६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

महामारीमा आयुर्वेद अफवाह

गत वर्ष डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले विश्व महामारीको रूप लिइसकेकोछ। वल्र्डओमिटर वेबसाइटका अनुसार अहिलेसम्म ३६ लाखभन्दा बढी मानिस यसबाट संक्रमित भइसकेका छन् भने साढे २ लाखभन्दा बढी जनाले ज्यान गुमाइसकेका छन्। अहिलेसम्म यो नयाँ भाइरसवि?द्ध खोप वा औषधि विकास भइसकेको छैन, जसले गर्दा यसका उपचारबारे मनोगत अफवाह भाइरसजत्तिकै भाइरल भएका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्तोनिओ गुटेरेसले गत अप्रिल १४ मा ट्विट गर्दै संसार, कोभिड–१९ सँगै हानिकारक झ’्टको महामारीसँग पनि लडिरहेको बताएका थिए। त्यस्ता गलत सूचनालाई उनले विषको संज्ञा दिएका थिए।

नेपाल र भारतमा आयुर्वेदका विधिलाई बढाईचढाई तथा अपुष्ट तरिकाले प्रस्तुत गरेको पाइन्छ।

कोभिड–१९ सम्बन्धी झुटो जानकारी प्रवाहबाट नेपाल पनि अछूतो रहन सकेको छैन। नेपालमा पनि सामाजिक सञ्जाल, अनलइन पोर्टल तथा पत्रपत्रिकामा यस्ता झुटा सामग्री छ्यापछ्याप्ती पाइन्छन्। विशेषगरी नेपालमा कोभिड–१९ सम्बन्धी तीन प्रकारका झुटा सामग्री भेटिन्छन् ः पहिलो– कोही गन्यमान्य मान्छेले भनेका र सञ्चारमाध्यममा आएका गलत सूचना तथा तथ्यविहीन लेख, दोस्रो– सूचना प्रविधि क्षेत्रमा पहुँच भएकाले निजी ब्लग वा वेबसाइटबाट आफ्ना व्यक्तिगत रायलाई तथ्यभन्दा माथि राखेर तयार पारिएका सामग्री र तेस्रो– सर्वसाधारणले भने÷सुनेका भरमा वा सञ्चारमाध्यममा आएका असान्दर्भिक वा अपूर्ण तथ्यलाई आधार बनाई आफ्नो सामाजिक सञ्जालमा अपलोड गरिएका सन्देश।

नेपाल र भारतमा प्रचार भएका यस्ता सामग्रीमा विशेषगरी आयुर्वेदका विधिलाई बढाईचढाई तथा अपुष्ट तरिकाले प्रस्तुत गरेको भेटिन्छ। जस्तै ः आयुर्वेदमा प्रयोग गरिने जडीबुटी तथा मसला अदुवा, लसुन, बेसार, करेलाको जुस र निमका पत्ता आदिबाट कोरोना निको पार्न सकिने वा प्रतिरोधात्मक क्षमता बढाउन सकिने दाबी फेसबुक तथा ट्विटरमा फैलिएका थिए। यसैगरी कागतीको रस तातो पानीमा मिसाएर सेवन गर्दा तथा रक्सीजन्य पदार्थ खाँदा कोरोना निको हुने हल्ला सामाजिक सञ्जालमा गरिन्छ। यस्ता स्वास्थ्य सल्लाह केवल झुटो भएको विश्व स्वाथ्य संगठनलगायत निकायले बताएका छन्। तर लकडाउनका कारण मानिसमा भएको फुर्सद र व्यग्रताले होला, त्यस्ता सन्देश भाइरल भइरहेका छन्।

नेपाल तथा भारतमा सरकार स्वयं आयुर्वेदसम्बन्धी गलत सूचना सम्प्रेषण गर्न लागिपरेको देखिन्छ। दुवै देशका सरकारले आयुर्वेद विधिलाई स्वास्थ्य निर्देशनका रूपमा जारी गरेका छन्। गत अप्रिल १ मा ट्विट गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आयुर्वेद, योग और प्राकृतिक चिकित्सा, युनानी, सिद्ध और होम्योपैथी (आयुष) मन्त्रालयले अघि सारेका इम्युनिटी बढाउने विधि पालना गर्न आग्रह गरेका थिए। उनले ट्विटमा सेयर गरेको ग्राफिक हजारौंपटक रिट्विट भएको थियो, जसमा योग र ध्यान गर्न, अदुवा, बेसार आदि खानामा प्रयोग गर्न, च्यवनप्रास र हर्बल चिया सेवन गर्न सुझाइएको थियो। अझ आयुषमन्त्री, श्रीपद नाइक त एक कदमअगाडि गएर उनको मन्त्रालयसँग कोरोना भाइरसको उपचार भएको दाबी गरेका थिए।

यहाँसम्म कि उनले बेलायतका राजकुमार चाल्र्सलाई आयुर्वेद माध्यमबाट सञ्चो पारिएको झुटो दाबीसमेत गरेका थिए। नेपालमा पनि स्वास्थ्य मन्त्रालयले भारतको आयुष मन्त्रालयको अनुसरण गर्दै स्वाथ्य निर्देशिका जारी गरेको छ। यसरी दुवै देशका सरकारले आधिकारक रूपमै कोभिड–१९ विरुद्ध इम्युनिटी बढाउन भन्दै आयुर्वेदिक औषधि तथा विधि दिशानिर्देश गर्दा ती विधिले कसरी इम्युनिटी बढाउँछन् भनेर प्रमाण दिन सकेका छैनन्। यहाँसम्म कि नेपाल सरकारले जारी गरेको निर्देशिकामा कुनै विधि अहिलेसम्म कोभिड–१९का बिरामीमा परीक्षण गरिएको र सकारात्मक नतिजा आएको उल्लेख छैन।

आशा गरौं– ती सुझाइएका औषधिजन्य जडीबुटीमा हामीलाई कोरोनाविरुद्ध लड्न सहयोग गर्ने तŒव होलान्, तर प्रशोधन नगरी बनाइएका त्यस्ता पदार्थमा हानिकारक तŒव हुने सम्भावना पनि त्यत्तिकै रहन्छ। साथै राम्रोसँग परिक्षण नगर्दा शरीरलाई चाहिने मात्रा नमिल्न पनि सक्छ। यस्ता अपुष्ट सन्देश जारी गर्दा महामारीबाट बच्ने लहैलहैमा मानिसले त्यस्ता जडीबुटी आवश्यकभन्दा धेरै मात्रामा सेवन गरेको समाचार पनि आएका छन्। यसरी जथाभावी रूपमा औषधिजन्य पदार्थ सेवन गर्दा  उल्टै स्वास्थ्यका लागि प्रत्युत्पादक हुन सक्छ। यसकारण सरकारले यस्ता अप्रमाणित उपचार विधिलाई स्वास्थ्य सल्लाहका रूपमा पेस गर्न मिल्दैन।

सरकार मात्रै नभएर केही विज्ञसमेत प्रारम्भिक अनुसन्धानको हवाला दिँदै आयुर्वेदका विधिको बचाउमा लागिपरेका छन्। राष्ट्रिय पत्रिकामा विचार सम्प्रेषण गरिरहने, टिभीमा अन्तरवार्ता दिइरहने तथा आफूलाई खाद्य तथा औषधि विज्ञ भन्ने व्यक्तिले केही पहिले यस्तै खालको प्रारम्भिक अनुसन्धानलाई हवाला दिँदै लसुन, कोरोनाविरुद्ध प्रभावकारी हुने दाबी आफ्नो फेसबुकमा प्रस्तुत गरेका थिए। आयुर्वेद तथा परम्परागत औषधिको वकालत गर्ने उनले प्रस्तुत गरेको प्रमाण एक इन–सिली’ को (कम्प्युटर मोडलिङ वा सिमुलेसनका माध्यमबाट गरिएको) अनुसन्धान थियो। यो अध्ययन गर्ने वैज्ञानिक स्वयंले नै बडो सुझबुझसहित आफ्नो अनुसन्धानले लसुनमा पाइने तŒवले कोरोना भाइरसविरुद्ध लड्न सहयोग गर्ने ‘सम्भावना’ रहेको उल्लेख गर्दा हाम्रा ‘विज्ञ’ त्यसलाई ‘वैज्ञानिक प्रमाण’कै रूपमा पेस गर्दै थिए। यस्ता प्रारम्भिक अनुसन्धानलाई पूर्णता नदिईकन कोरोना निर्मूल गर्छ भनी दाबी गर्नु जगहसाँइ मात्र हो।

यसरी ‘छद्म–विज्ञान’ प्रयोग गरी आयुर्वेदको बढाईचढाई गर्न र गलत सूचना प्रवाह गर्न नेपाली विज्ञ नै लागिपरेका छन्। यो आफ्नो अकर्मण्यता लुकाई इतिहासका अमुक कुरामा गौरवान्वित हुने प्रवृत्ति हो। नेपालका सन्दर्भमा यस प्रवृत्तिका दुई गुण भेटिन्छन् ः एक– आयुर्वेदले कसरी उपचार गर्छ भनेर थाहा नहुँदा वा केही प्रारम्भिक नतिजा मात्र हँुदा हामी पूरै थाहा भएजसरी परम्परागत विधि उत्तम भन्दै बताइरहेका छौं, यस सम्बन्धमा कुनै अनुसन्धान भने भेटिँदैन। दोस्रो– आधुनिक विज्ञानले आयुर्वेदमा प्रयोग भएका जडीबुटीमा एन्टिभाइरल क्रियाकलाप फेला पारेमा ‘हामीलाई पहिले नै थाहा थियो, आधुनिक विज्ञानभन्दा हामी धेरै अगाडि’ भनेर फुर्ती गर्छौं। यसरी वैज्ञानिक अहोरात्र औषधि र खोप विकास गर्न प्रयास गरिरहँदा हामी भने केही प्रारम्भिक र अपूर्ण अनुसन्धानको हवाला दिँदै हाम्रो आयुर्वेद  र परम्परागत औषधिले धेरै पहिला प्रचलनमा देखाएको कुरा अहिले बल्ल आएर विज्ञानले प्रमाणित ग¥यो भनेर मुतमाथिको न्यानो लिन खोजिरहेका छौं। आयुर्वेद कतिपय रोगको अब्बल निदान होला, तर भर्खर पहिलोपटक देखापरेको कोभिड–१९ रोगमा यो असम्भवप्रायः छ।

नगरेको काम गरेको भन्ने र सानो कामको  बढाईचढाई गर्ने प्रवृत्ति सर्वसाधारणमा मात्र नभएर राष्ट्र नेतामा पनि देखिन्छ।  पश्चिमा उपनिवेश तथा हाम्रो आफ्नै अकर्मण्यताका कारण पछि परेको पूर्वीय दर्शनमा एक किसिमको हीनताबोध व्याप्त छ। यसबाट माथि उठ्न वा आफ्नो अहंकारलाई मलजल गर्न हामी अक्सर इतिहासका पाना पल्टाएर गौरवान्वित हुन्छौं। भएन भनेर कहिलेकाहीं त इतिहासमा नभेटिएको अवस्थामा हामी धार्मिक ग्रन्थमा पनि पुग्छौं र आफ्नो हीनताबोध बिर्सन्छौं। भारतमा हिन्दुवादी मोदी सरकार सत्तामा आएपछि प्राचीन विज्ञानका मिथकले पश्रय पाएका छन्। सन् २०१४ मा रिलायन्स हस्पिटलको उद्घाटन गर्दै मोदीले सार्वजनिक रूपमै कर्णको जन्म हुँदा इनभिट्रो फरटिलाइजÞेसन प्रयोग गरिएको तथा गणेश भगवान्को शीर छेदनपछि हात्तीको टाउको जोड्न प्लास्टिक–सर्जरी प्रयोग भएको दाबी गरेका थिए।

सन् २०१५ को इन्डियन सैन्टिफिक कंग्रेसमा हवाईजहाज वैदिक युगमा प्राचीन भारतमा आविष्कार भएको भनी कार्यपत्र पेस हुँदा हंगामा भएको थियो। सन् २००९ का नोबेल पुरस्कार विजेता रामक्रिस्ननले एनडिटिभीमा प्रस्तुत हँुदै यस्ता प्राचीन विज्ञानसम्बन्धी फैलिएका मिथकको पर्दाफास गरेका थिए। भारतको प्रत्यक्ष प्रभाव पर्ने हाम्रो देशमा समेत यससम्बन्धी  विचार–विमर्श भएको पाइन्छ। यस्ता छद्म–विज्ञानलाई मलजल गर्ने प्रवृत्ति नै महामारीको फाइदा उठाउँदै आयुर्वेद तथा परम्परागत औषधिको नचाहिने बढोत्तरी गर्न लागिपरेको छ।

आयुर्वेद हजारौं वर्षदेखि परस्कृत भइरहेको थियो। हामी समयको गतिसँगै दौडन नसक्दा पूर्वजले जसरी दिए अहिले पनि त्यही अवस्थामा छ। तीन–चार शताब्दी इतिहास रहेको हाम्रो सिंहदरबार वैद्यखानाका कुनै औषधि विश्वव्यापी भएको जानकारी छैन। उपनिवेशको उपज होला, हामी कुनै समय पश्चिमाले जे दिए, जे बनाए त्यसलाई राम्रो ठान्न थाल्यौं र आफ्नो पोल्टामा भएको हिरालाई भुसुक्कै बिस्र्यौं। हामी कमजोर जाति भएको सजिलै स्वीकार ग¥र्यौं। बिस्तारै देश तंग्रन खोज्दा हामीलाई लाज लाग्न थालेको छ, जसका कारण हामीले सजिलै पचाएको हीनताबोध ढाक्ने कोसिस गरिरहेका छौं। यसका लागि हामी हाम्रो इतिहास खोतल्दै छौं। कहिले बुद्ध हाम्रो भन्छौं त कहिले वीर गोर्खालीको देश भन्छौं। यो महामारीको समयमा हामीलाई आयुर्वेद त्यही हीनताबोध लुकाउने क्षणिक ढाल बनेको छ। तर हामीले केही अनुसन्धान पनि नगरी हचुवाका भरमा आयुर्वेद विधिले कोरोना भाइरसविरुद्ध रोगसँग लड्ने शक्ति बढाउँछ वा उपचार गर्छ भनेर दाबी गर्नु आयुर्वेदको अवमूल्यन गर्नु हो। 

हामी आयुर्वेदलाई साँच्चै अगाडि लान चाहन्छौं र पूर्वीय घेराबाट बाहिर ल्याउन चाहन्छौं भने यसलाई आधुनिक विज्ञानसँग जोड्न आवश्यक छ। अवश्य नै हजारौं वर्ष लगाएर बनाइएका औषधिमा स्वास्थ्यलाई फाइदा गर्ने र जीवाणु÷विषाणुविरुद्ध लड्ने क्षमता होलान्। तर आजको आवश्यकता के हो भने ती औषधिमा के तŒव छन् र कसरी हाम्रो शरीरलाई रोगबाट बच्न र लड्न सहयोग गर्छन् थाहा पाउनुपर्छ र संसारले बुझ्ने भाषामा बुझाउनु सक्नुपर्छ।

हालसालै प्रकाशनमा आएका तर सहकर्मी समीक्षा नभएका केही ‘इन–सिली’ शोधले बेसार र लसुनमा भएका तŒवले कोरोना भाइरसको बाहिरी प्रोटिनसँग बाँधिएर प्रोटिनको काममा बाधा पु¥याउने देखाएका छन्। अबको हाम्रो कार्यदिशा त्यस्ता तŒवलाई उजागर गर्ने र तिनका एन्टिभाइरल विशेषता पत्ता लगाउनेतपÞर्m हुनुपर्छ। सर्वप्रथम त्यस्ता तŒव साँच्चै भाइरसको बाहिरको प्रोटिन खोलसँग बाँधिन्छ कि बाँधिदैन नै पत्ता लगाउने साथै बाँधिएका खण्डमा भाइरसले संक्रमण भएका श्वासप्रश्वास प्रणालीका कोषिकालाई बचाउन सक्ने तागतबारे अन्वेषण गर्नुपर्छ। यसमा पनि सफल भए मुसाजस्ता जनावरमा परीक्षण गर्न सकिन्छ। कोषिकामा राम्रो नतिजा देखायो, तर जनावरमा राम्रो नदेखाएमा रसायन विज्ञानको सहायतामा ती तŒवलाई परिवर्तन गरी अझ राम्रो र प्रभावशाली बनाउन सकिन्छ। जति चाँडो यो विधि हामी अवलम्बन गर्छौं त्यति चाँडो आयुर्वेदमा उल्लेख औषधिजन्य पदार्थ विश्वव्यापी हुनेछन्। यसको आवश्यकता महसुस गरी सन् २०१६ मा सिंहदरबार वैद्यखाना विकास समितिले आफ्ना औषधि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उत्पादन गर्ने निर्णय गरेको थियो, विडम्बना अहिलेसम्म केही ठोस काम भएको देखिँदैन।

नेपाल जैविक विविधताले भरिपूर्ण देश हो। समथर तराई (७० मिटर) देखि विश्वको सर्वाेच्च शिखरसम्म भएको हाम्रो देशमा विभिन्न खालका वनस्पति तथा जीवजन्तु छन्। धेरै औषधि प्राकृतिक उत्पादनबाट प्राप्त गरिएका उदाहरण हामीसँग छन्। जस्तै ः क्यान्सरविरुद्ध प्रयोग गरिने प्रख्यात् औषधि ‘ट्याक्सोल प्यासिफिक यु’ भन्ने रुखको बोक्राबाट प्राप्त गरिन्छ। यो सन्दर्भमा पक्कै पनि नेपाली जडीबुटीमा औषधीय विशेषता होलान्। त्यस्ता विशेषता पहिचान गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार औषधि बनाउन सके देशले काँचुली फेर्न सक्नेछ। अहिले नोभार्टिसजस्ता ठूला बहुराष्ट्रिय कम्पनीसमेत परम्परागत औषधि र प्राकृतिक उत्पादनमा आधारित औषधि विकासमा लागिपरेका छन्। यस्तो अवस्थामा हामी आयुर्वेदको डम्फु बजाउनतिर होइन कि यसको विकासमा लाग्नुपर्छ। यसका लागि हामीलाई बहुराष्ट्रिय कम्पनीले मात्र होइन, कोभिड–१९ जस्ता महामारीले समेत लखेटिरहेका छन्। यस्तो नहोस् कि हामी आयुर्वेदको डम्फु बजाई आफ्नो हीनतबोध र अर्कमण्यता भुलिरहँदा बहुराष्ट्रिय कम्पनी हाम्रै जडीबुटीबाट औषधि बनाई हामीलाई नै बेचुन्। जुन प्रायः नेपालीको पहुँचबाहिर हुनेछन्।  महामारीको समयमा विकसित मुलुक नै एकअर्काबाट औषधि खोस्ने परिस्थिति  आएको अवस्थामा हामी आफ्नो खुट्टामा आफैं उभिन अत्यन्त आवश्यक छ। अन्यथा हाम्रै कान्लाबाट तयार  भएका औषधि महामारीको समय हाम्रा हात पर्ने छैनन्।

आफ्ना बहुमूल्य जडीबुटीको मूल्य बुझ्न नसकेका हामीलाई यो विपद्ले फेरि एकपटक झकझक्याएको छ। अब सबै सरोकारवलाले हातेमालो गनुपर्छ। साथै आयुर्वेदलाई समय सान्दर्भिक गर्ने अजेन्डालाई सरकारको नीति तथा कार्यक्रममा समावेश गनुपर्छ। विश्वविद्यालयलाई अनुसन्धानको बजेट वृद्धि गर्नुपर्छ। हाम्रा विश्वविद्यालयले यस क्षेत्रमा हात हाल्न थालिसकेका छन्। प्राकृतिक पैदावरबाट औषधिजन्य पदार्थ विकास गर्न धेरै अन्वेषण टोली नेपालमा लागेका छन्। तिनको क्षमता वृद्धि गरी तिनले विकास गरेका प्रविधि र उपचार पद्धतिलाई प्रमाणीकरण गर्ने तथा उद्योगसँग जोडी विश्व मापदण्डअनुसार औषधि विकास गर्नुपर्छ। सिंहदरबार वैद्यखाना विकास समितिले अगाडि सारेको आधुनिकीकरणको मार्गचित्रलाई तुरुन्त कार्यान्वयनमा लानुपर्छ। अहिलेको परिप्रेक्ष्यमा नेपाली विश्वविद्यालय तथा संघ÷संस्था विदेशीसँग प्रतिस्पर्धा गर्ने स्थितिमा छैनन्। हामी र पश्चिमाबीच रहेका ज्ञान, अनुभव र साधन÷स्रोतको खाडललाई विश्वभरि फैलिएका नेपाली वैज्ञानिकले पूर्ति गर्न सक्छन्। यस्ता वैज्ञानिकको क्षमता र सञ्जाल प्रयोग गरी यो समयको दौडमा अगाडि बढे हामी अन्य बहुराष्ट्रिय कम्पनीले हाम्रा कान्लाका औषधि प्रमाणित गर्नुअगाडि हामी आफंै औषधि बनाउन सक्षम हुनेछौं। यस्ता अन्वेषणले एउटा मात्र जीवन बचाउन सक्ने औषधि संसारभर बेच्न सके भावी अन्वेषणका लागि बजेट खोज्न अन्त जानुपर्ने छैन।

अतः आयुर्वेदिक ज्ञान र आधुनिक विज्ञान जोडेर देश विकासमा लाग्नु समय सान्दर्भिक हुनेछ। हाम्रा पुर्खाले आयुर्वेद ज्ञान संकलन गर्न ठूलो मेहनत गरेका छन्। लामो समयसम्म प्रयोग गरिएको तथ्यले यी औषधि हानिकारक नभएको इंगित गर्छ। अब यसको विकास गरी समयानुकूल बनाउनु हाम्रो दायिŒव हो। गोर्खाली सेनाले आफ्नो बहादुरी देखाए, बुद्धले संसारमा ज्ञानको ज्योति फैलाए। अब हामीले इतिहासको गाथा गाएर मात्र पुग्नेवाला छैन। अब गर्ने पालो हाम्रो हो। पुर्खाले हस्तान्तरण गरेको ज्ञान ग्रहण गरी अन्तर्राष्ट्रिय मापदण्ड पु¥याई संसारभर फैलाउनु आजको आवश्यकता हो। जेमा हाम्रो योगदान छ, त्यसको श्रेय लिऔं। आयुर्वेदलाई हामीले अहिलेकै स्थितिमा छाड्यौं भने यो भावी रोगको निदान त अवश्य हुने छैन, हुने छ त केवल हाम्रो पूर्वीय हीनताबोधको !

(स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी ज्युरिख, स्विजरल्यान्डमा कार्यरत क्यान्सर वैज्ञानिक)

 

प्रकाशित: २७ वैशाख २०७७ १४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App