, अर्थशास्त्रको गहिरो ज्ञान भएका र समाजवादको प्रभावमा परेका उनलाई यो निर्वासन एउटा राम्रो खेल्ने मैदान भएको थियो। सम्पन्नताको उपल्लो सुखभोगलाई बुझिसकेका उनले लोककल्याणकारी राजनीतिको सपना देख्न थालिसकेका थिए। भारतमा भइरहेको अंग्रेजविरोधी आन्दोलनलाई एकदमै नजिकबाट हेरिरहेका उनले नेपालभित्र र बाहिर भइरहेको राणाविरोधी गतिविधि पनि देखिरहेका थिए।

निर्वासनपछिको समय, आफ्नो व्यापार व्यवसायसँगै जनताको मुक्तिका लागि समेत खर्च गर्न थाले। आफ्नै काकाको छोरो भाइ महावीर शमशेरसँगको सहकार्यबाट राणाविरोधी आन्दोलनमा उत्रिएका उनी जीवनको कुनै दिन पनि त्यस बाटोबाट विचलित भएनन्। पार्टीको आर्थिक भारलाई खर्लप्पै काँध हालिदिएर बीपी कोइराला र गणेशमान सिंहजस्ता साथीहरूलाई काम गर्न फुर्सद दिएका थिए। पार्टीलाई चाहिने आर्थिक स्रोतको तनावबाट मुक्त रहेका बीपीहरू अत्यन्त उत्साहसाथ जनबलको सम्पादनमा व्यस्त हुनसके। पार्टी चलाउन, क्रान्ति गर्न र आफ्नै परिवारसमेत चलाउन आइपर्ने आर्थिक संकटमा जुधिरहनु परेको भए बीपी र गणेशमानहरूलाई पनि सजिलो थिएन। व्यक्तिगत रूपमै जति चाहिन्छ, त्यति नै आर्थिक सहयोग गरेर पनि उनले पार्टीभित्र पदको लागि कहिल्यै विवाद गरेनन्।

पार्टी एकीकरण भएदेखि २०२५ सालसम्म नेपाली कांग्रेसलाई आर्थिक रूपले उभ्याइराख्न सुवर्ण शमशेरको एकल लगानी देखिन्छ। २००७ सालको क्रान्ति खर्च, २०१५ सालको चुनाव खर्च, २०१७ सालदेखि २०२५ सालसम्म भारतमा निर्वासित कार्यकर्ताहरूको खानेबस्ने सम्पूर्ण खर्चको प्रबन्ध उनले नै गरेका थिए। व्यक्तिगत रूपमा कुनै प्रकारका आकांक्षा नभएका र सदा त्यागको भावनाले प्रेरित सुवर्ण उनकै दिनचर्या र सोचका कारणले महान छन्। सुवर्णशमशेरलाई महान भन्न वा बनाउन कुनै संगठनको आवश्यकता पर्छजस्तो लाग्दैन। जस्तै अप्ठ्यारा क्षणमा पनि विचलित नभई, निरास नभई, कसैका आरोप र आक्षेपबाट उद्वेलित नभई निरन्तर आफ्नो कर्ममा एकचित्त ढंगबाट लागिरहने क्षमता त कुनै सिद्धिप्राप्त तपस्वीसँग मात्र हुनसक्छ।

सुवर्ण पनि ज्ञानका त्यस्ता सिद्धपुरुष थिए, जसले आफूलाई आफ्नो अडानबाट कहिलै ढल्न दिएनन्। २००७ सालका क्रान्ति कमान्डर मातृकाप्रसाद कोइराला तथा सुवर्णकै भाइ महावीरशमशेर जस्ता व्यक्तिहरू पनि दरबारको सानो आकर्षणमा विचलित भए। बीपीका दाजु मातृका र सुवर्णका भाइ महावीरहरूले तात्कालिकतालाई हेरेर आफूलाई आफैंबाट विस्थापित गरे, जबकि बीपी र सुवर्णले आफूलाई अविचल यात्राका पथगामी बनाइरहे। कैयौं त्यस्ता विचलित हुनुपर्ने क्षण पनि आए होलान् तर उनीहरूको जोडीलाई देशीविदेशी कुनै शक्तिले पनि फुटाउन सकेन। आपसी मतभिन्नताहरू रहे तर ती विचारहरू कहिल्यै 'अहम्' का विषय बनेनन्। बीपी र सुवर्णले एकअर्कामा कहिल्यै कुनै आरोप प्रत्यारोप लगाएनन्।
कैयौं समस्याहरूको समाधान मौनताले गर्छ। बीपी र सुवर्णहरूका बीचको हरेक विवादको समाधान एक अर्काबीचको मौनताले गरेको थियो। एउटाले अर्काको विचारको कदर गर्ने क्षमता पनि अद्भूत नै देखिन्छ। बीपीको अत्याधिक समय जेलमा बित्यो तर सुवर्ण कहिल्यै जेलमा परेनन्। जेलबाहिर बसेर काम गर्न पाएकाले पनि उनले बीपीले भन्दा धेरै पार्टी काम गर्न पाए। पार्टीको कार्यवाहक सभापति भएर पनि उनलाई त्यो पद कहिल्यै आफ्नोजस्तो लागेन। सत्र वर्षसम्म पनि त्यो पदलाई उनले बीपीकै नासोको रूपमा जोगाएर राखे जबकि केही समयको लागि मात्र कार्यवाहक हुन पाएका डिल्लीरमण रेग्मीले पद फिर्ता गर्नुभन्दा पार्टी नै फुटाएर हिँडे र जीवनभरि नै उनी त्यही पार्टीका सभापति बनिरहे।

नेता बीपीले नै पनि पदका लागि कहिल्यै लडाइँ गरेनन्। पार्टी स्थापनाको पहिलो प्रस्तावकदेखि पार्टी एकीकरणका लागि समेत सबै काम गर्ने बीपीलाई अन्ततोगत्वा सभापति हुन दिएनन् र उनको ठाउँमा दाजु मातृकालाई सभापति बनाए। सभापति मातृका भए पनि काम भने बीपीले नै गर्नुपर्थ्याे। आफू पहिलो सभापति तथा त्यसै पार्टीको तर्फबाट पहिलो जनताको प्रधानमन्त्री भएका मातृकाले आफूलाई बचाउन सकेनन्। मानिसभित्रको लोभ जब व्यक्तिगत सुविधातिर उन्मुख हुन्छ अनि मानिस आफ्नो आस्थाबाट स्वयं गिर्न थाल्छ।

कैयौं यस्ता क्षणहरू थिए, सुवर्णको जीवनमा निराशाका लागि लडिबुडी गर्ने, तर उनले ती सबै क्षणहरूलाई सजिलै पन्छाउन सके। उनको जीवनमा आएको सबैभन्दा कठिन क्षण थियो- २०१५ सालको चुनावपछि सरकारको प्रधानमन्त्री बन्ने प्रस्ताव। राजा महेन्द्रको त्यस प्रस्तावलाई समेत त्यागेर उनले त्यस ठाउँमा बीपीलाई विराजमान गराए। जसलाई धन, मान र ज्ञानको घमण्ड छैन, उसलाई कसैले पनि दुरूपयोग गर्न सक्दैन। राजाले अनेकौंपल्ट सुवर्णलाई बीपीबाट अलग गर्न खोजे। यी दुई व्यक्तिहरूमा फुट आए नेपाली कांग्रेसको शक्ति कमजोर हुने थियो। त्यही कमजोरीमाथि शासन गर्न सकिन्थ्यो भन्ने उनलाई विश्वास थियो। पछिल्लो कालमा बीपी र कांग्रेसका अरु नेताहरूभित्र भ्रम उत्पन्न हुने गरी सुवर्णलाई भारत जाने अनुमति दिएर यता सरकारलाई 'कु' गरी राजाले सबैलाई जेल हाले। यस परिस्थितिपछि सुवर्णलाई पार्टीका साथीहरूले घृणा गर्लान् र उनी आफूसँग मिल्न आउलान् भन्ने राजाको विश्वास त्यति बेला भत्कियो, जब उनले भारतमा फेरि कांग्रेसको नेतृत्व मात्र गरेनन् सशस्त्र आन्दोलनको नेतृत्वसमेत गरे।

निष्ठा र आदर्शका अघि अविचल रहनसक्ने व्यक्तिले नै सफलताको शिखर चुम्न सक्छ। सुवर्णको सफलता भन्नु नै उनको निष्ठाको अविचलता हो। कहिल्यै नझुक्ने र नबिक्ने उनको व्यक्तित्व नै उनको सफलता हो। त्यही यात्रामा सँगै हिँडेका महेन्द्रविक्रम शाह, सूर्यप्रसाद उपाध्याय, महावीर शमशेरहरूलाई सम्झन धेरैबेर पर्खिनुपर्छ। तर सुवर्णलाई सम्झन बीपी वा बीपीलाई सम्झन सुवर्ण काफी छन्।

जीवनको आफ्नै यात्रा हुन्छ। शरीरको पनि आफ्नै यात्रा हुन्छ। शरीरकै माध्यमले मानसिक कामहरू गरिने हो। जन्मेपछि नमर्ने कोही छैन यस संसारमा। तर, मर्नु अघि कहिल्यै नमर्ने हुनलाई भने धेरै नै कष्टकर यात्रा गर्नुपर्छ, हामीले। सुवर्णको जीवनीबाट हामीले पक्कै पनि यो कुरा सिक्न सक्छौं होला। जस्तै आँधीमा पनि अविचल उभिनसक्ने बिरुवा मात्र रुख हुन सक्छ। रूख हुनुअघि नै रूख हुने अभ्यासमा लाग्न सक्नुपर्छ, जुध्न सक्नुपर्छ।

लोभ, मोह र मात्सर्यबाट मुक्त नभई जीवनलाई संन्यास बनाउन सकिँदैन। संन्यासी हुनु भनेको आध्यात्मिक तपस्वीहरूको जस्तो गृह त्यागी यात्रा मात्र होइन। संन्यास भाव त आफूभित्र उमार्ने मात्र हो। कर्मबाट भागेर कोही संन्यास बन्न सक्दैन। आफ्नो कतर्व्यप्रति अत्यन्त निष्ठावान भएर लाग्नु नै वास्तवमा 'संन्यास ग्रहण' गर्नु हो। बीपी र सुवर्ण भनेका राजनीतिक संन्यासीहरू हुन्, जसले जीवनमा त्योबाहेक अरु कुनै कर्म गरेनन्। उनीहरूको पनि गृहस्थी, सन्तान र परिवार थियो। तर, ती कुनै कुराहरू पनि यस कार्यमा लाग्नका लागि बाधक बन्न सकेनन्।

सुवर्ण शमशेर एउटा यस्तो पुस्तक हुन्, जसमा प्रजातन्त्रको महागाथा लेखिएको छ, एउटा यस्तो ऐना हुन्, जसमा त्यागको अनुहार टल्किएको छ, यस्तो तस्बिर हुन्, जसमा आदर्श मुस्कुराएको छ। आजको यस संक्रमणमा सबै पार्टीका नेता र कार्यकर्ताले व्यक्तित्वको आदर्श बनाउनुपर्ने नाम हुन्, सुवर्ण।

प्रकाशित: १६ फाल्गुन २०६९ २३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App