१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

पुरुषमाथिको विभेद

यो संसारमा महिलामाथि हुने विभेदबारे थुपै्र चर्चा र बहस हुने गरेका छन्। तर पुरुषमाथि हुने विभेदबारे भने खासै चर्चा हुँदैन। यदाकदा कतिपय पुरुषले व्यक्तिगतरुपमा आफू महिलापीडित भएको वा महिलाद्वारा विभेदमा पारिएको घटना सुनाउँदा उल्टै नामर्द वा हुतिहाराको उपमा दिइन्छ। कतिसम्म भने तत्सम्बन्धमा सम्बन्धित निकायमा उजुरी वा गुनासो गर्न जाँदा गम्भीरपूर्वक लिनु त परै जाओस, उल्टै हाँसो ठट्टाको विषय बनाउने गरेका दुखेसाहरु पीडित पुरुष मित्र सुनाउने गर्छन्। जे होस्, आमरुपमा नभए पनि दुनियाँमा पुरुष पनि महिलाबाट विभेदमा पारिएका घटना तथा प्रवृत्ति भने थुप्रै भेटिन्छन्। 

यस्तै दृष्टान्तबीच पुरुषमाथि लिंगकै आधारमा विभेद हुने एउटा क्षेत्र हो- नर्सिङ। परापूर्वकालदेखि नै नर्स बनेर रोगीहरुको सेवा गर्न चाहने पुरुषलाई हाम्रो समाजमा हेयको दृष्टिले हेर्ने गरिएको छ। पुरुष भएर पनि महिलाको काम गर्ने भनेर उनीहरुलाई फरक आँखाले हेरिन्छ। अझ सँगसँगै काम गर्ने महिला सहकर्मीबाट त झन उनीहरुको लिंगीय पहिचानमाथि नै अनेक शंका तथा प्रश्न उठाउँदै बढी नै चियोचर्चो र अनावश्यक टीका-टिप्पणी गर्ने गरिन्छ। शायद नर्सिङ क्षेत्र भनेको महिलाले मात्र गर्ने कामको क्षेत्र हो भन्ने भ्रम आजपर्यन्त संसारभरका मानिसलाई छ।
निश्चितरुपमा हरेक मानव शिशु नौ महिनासम्म आमाको पेटमा रहेर जन्मँदै गर्दा जुन स्याहार पाउँछन् त्यो नै नर्सिङ सेवाको प्रारम्भ हो । र, त्यो स्याहार गर्ने हरेक आमा नै प्रथम नर्स हुन । आज दुनियाँभरका अस्पतालका शैयामा उपलब्ध हुने सुविधायुक्त व्यवस्थित नर्सिङ सेवा घरघरमा आमा हजुरआमाहरुले उपलब्ध गराउने गर्भवती, प्रसूति तथा शिशु स्याहारको विकसित र आधुनिक रुप हो। नर्सिङ सेवाको मानवता, कला र विज्ञान मिश्रित यो ज्ञान प्राकृतिकरुपमा हरेक आमालाई प्राप्त छ । शायद त्यसैले नर्सिङ पेशालाई आदिकालदेखि नै महिलाको पेशा भनेर बुझिँदै आएको होला।
समग्र स्वास्थ्य सेवाको अभिन्न अंगका रुपमा स्थापित यस सेवा क्षेत्रमा पुरुष, महिला वा अन्य जो कोही पनि सहजै र सम्मानपूर्वक सहभागी हुन पाउनुपर्ने हो। यसमा कुनै लिंग विशेषले छेकवार गर्नु नपर्ने हो । तर दुःखको कुरा पौराणिक सामाजिक चेतनाका विभेदपूर्ण मूल्य मान्यताले आजपर्यन्त हाम्रो समाजमा जबर्जस्तरुपमा जरा गाडेको छ। जसबाट नर्सिङ क्षेत्र अछुतो रहन सक्ने कुरै भएन। यही कारण नेपालको नर्सिङ सेवामा गैरमहिलालाई लिंगकै आधारमा बन्देज लगाइएको छ। जसरी घरभित्रको कामधन्दा महिलाको मात्र हो भन्ने पुरातन मान्यतामा परिवर्तन आई घरभित्र होस् वा बाहिर अथवा सार्वजनिक क्षेत्रमा समेत महिला-पुरुष समान सहभागिताको क्रम तीव्र बन्दैछ, त्यसैगरी नर्सिङ सेवा महिलाको मात्र पेशा हो भन्ने मान्यतामा पनि परिवर्तन हुन जरुरी छ। यसबाट एकातर्फ विश्व बजारमा बढिरहेको नर्सिङ जनशक्तिको माग पूर्ति गर्न सहज हुनेछ भने अर्कोतर्फ विश्वबजारकै चुनौतीका रुपमा देखिएको युवा बेरोजगारीको समस्या व्यवस्थापन गर्न केही हदसम्म टेवा पुग्ने देखिन्छ।
अमेरिकामा करिब २६ लाख क्रियाशील नर्समध्ये ७ देखि ८ प्रतिशतमात्र पुरुष छन। त्यसैगरी क्यानाडामा ५.८९ प्रतिशत, वबलायतमा १०.२१ प्रतिशत , अष्टे्रलियामा ९.६ प्रतिशत छ भने करिब ३ लाख नर्स क्रियाशील रहेका भारतमा १ प्रतिशत मात्र पुरुष संलग्न छन्। यद्यपि पछिल्ला दिनमा भने पुरुष नर्सको संख्या वृद्धि भइरहेको छ। नेपालमा नर्सिङ शिक्षाको औपचारिक सुरुवात् २०१३-१६ सालमा भए तापनि २०२८ सालपछि शैक्षिक नीति परिमार्जन भई त्रिभुवन विश्वविद्यालयले अन्य संकायसँगै नर्सिङ शिक्षालाई पनि आफ्नै मातहतमा सञ्चालन गर्न थालेको हो। २०४६ सालमा नर्सिङ क्षेत्रमा पुरुषको समेत आवश्यकता महसुस गरेर नेपालका विभिन्न नर्सिङ कलेजमा महिला संख्याको १० प्रतिशत पुरुषलाई पनि नर्सिङ शिक्षा प्राप्त गर्ने अवसर व्यवस्था गरिएको थियो। यो प्रावधानले नेपालको नर्सिङ क्षेत्र समावेशी हुनुको साथै थप गुणस्तरयुक्त र प्रतिस्पर्धी हुने अपेक्षा गरिएको थियो। र, परिणाम पनि राम्रै आउँदै थियो। जम्मा चार ब्याचको सञ्चालनपछि करिब एक सय जना पुरुष नर्स उत्पादन भए। त्यसपछि विनाकारण यसलाई अनावश्यक भन्दै बन्द गरियो। यो निर्णय नर्सिङ क्षेत्रको व्यावसायिक विकासका लागि अत्यन्तै घातक र अदूरदर्शी सावित भएको छ । जसबाट उत्पादन भएका कतिपय दक्ष पुरुष नर्ससमेत पेशागत भविष्य अन्योलग्रस्त देखेर सेवा क्षेत्र नै परिवर्तन गरी अन्य पेशातिर लागेका छन्। त्यसैले अन्य क्षेत्रमा महिलाका लागि समानुपातिक सहभागिता सुरक्षित गरिएजस्तै नर्सिङ क्षेत्रमा पुरुषका लागि समानुपातिक प्रतिनिधित्व सुरक्षित गर्नु उपयुक्त हुन्छ । लिंगकै आधारमा ढोका बन्द गरिनु उपयुक्त हँुदैन।
हिजोको सामाजिक र कानुनी मान्यता परिवर्तन गरी महिला भएकै कारणले वर्जित गरिएका सेना र प्रहरीलगायत् सुरक्षा गार्ड जस्ता निकायमा त समावेशितालाई अंगिकार गरी महिलाको प्रवेश खुला गरिएको छ भने नर्सिङ पेशालाई महिलाको मात्र पेशाको रुपमा चित्रण गरेर यो सेवाको व्यापकतालाई खुम्च्याउने प्रयत्न गर्नु सोह्रै आना गलत हो। यसका लागि यहाँको राज्य संयन्त्रभित्र नर्सिङ क्षेत्रको अगुवाई गर्नेहरुको संकीर्ण मानसिकता जिम्मेवार छ भन्नेमा दुई मत छैन। नर्सिङ पेशामा महिलाको एकाधिकार कायम हुनुपर्छ भनेर बहस गर्नेहरुको तर्क के छ भने यो क्षेत्र पुरुषका लागिसमेत खुला गरियो भने महिलाको एकलौटी वर्चश्व स्खलित हुने खतरा रहन्छ। रुप पक्षमात्र हेर्दा यो तर्क ठिकै लाग्न सक्छ तर सारमा यो तर्कमा लघुताभाष झल्किनुका साथै आत्मविश्वासको कमी देखिन्छ। किनभने कुनै पनि सेवा क्षेत्रमा गुणस्तरको विकास प्रतिस्पर्धा बाटमात्रै हुन सक्छ। कसैलाई सेवा प्रवेशमा निषेध गरेर होइन।
हुन त कुनैबेला संसारका विकसित भनिने मुलुकमा समेत नर्सिङ सेवालाई गर्भवती महिला र प्रसूति सेवाको घेराभित्र मात्र सीमित राखेर उक्त सेवामा पुरुषहरुको उपस्थिति आपत्तिजनक हुने भन्दै अस्पतालका प्रसूति कक्षहरुमा पुरुष नर्सहरुको प्रवेशलाई नै वर्जित गरिन्थ्यो। तर जब चिकित्सा विज्ञानमा स्त्री तथा प्रसूति रोग विशेषज्ञका रुपमा पुरुषको समेत उदय हुँदै गयो, त्यसपछि ती कुतर्क सेलाएर गए। त्यसैले नर्सिङमा महिला एकाधिकार चाहनेले के कुरा बुझ्न जरुरी छ भने नेपालमा त्यसैलाई आधार बनाएर विभिन्न अवसरबाट वञ्चित गरिएका दृष्टान्त थुप्रै छन्। उदाहरणका लागि समान प्रकारको शैक्षिक योग्यताको आधारमा प्रतिस्पर्धाबाट सेवा प्रवेश गर्ने मेडिकल अधिकृत र नर्सिङ अधिकृतमध्ये मेडिकल अधिकृतले आठौ तहमा प्रवेश पाउँछन भने नर्सिङ अधिकृतले सातौमै चित्त बुझाउनुपर्ने अवस्था छ। त्यतिमात्र होइन, मेडिकल अधिकृत विभिन्न कार्यालय प्रमुख, महाशाखा प्रमुख, विभागीय प्रमुख हुँदै मन्त्रालयको सचिवसम्म हुन सक्ने प्रावधान छ। तर नर्सिङ अधिकृतहरुको हकमा भने कार्यकालभरी नै सहायक जिम्मेवारीमा सीमित हुँदै एघारौं तह (सह-सचिव) सम्म पुगेपछि त्यो भन्दा माथिको ढोका बन्द गरिएको छ। पूरै सेवा अवधिभर कुनै निकायको कार्यकारी अधिकार प्रयोग गर्ने अवसर नै नपाई रिटायर हुनुपर्ने बाध्यता छ। जुन घोर अन्यायपूर्ण छ। यो वास्तविकता सबैले बुझ्न जरुरी छ।
लेखक कान्ति बाल अस्पतालमा कार्यरत् छिन्।

प्रकाशित: २४ आश्विन २०६९ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App