२१ आश्विन २०८१ सोमबार
image/svg+xml
विचार

घर बसौँ हजुरबुबाहरू

बाइरोडको बाटोमा

यतिबेला सडकमा अपूर्व दृश्य देखिँदैछन्।  बन्दाबन्दी ८२ औँ दिनमा आइपुग्दा अहिलेको राजनीतिक नेतृत्वप्रति आश्वस्त हुन नसकेका युवा अनेकन बान्कीका प्रचारसहित सडकमा निस्केका छन्।  उनीहरू भन्दैछन्– हजुरबाहरू, अब तपाईँहरू घर बस्नोस्।  (हजुरआमाभन्दा हजुरबाहरूकै अहिलेसम्म राइँदाइँ चलेको हुनाले। अहिलेको राजनीतिक नेतृत्व ७० को दशकमा हिँड्दैछ।  केही त असीको दशक प्रवेश तयारीमा छन्।  उमेरसँगै जोस सकिन्छ।  केबल होस बाँकी रहन्छ।  केहीको त उमेरको जोस पनि सकिन्छ र होस पनि ठेगानमा हुँदैन।  

उमेरकै आधारमा भन्ने हो भने महाथिर मोहम्मद ९२ वर्षको उमेरमा फेरि मलेसियाको प्रधानमन्त्री बन्न पुगे।  घटनाक्रमले उनी प्रधानमन्त्री नरहे पनि त्यहाँको राजनीति अझै उनी वरिपरि घुमिरहेको छ।  

हाम्रा युवा त्यस्तो बेलामा सडकमा आएका छन् जतिबेला उनीहरूले आफ्नो प्रधानमन्त्रीका दम्भपूर्ण अभिव्यक्ति संसद्मा सुनेका छन्।  मैले भनेपछि भ्रष्टाचार भएको छैन भन्नेजस्तो अहंकार अरू के हुन सक्छ ?

हामीकहाँ शतायु कटिसकेका राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी आफ्नो क्षेत्रमा निरन्तर खटेकै छन्।  नागरिकका नियमित स्तम्भकार भैरव रिसाल आफैँ ९३ वर्षका भइसकेका छन्।  

यी त भए अपवाद व्यक्तिहरू।  सबैको सक्रियता यहीरूपमा हुँदैन।  हाम्रा राजनीतिक व्यक्तिहरूले अब आराम गर्ने र मुलुकको जिम्मेवारी आफ्ना नातिनातिनी पुस्तालाई हस्तान्तरण गर्ने बेला भइसकेको छ।  सामाजिक दूरी कायम गर्दै अहिले भएको शान्तिपूर्ण आन्दोलन वर्तमान सत्ताधारी पुरानो पुस्ताप्रतिको वितृष्णाको अभिव्यक्ति हो।  

सबैसँग सधैँ योगदानको उही अपेक्षा गर्न सकिन्न।  व्यक्ति आफूले पनि आफ्ना सीमा बुझ्नुपर्छ।  ग्रिक दार्शनिक सोक्रेटसले भनेजस्तो सबैलाई यो लाग्दैन– मलाई यो थाहा छ कि मलाई केही पनि थाहा छैन।  

हामी आज त्यो समयमा उभिएका छौँ जहाँ हामीलाई सबै कुरा थाहा भएको भ्रम छ।  हामी त्यस्ता राजनीतिक व्यक्तिबाट शासित हुन अभिशप्त छौँ जसलाई मुलुकको शासन कसरी गर्ने भन्नेबाहेक सबै कुरा थाहा छ।  आफूले केही गर्न नसक्दा पनि धेरै गरिरहेको भ्रमले ती आक्रान्त छन्।  

कोरोना विषाणुबाट जोगिन यतिबेला विश्व अभूतपूर्व संकटको घडीमा छ।  त्यसले हामीलाई झन् बढी क्लान्त बनाएको छ।  यसले हाम्रो आर्थिक, सामाजिक, राजनीतिकलगायतका क्षेत्रमा दूरगामी प्रभाव पारेको छ।  

हामी अब हिजो जस्तो अवस्थामा थियौँ, त्यही छैनौँ।  हिजोको हाम्रो जस्तो सामाजिक अनुवन्ध (सोसल कन्ट्रयाक्ट) थियो, त्यो अवस्था पनि छैन।  हामी यस्तो विन्दुमा उभिएका छौँ जहाँबाट हामी नयाँ सामाजिक अनुवन्ध गर्न तत्पर हुनुपर्छ भन्ने मान्यता क्रमशः अगाडि आइरहेको छ।  

हिजो यसो गरिएको थियो र उसो गरिएको थियो भनेर भन्ने बेला छैन।  हिजो धेरै ठूलो संघर्ष गरिएको थियो होला तर त्यसको साँवाब्याज सबै उपभोग भइसकेको छ।  हिजो हजुरबाले घिउ खाएका थिए, आज मेरा हात सुँघ् भन्ने अवस्था पनि छैन।  

यो विषम अवस्थामा सडकमा आएका उत्साहित युवाका कारण फेरि धुमिल भविष्यप्रति आशाका किरण अनुभव हुन थालेको छ।  अहिले हामी त झण्डै निराश भइसकेको अवस्था हो।  धेरैले रोजीरोटी गुमाएका छन्, कैयन्ले परिवारजन नै गुमाउनुपरेको छ, भोलि के हुन्छ भन्ने उज्यालो क्षितिज पनि देखिन छाडेको छ।  

हजुरबा पुस्ता सत्ताको कुर्सीमै बसेर मर्न चाहन्छ।  त्योभन्दा तल्लो पुस्ता बुबा पुस्ताकै चाकडी गरेर कुर्सीका निम्ति ललचाइरहन्छ।  यो स्थितिमा राजनीति भनेको फोहोरी खेल हो भन्दै अलग बसिरहेको युवा पुस्ताले राजकीय मामिलामा रुचि राख्नु सुखद पक्ष हो।  

माइतीघर मण्डलामा शनिबार भेला भएका हुन् वा बिहीबार बालुवाटारमा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर लखेटेका युवा तिनमा मैले त्यही सपना देखेँ जुन हामी पनि ३० र ४० को दशकमा देख्ने गथ्र्यौं।  अहिले हामीलाई शासन गरिरहेको पुस्ता पनि तात्कालीन समयको छटपटीका उपज हुन्।  तिनले जे गरे, त्यो तात्कालीन समयका निम्ति अनुपम थियो।  त्यसैको परिणामस्वरूप आजको परिवर्तित राजनीतिक अवस्था आएको हो।  

परिवर्तन सुधारिएको शासन व्यवस्थाका निम्ति हो।  हिजो जुन राजनीतिक व्यवस्थाका विरुद्ध आन्दोलन गरिएको थियो, आफू सत्तामा पुगेपछि त्यही प्रवृत्ति दोहो¥याउनु भनेको आन्दोलनप्रति धोका हो।  जनआन्दोलन २०६२/०६३ पछि राजनीतिमा देखिएको स्खलनको उपचार खोज्ने बेला भइसकेको छ।  

अहिलेको राजनीतिप्रति धेरैको चित्त बुझेको छैन।  मुलुक बन्दाबन्दीमा रहेका बेला जुन तहको अकर्मण्यता यहाँ देखिएको छ, त्यसको कुनै हिसाब छैन।  आमनागरिक सरकारको आदेश पालना गर्दै घर बसेका बेला कोरोना भाइरसविरुद्धको जाँचको दायरा बढाउनतिर ध्यान पुगेन।  यसैबीच विदेशमा रहेका आफ्ना नागरिक स्वदेश फर्कन्छन् भनेर तिनका निम्ति तयारी गरिएन।  सीमान्त नागरिकप्रति राज्यको चरम बेवास्ता देखिएको छ।  

यी सबै कुराले आमनागरिकको चित्त दुखेको छ।  यसबीच जुन ढंगका अनियमितता भएका छन्, त्यसले समग्र राजनीतिक प्रणालीप्रति अविश्वास भएको छ।  हाम्रा सम्पूर्ण संस्था भत्काइएको छ।  सन्तुलन र नियन्त्रणको व्यवस्था नहुँदा अनियमितता भए पनि त्यसमा रोक लगाउने प्रणाली विकास भएको छैन।  यस्तो दुःखद परिस्थिति आएपछि बेचैन युवाहरू सडकमा आउन बाध्य भएका हुन्।  

युवा त्यतिबेला सडकमा आउँछन् जतिबेला तिनलाई यहाँको पद्धतिले काम गर्छ भन्ने विश्वास हुन छाड्छ।    

अमेरिकामा हालै अश्वेत नागरिक जर्ज फ्लोएडको प्रहरीले हत्या गरेपछि उर्लिएको विरोधका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टेक्सस राज्यको ह्युस्टन सहरका प्रहरी प्रमुख आर्ट एसभेदोले ‘सट योर माउथ’ अर्थात् ‘मुख बन्द गर’ भनेका थिए।  यसको कारण थियो– ‘ह्वेन लुटिङ स्टार्टट्स द सुटिङ स्टार्टस्’ (लुटपाट सुरु भयो भने गोली चल्छ) भन्ने ट्रम्पको धम्कीको जवाफमा उनले यसो भनेका थिए।  उनले २० को दशकमा हिँडिरहेका युवाहरूलाई धम्की दिने भन्दा पनि तिनको मनमस्तिष्कमा विजय पाउने पक्ष महत्वपूर्ण भएको बताएका थिए।  

हाम्रा युवा त्यस्तो बेलामा सडकमा आएका छन् जतिबेला उनीहरूले आफ्नो प्रधानमन्त्रीका दम्भपूर्ण अभिव्यक्ति संसद्मा सुनेका छन्।  मैले भनेपछि भ्रष्टाचार भएको छैन भन्नेजस्तो अहंकार अरू के हुन सक्छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले मुलुकका अहिलेका समस्या समाधानमा आफूलाई कमजोर स्थितिमा पु¥याएको छ।  प्रश्नहरू उठ्न सक्छन्।  सरकारमा रहेका व्यक्तिबाट विनम्रतापूर्वक त्यसको जवाफ दिनुपर्छ।  जसलाई प्रश्नसँग रिस उठ्छ, उसले सार्वजनिक पदमा रहनु हुँदैन।  जसलाई काम गर्न आउँदैन, उसले त झन् सरकारमा बस्नै हुँदैन।  

कोरोना विषाणुविरुद्ध लड्न आवश्यक औषधि र मेडिकल सामग्री खरिदका क्रममा देखिएको अकर्मण्यताले जोसुकैलाई आक्रोशित तुल्याउँछ।  एक, समयमै यस्ता सामग्रीको व्यवस्था गरिएन।  दुई, जतिबेला गरियो, त्यो बेला आफूअनुकूलका व्यक्तिलाई दिने र अनियमितता गर्ने तारतम्य मिलाइयो।  

त्यो बेला मेडिकल सामग्रीको अभाव थियो तर जुन मूल्यमा यी सामग्री किनिएको छ, त्यसले अनियमितताको शंकालाई बल पुगेको छ।  त्यतिमात्र होइन, नेपाली सेनालाई चाहिनेभन्दा बढी नै यसमा संलग्न गराइएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यसमा सक्रिय गराउँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भविष्यमा अनुसन्धान गर्न सक्ने अवस्था रहन्थ्यो।  अख्तियार छल्नका निम्ति पनि सेनालाई अग्रसर गराइयो।  राज्यका सबै अंग काम नलाग्ने तर सेना एउटा जहाँ पनि काम गर्न सक्षम हुने हुँदैन।  

अख्तियार नामको जुन संस्था यतिबेला मुलुकमा छ, त्यसले यो बीच भएका अनियमिततामा छानबिन गर्नुपर्ने आवश्यकता महसुस गरेन।  यो संस्था आफ्नो गहिरो निद्रामा यतिबेला छ।  राज्यका सबै संवैधानिक अंग र निकायहरू सत्ता मियोवरिपरि घुमिरहेका छन्।  सरकारलाई मार्गदर्शन गर्न सकेका छैनन्।  

यही कारण सर्वसाधारणले जवाफ खोज्न सडकमा आउनुपर्ने अवस्था उत्पन्न भएको हो।  ह्युस्टन प्रहरी प्रमुखले जस्तै यहाँका निकायहरूले पनि काम गर्न सकेका भए सर्वसाधारण त्यसैमा आश्वस्त हुन्थे, यहीँको प्रणालीबाट हुने छानबिन पर्खन्थे।  अहिले त्यस्तो छैन।  कुनै पनि विषयमा प्रश्न उठ्नेबित्तिकै प्रधानमन्त्री ओली ढाकछोप गर्छन्।  उनी निकट मन्त्रीको करोडौँको काण्ड सार्वजनिक भयो तर त्यसमा अख्तियारलगायतका निकायले प्रवेश गर्नुपर्ने आवश्यकता महसुस गरेनन्।  

सडकमा कस्ता नारा लागेका छन् ? ‘मेलम्ची मागेको तर पानीको फोहोरा पाएँ,’ यो नारा सुनेर हाम्रा निकाय सुतिरहन सक्छन् ? आज कति वर्ष भयो यसका निम्ति सर्वसाधारणले तड्पिएर प्रतीक्षा गरेको ? लिम्पियाधुरा, कालापानी र लिपुलेकका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पहलका निम्ति धन्यवाद दिँदै हातमा गुलावको फूल बोकेर आन्दोलित युवाहरू सोधिरहेका छन्– १० अर्ब रुपियाँ कहाँ खर्च भयो सरकार ?  

युवा नागरिकको यो सचेततापूर्ण खबरदारी हाम्रो लोकतन्त्रको आधार हो।  आमनागरिकप्रति जवाफदेही नभएको सरकारको पतन अवश्यम्भावी छ।  सडकका यी नवीनतम पदचाप सुनौँ र तद्नुकूल आफूलाई परिवर्तन गरौँ।  अबका समस्या समाधानका निम्ति हजुरबुबा पुस्ताले आराम गरेर काम गर्न सक्ने युवालाई देश हाँक्न दिऔँ।  gunaraj@gmail.com

प्रकाशित: ३२ जेष्ठ २०७७ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App